परदेशीलाई लाग्यो दसैँ

सुर्खेत: केही दिनयता बसपार्कहरूमा घर फर्किनेको निकै चहलपहल बढेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेकका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दसैँ तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई÷चार महिनाका लागि विदेशीएकाहरू यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएकाहरू अहिले दसैँ मान्न आइरहेका हुन् ।

परदेशीहरू फर्किन थालेपछि गाउँघरमा समेत चहलपहल बढेको छ । चाडपर्व मान्ने र पाकेको खेती भिœयाउने योजनाका साथ उनीहरू आएका छन् । मंगलवार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले आफू दसैँ मान्नका लागि भारतबाट फर्किएको बताए । उनलाई जुम्ला जाने हतारो थियो । कमाईका लागि खगेन्द्रको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उनी मात्रै गाउँ फर्किएका छन् । बालबच्चासहित आउँदा बाटोमा अप्ठेरो हुने भएकाले दसैँ मान्न एक्लै घर आएको उनले बताए । ‘वर्ष दिनमा एक पटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ,’ उनले भने, ‘सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।’ कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउँछन् । उनले दसैँलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाए ।

जुम्लाकै कमल बुढा पनि दसैँका लागि घर जाँदै थिए । उनी चाड मान्न भारतबाटै फर्किएका हुन् । वीरेन्द्रनगर बसपार्कमा भेटिएका उनले दसैँ मनाएर भारत फर्किहाल्ने बताए । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्दै आएका जुम्लाकै निराजन बुढा पनि यस पटक एक्लै फर्किएका छन् । उनले गाउँकै चार जना साथीहरूसँग दसैँ मनाउन भारतबाट आएको बताए । ‘दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।’ दैलेखको बाँसीका दिपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत गएका थिए । उनी पनि अहिले फर्किएका छन् । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उनी भारत गएका हुन् । यसपालि खासै कमाइ नभए पनि चाडपर्व मान्न घर आएको खत्रीले बताए । त्यस्तै, रोजगारीको सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किएका छन् ।
यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मंगलवार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गरे । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका डम्मर भण्डारी पनि टिकट नपाएर निराश देखिन्थे । यातायात व्यवसायीहरूका अनुसार यात्रुको चाप बढेकोले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिन अगावै टिकट काट्ने गरिएको छ । सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडीहरू सञ्चालनमा ल्याइएको जनाए । उनले भने, ‘यो समयमा मानिसहरू धेरै हुने भएकाले सीट मिलाउन समस्या नै छ । जसले गर्दा यात्रुलाई एकदिन अगाडि नै टिकट लिन भनेका छौँ ।’

प्रकाशित मितिः   १२ आश्विन २०७९, बुधबार ०५:०१