बुवाआमाको सम्झनामा एक लाखको अक्षयकोष
दैलेखको डाँडापराजुलीमा स्थित पिपल चौतारा माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षय कोषको स्थापना भएको छ । पोखरामा बस्दै आएका सुकल्याण पराजुली र बसन्ती उपाध्यायले पिता पण्डित पुष्पराज पराजुली तथा माताद्वय शान्तिदेवि र गोमादेवि पराजुलीको नाममा १ लाखको अक्षयकोष स्थापना गरेका हुन ।
पराजुली बन्धुहरु डाँडापराजुलबाट गएको भन्दै सुकल्याण पराजुलीले उक्त अक्षयकोष स्थापना गरेका हुन । अक्षयकोषको नाम पुष्प शान्ति पराजुली छात्रबृत्ति कोष राखिएको छ । साथै यसबर्षका लागि भन्दै पराजुलीले ११ हजार ५ सय नगद समेत विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
अक्षय कोष स्थापना कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर शाहीले गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै लायन्स क्लब अफ पोखरा अन्नपूर्ण की संस्थापक उपाध्यक्ष इन्दिरा बरालले यो कोषले यहाँका केहि जेहेन्दार विद्यार्थीहरुलाई राहत दिने विश्वास व्यक्त गरिन । उनले भनिन ‘हामी पुर्खा सम्झेर आएका हौं । पुर्खाको देनकै कारण आफूहरु यो अवस्था सम्म पुगेका कारण पुर्खाको थात थलोलाई स्मरण गर्दै पोखरा देखि यहाँ आएका हौं ।’
विद्यालयका प्रधानाध्यापक नन्दबहादुर केसीले अक्षय कोष स्थापना गर्न दुरदराजको आफ्नो विद्यालयलाई रोजेकोमा दाता पराजुलीलाई धन्यवाद दिए । उनले यो कोषलाई वेर्नाको रुपमा लिएको बताउँदै यसलाई थप गोडमेल गर्ने जिम्मा अब आफूहरुको भएको र त्यसमा ढुक्क हुन आग्रह गरे । उनले भने ‘कम्तिमा पनि ५ जनालाई हामी वार्षिक छात्रवृत्ती प्रदान गर्नेछौं ।’ कार्यक्रममा दैलेख पराजुली समितिका अध्यक्ष शेरबहादुर पराजुली लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार २०:५५
साझा बिसौनी ।