मूर्ति चोर पत्ता लगाउन विशेष कुकुर परिचालन

जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति आज विहान भेटिएपछि मूर्ति चोरलाई तत्काल पक्राउ गर्न विशेष कुकुरसहित केन्द्रीय अनुसन्धान ब्यूरोका दुई सदस्यीय टोली जुम्ला पुगेको छ ।

अनुसन्धानबाट सकेसम्म दोषी चाँडो पत्ता लागोस् भन्ने उद्देश्यले विशेष कुकुर सहितको केन्द्रीय ब्यूरो टोलीलाई जुम्ला बोलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। उनका अनुसार विशेषज्ञ कुकुरसहितको टोली मूर्ति फेला परेको स्थान देपालगाउँ पुगेका छन् ।

प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा मूर्ति भेटाएको थियो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए।