चाडबाडमै खस्कियो व्यापार
सुर्खेत: यो वर्षको दसैँ सुरु भइसक्दा पनि बजारमा किनमेल गर्नेको चहलपल कमै छ । बजारको कारोबार सामान्य अवस्थाकै जस्तो छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर बजारमा अपेक्षित कारोबार नभएको व्यवसायीहरू बताउँछन् । दसैँको बेला सोचेजस्तो व्यापार नभएपछि व्यवसायीहरू निराश बनेका छन् । विगतका वर्षहरूमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो वर्ष राम्रो हुने उनीहरूको आशा थियो । तर, बजारमा अन्य बेलामा जस्तै छिट्फुट मात्र कारोबार भइरहेको हो । केही वर्ष पहिलेसम्म दसैँ र तिहारका समयमा व्यवसायीलाई ग्राहकको चापले सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । खाना खाने फुर्सदसमेत हुँदैन्थ्यो । यो पटक भने पसल कुरेर मात्रै बस्नु परेको उनीहरू बताउँछन् ।
कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले यस्तो कम व्यापार यस अघिका दसैँमा कहिल्यै नभएको बताए । उनी भन्छन्, ‘बरु गत वर्ष कोरोना महामारीमा पनि ग्राहकको योभन्दा धेरै चहल–पहल थियो । अहिले दसैँ सुरु भइसक्दा पनि खासै व्यापार भएको छैन ।’ महँगी बढेकाले पनि ग्राहक कम आएको हुनसक्ने कोइराला बताउँछन् । उनका अनुसार विगतका दसैँमा दिनमै एक लाख हाराहारी व्यापार हुने गरेकोमा यो पटक मुस्किलले ३० हजारसम्मको बिक्री भइरहेको छ । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई सटर भाडा नै तिर्न हम्मेहम्मे छ । कोइराला भन्छन्, ‘व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थाल्यो ।’
कर्णालीकै प्रमुख व्यापारिक केन्द्र वीरेन्द्रनगरमै चाडबाडका बेला व्यापार सुस्ताएपछि व्यवसायीहरू मर्कामा परेका छन् । कर्णाली मलका व्यवस्थापक गणेश शर्मा ढकालले दसैँ भित्रिसक्दा पनि बजारमा चहलपहल नबढेको बताए । उनले गतवर्ष यो सिजनको भन्दा अहिले २० प्रतिशत व्यापार कम भइरहेको जनाए । उनी भन्छन्, ‘हरेक क्षेत्रमा आर्थिक संकट छ । व्यापारमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छैन । बजारको भाउ बढेको बढ्यै छ ।’ दसैँको अवसरमा आफूहरूले १५ देखि २० प्रतिशत छुट दिँदा पनि व्यापार नबढेको उनको भनाइ छ ।
न्यू सुशील इम्पोरियमका सञ्चालक अनिता कोइराला दसैँमा झन् व्यापार घटेको बताउँछिन् । ‘यसपालि व्यापारमा निकै मन्दी छ,’ उनले भनिन्, ‘दैनिक बिक्रीको हिसाब हेर्दा सटर भाडा तिर्न पनि कठिन पर्ने देखिन्छ ।’ विगतका वर्षहरूमा बजारमा लत्ताकपडा किन्नेको भिड हुन्थ्यो । जसले गर्दा फेन्सी तथा रेडिमेट व्यवसायीहरू यस्तोबेला दोब्बरभन्दा बढी कारोबार गर्थे । अहिले त्यस्तो अवस्था नरहेको हो । कपडाको व्यापार गर्ने कोइराला अघिल्ला वर्षहरूमा कोलिया र पेटीमा ग्राहकको भिड लाग्ने गरे पनि यो पटक पसल सुनसान हुने गरेको बताउँछिन् । बजारको माहोल बुझेर यसपालि उनले नयाँ सामान नै कम हालेकी छिन् ।
फेन्सी व्यवसायी अजयकुमार गुप्ता पनि अहिले किनमेल गर्नेहरू घटेको बताउँछन् । कतिपय व्यवसायीहरू भने व्यापार सन्तोषजनक नै रहेको बताएका छन् । फेन्सी तथा रेडिमेट केही पसहरूमा ग्राहकको चहल पहल पनि छ । अरु बेलाभन्दा दसैँ सुरु भएपछि व्यापार केही उकालो लागेको उनीहरू बताउँछन् । तर, अधिकांश व्यवसाय भने चाडपर्वका बेला पनि सुनसानजस्तै छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको बताए । चाडपर्वमा पनि राम्रोसँग व्यापार नहुँदा व्यवसायीहरू अप्ठ्यारोमा रहेको उनी बताउँछन् । ‘बैंकले व्यवसायीका लागि ऋण प्रवाह गरेका छैनन्,’ उनी भन्छन्, ‘बैंकले लगानी नगर्दा सामान थप्न पनि कठिनाइ छ । वीरेन्द्रनगर बजार मात्र नभएर कर्णालीका सबैजसो बजारको हालत खराब छ ।’
पहिलाजस्तो चाडपर्वको रौनक नहुँदा पनि व्यापार घटेको जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूमा नयाँ कपडा लाउन र मिठो मसिनो खान दसैँ नै कुर्नुपर्ने अवस्था छैन । वीरेन्द्रनगर–१२ का ६० वर्षीय लालविर रावलले पहिलाको तुलनामा दसैँ तिहारको महŒव नै घट्दै गएको बताए । ‘अहिले पैसा मात्र हुनुप¥यो जतिबेला जे किन्न पनि पाइन्छ । त्यसैले चाडपर्वमा किनमेल गर्नेको घुँइचो नलाग्ने गरेको हो,’ उनले भने । वीरेन्द्रनगर बजार व्यापारिक क्षेत्र पनि हो । यहाँ ठूला लगानीमा खुलेका आधुनिक व्यापार–व्यवसायसमेत छन् । तर, चाडपर्वको बजारले व्यवसायीहरू उत्साहित छैनन् । विगतका वर्षहरूभन्दा अहिले झनै व्यापार खस्किएको उनीहरूको अनुभव छ । बजारमा रहेका फेन्सी तथा रेडिमेट, गरगहना, इलेक्ट्रोनिक्स पसल तथा खाद्य स्टोरहरूमा पनि किनमेल गर्नेको भिड छैन । सबैजसो व्यापारमा गतिलो कारोबार भएको छैन । चाडपर्वका बेला राजधानीकै बजारमा राम्रो कारोबार नभएको हो ।
साझा बिसौनी ।