परदेशीका पीडा

दसैं पर्व सुरु भइसकेको छ । घटस्थापनासँगै सुरु भएको दसैँले गाउँदेखि सहरसम्म नयाँ रौनक ल्याएको छ । बजार र बसपार्कमा मानिसहरूको चहलपहल साविकभन्दा बढेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेकका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दसैँ तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई÷चार महिनाका लागि विदेशीएकाहरू यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएकाहरू अहिले दसैँ मान्न आइरहेका हुन् ।

परदेशीहरू फर्किन थालेपछि गाउँघरमा समेत चहलपहल बढेको छ । चाडपर्व मान्ने र पाकेको खेती भित्र्याउने योजनाका साथ उनीहरू आएका छन् । यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । यातायात व्यवसायीहरूका अनुसार यात्रुको चाप बढेकोले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिन अगावै टिकट काट्ने गरिएको छ । चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि व्यवसायीहरूले थप गाडीहरू सञ्चालनमा ल्याइएका छन् ।

दसैँको रौनक त एकातिर छ, साथसाथै यसले अर्को बिडम्वनालाई पनि उजागर गर्दछ । रोजगारीका लागि परदेशीनेहरूको पीडालाई दसैं रौनकले छोपेपनि यसलाई बिर्सनु हुँदैन । रोजगारीकै लागि परदेशीनुपर्ने बाध्यता आम नेपालीको साझा समस्या हो । छिमेकी भारतका विभिन्न ठाउँदेखि तेस्रो मूलुकसम्म नेपालीहरू पुगेका छन् । टाढा भएकाहरू दसैँको मौका छोपेर पनि घर फर्किन सकेका छैनन् भने भारतमा काम गरिरहेकाहरू अहिले धमाधम गाउँ फर्किँदैछन् । यसरी फर्किनेहरू केही दिनमै फेरि भारत नै जानेछन् मजदुरीका लागि ।

कर्णाली प्रदेशमा बेरोजगारी व्याप्त छ । रोजगारीका पर्याप्त अवसर छैनन् । जसले गर्दा यहाँका थुप्रै नागरिक कामको खोजीमा भारत पुग्छन् । चाडपर्वको समय पारेर गाउँ फर्किन्छन् र पुनः उतै गइहाल्छन् । आफ्नै गाउँघरमा रोजगारी गर्ने र परिवारका साथ बस्ने रहर मारेर परदेशीनेहरूको पीडालाई राज्यले सम्बोधन गर्न सकेको छैन । मुलुक संघीय संरचनामा गएर पनि तीन तहका सरकार कार्यान्वयनमा आए । तर नागरिकका आम पीडाजस्तै परदेशीनेहरूको पीडा कसैले सुनेको छैन । सुनेर पनि बेवास्ता गरिएको छ । दसैँमा गाउँ फर्किएकाहरूलाई अब परदेश जानु नपर्ने अवस्थाको सिर्जना गर्न राज्य लाग्नुपर्ने देखिन्छ । यसका लागि स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गुर्नपर्ने हुन्छ ।

प्रकाशित मितिः   १३ आश्विन २०७९, बिहीबार ०५:०३