चुनावी अंकगणित: जुम्ला

विगतकै निरन्तरता कि क्रमभंगता ?

सुर्खेत: २०४८ सालयता ६ पटक निर्वाचन भइसकेको छ । यो तीन दशकमा भएका हरेक निर्वाचनमा जुम्लाले भने नयाँ उम्मेदवार रोज्दै आएको छ । २०४८ को संसदीय निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भएका थिए । त्यसपछि २०५१ मा मध्यावधि निर्वाचन हुँदा नेपाली कांग्रेसका भक्तबहादुर रोकाय विजयी भए ।

त्यसको पाँच वर्षपछि पुनः जुम्लाले नयाँ प्रतिनिधि चुन्यो । २०५६ मा भएको निर्वाचनमा नेकपा (एमाले) का देवीलाल थापाले बाजी मारे । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पनि विजयी हुने व्यक्ति र पार्टी फेरिए । यसपटक चुनाव जित्नेमा नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी थिए ।

पहिलो संविधान सभाले नयाँ संविधान बनाउन नसकेपछि २०७० मा दोस्रो पटक भएको संविधान सभाको निर्वाचनमा पुनः नयाँ जनप्रतिनिधि छान्दै जुम्लाले नेपाली कांग्रेसका ललितजंग शाहीलाई जितायो । संविधान जारी भइसकेपछि २०७४ मा निर्वाचन हुँदा माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लवासीको मत जिते र प्रतिनिधि सभा सदस्य चुनिए । यसरी हरेक निर्वाचनमा जुम्लाले नयाँ–नयाँ उम्मेदवार रोज्ने गरेको छ । आगामी मंसिरमा पुनः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । यसपटक जुम्लाले कसलाई जिताउँछ भन्ने चासो सर्वत्र छ ।

२०७४ मा निर्वाचित हुँदा गजेन्द्रबहादुर महतले २२ हजार एक सय ७३ मत पाएका थिए । नेकपा (एमाले) सहितको गठबन्धनबाट उम्मेदवार बनेका महतले चुनाव जित्दा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार एक सय ४९ मत पाए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार सात सय १८ मत पाएका थिए ।

२०७४ मै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जिल्लाको पहिलो दल बनेको थियो । उसले जुम्लाका आठ वटा पालिकामध्ये चार वटा पालिकाको प्रमुख जितेको थियो । तर सोही वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी र एमालेले तालमेल गर्दा कांग्रेस दोस्रो स्थानमा खुम्चिन पुग्यो, एमालेको साथ पाएका महतले बाजी मारे ।

तीन दशकयता प्रत्येक चुनावमा नयाँ व्यक्ति जिताउँदै आएको जुम्लाले यसपटक पनि विगतकै नतिजा दोहो¥याउला या त्यसमा क्रमभङ्ग होला ? जुम्लामा अहिले यसको वरिपरी चुनावी चर्चा हुने गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने जिल्लामा सत्तारुढ गठबन्धन बलियो अवस्थामा छ । पालिका प्रमुखहरूले पाएको मतअनुसार गठबन्धनको मत करिब ३६ हजार छ भने एमालेको मत करिब नौ हजार रहेको छ । एमालेसँग निकै ठूलो मतअन्तर रहेकाले पनि जुम्लाबाट प्रतिनिधि सभातर्फ गठबन्धनको पल्लाभारी देखिन्छ । तर आगामी निर्वाचनका लागि गठबन्धनभित्रका दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डामा भने माथापच्चि पर्नेछ । अघिल्लो पटक माओवादी केन्द्रले जितेका कारण यसपटक पनि एउटा मात्रै निर्वाचन क्षेत्र भएको जुम्लामा माओवादीको स्वभाविक दाबी रहेको छ । तर कांग्रेसले पनि प्रतिनिधि सभामा आफ्नो बलियो दाबी प्रस्तुत गरेको छ ।

कांग्रेसको दाबीलाई गत वैशाखको स्थानीय निर्वाचनको परिणामले पनि थप बल पु¥याएको छ । उक्त चुनावमा जिल्लाका आठमध्ये पाँच पालिका कांग्रेसले जितेको छ । माओवादीले दुई वटा पालिका जितेको छ भने एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसकारण पनि कांग्रेस कुनै हालतमा प्रतिनिधि सभा सदस्यको टिकट माओवादीलाई बुझाउने पक्षमा छैन ।

पछिल्लो तीन दशकमा भएका प्रत्येक चुनावमा नयाँ उम्मेदवार रोज्ने जुम्लाले आगामी मंसिरको निर्वाचनबाट कस्तो नतिजा दिनेछ, त्यो भने रोचक प्रतिक्षा हुनेछ ।

प्रतिनिधि सभा सदस्यका लागि माओवादीले नरेश भण्डारी, कलबहादुर रोकाया, गोमा गौतम र मनऋषि धिताललाई सिफारिस गरेको छ । चारजनामध्ये भण्डारी नै मुख्य दाबेदार हुन् । अघिल्लो पटक प्रदेश सभामा चुनाव लडेका उनी कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा योजनामन्त्री समेत हुन् ।

नेपाली कांग्रेसले देवेन्द्रबहादुर शाही, कान्तिका सेजुवाल र कर्णबहादुर शाहीको नाम सिफारिस गरेको छ, जसमध्ये सेजुवाल भने समानुपातिकको बन्दसूचिमा परेकी छिन् । एमालेले रतननाथ योगीलाई प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले तीर्थ बुढा र आदीप्रसाद न्यौपानेलाई सिफारिस गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही पनि जुम्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । अन्य दल उम्मेदवार सिफारिसमै व्यस्त भइरहँदा भोट माग्दै गाउँ छिरिसकेका शाहीले पनि यसपटक प्रमुख दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने देखिन्छ । उनलाई पार्टीले एकल सिफारिस गरिसकेको छ । यसकारण जिल्लामा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने चर्चा समेत छ ।

प्रदेशमा के होला ?

पाँच वर्षअघि प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटमा माओवादी केन्द्र र अर्कोमा एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. १(क) बाट माओवादीका नरेश भण्डारी निर्वाचित भएका हुन् । उनले १२ हजार पाँच सय ७४ मत पाएका थिए । कांग्रेसका राजुसिंह कठायतले आठ हजार पाँच सय ३७ मत पाए ।

क्षेत्र नं. १(ख) बाट एमालेका पदमबहादुर रोकाया निर्वाचित भएका हुन् । उनले १० हजार चार सय ५८ मत पाउँदा कांग्रेसका भिमनिधी हमालले पाँच हजार दुई सय ८० मत पाएका थिए । एमालेबाट निर्वाचित रोकाया अहिले भने एमालेसँग छैनन्, उनी एकीकृत समाजवादीमा छन् ।

अघिल्लो निर्वाचनमा जस्तो एमाले–माओवादी समिकरण यसपटक छैन । बरु माओवादी, कांग्रेससहितको पाँच दलीय गठबन्धन एकातिर छ । यसकारण प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रमा एमाले यसपटक कमजोर अवस्थामा छ । स्थानीय चुनावकै आधारमा क्षेत्र नं. १(क) मा गठबन्धनको मत १८ हजार ६ सय ८४ छ भने एमालेको चार हजार तीन सय ९५ छ । यो नेपाली कांग्रेस बलियो रहेको क्षेत्र हो । उक्त निर्वाचन क्षेत्रभित्र रहेका चार पालिकामध्ये तीन वटामा कांग्रेसले जितेको छ । एउटा पालिका स्वतन्त्र उम्मेदवारका जितेका छन् ।

सत्तारुढ गठबन्धनको भागबन्डामा पनि यो क्षेत्र कांग्रेसकै भागमा पर्ने देखिन्छ । प्रदेश सभा सदस्यका लागि कांग्रेसले पार्टीका प्रदेश सभापति ललितजंग शाहीसहित अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनबन्धु श्रेष्ठ र लक्षिमन बोहराको नाम सिफारिस गरेको छ ।

माओवादीले नवराज न्यौपाने र वीरबहादुर कुवँरसहित चार जनाको नाम सिफारिस गरेको छ भने एमालेले धिरेन्द्रराज गिरी र गगनबहादुर बुढ्थापालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । एकीकृत समाजवादीले भने देवीलाल थापालाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नं. १(ख)मा कांग्रेसले दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस गरेको छ भने माओवादीबाट देविचन्द्र उपाध्याय, चन्द्रविर तिरुवासहित सात जना सिफारिसमा परेका छन् । एमालेले टेकराज पछाईको एकल नाम सिफारिस गरेको हो । एकीकृत समाजवादीले पदमबहादुर रोकायालाई सिफारिस गरेको छ । उनी अघिल्लो पटक यही क्षेत्रबाट विजयी भएका थिए ।

गत स्थानीय निर्वाचनमा पालिका प्रमुखहरूले पाएको मतका आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धनको १८ हजार ५४ मत छ भने एमालेको चार हजार दुई सय ९८ मत छ । चार पालिकामध्ये दुई वटामा कांग्रेस र दुई वटामा माओवादीले जितेका छन् ।

फेरिएको राजनीतिक समीकरण र स्थानीय चुनावको नतिजाले जिल्लाको राजनीतिक शक्ति सन्तुलन पनि बदलिएको छ । प्रत्येक चुनावमा नयाँ उम्मेदवार रोज्ने जुम्लाले आगामी मंसिरको निर्वाचनबाट कस्तो नतिजा दिनेछ, त्यो भने रोचक प्रतिक्षा हुनेछ ।

 

भिडियोसहित 

प्रकाशित मितिः   १३ आश्विन २०७९, बिहीबार ०५:०४