भवन नहुँदा पढाइ प्रभावितः कोही टहरामा, कोही खुला चौरमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ फागुन । 
गत वर्षको साउनमा भेरी नदीमा आएको बाढीले हरिहरपुर–५ का दुई वटा प्राथमिक विद्यालयको भवन पूर्ण रूपमा क्षति भए । बाढीले क्षति पु¥याएपछि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डोप्का र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिस्नेरी गिरीघाटमा निर्माण गरिएका अस्थायी सिकाइ केन्द्रको टहरामा खुम्चिएका छन् ।  
बावियाचौर–१ तिखाकुनाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीहरू खुला आकाशमुनी बसेर पढ्न बाध्य छन् । बाढीले बस्ती नै सखाप पारेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित हुन पुग्यो । पीडितहरू अस्थायी शिविरमा बस्दै आएका छन् भने उनीहरूका बालबालिका पनि खुला चौरमा बसेर पढ्न बाध्य छन् । खुला चौरमा केही डेस्क तथा बेन्च राखेर शिक्षकहरूले बालबालिकाहरूलाई अध्ययन गराइरहेका छन् । यस्तै हरिहरपुरकै पाग्मामा रहेको विजयश्वरी उच्च माध्यमिक विद्यालय पनि त्रिपालले छाएको टहरामा सञ्चालन भइरहेको छ । बाढीले विद्यालय पूर्ण रूपमा बगाएपछि काठले आधा बारेको र त्रिपालको छाएको टहरामा कक्षा सञ्चालन गरिएको छ । 
गत वर्षको बाढी र पहिरोबाट विस्थापितहरूको पुनर्वासको काम पूरा भएको छैन । जसले गर्दा बाढीपीडित शिविरका विद्यार्थीहको पढाइमा समस्या उत्पन्न भएको छ । विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसेका पीडित बालबालिकाहरूले सहज रूपमा विद्यालय पुगेर पढ्ने वातावरण बनेको छैन । बाढीपहिरो गएको दुई वर्ष पुग्दा पनि प्रभावित क्षेत्रका अधिकांश विद्यालयले अस्थायी टहरामै पठन–पाठन सञ्चालन गरिरहेका छन् । विद्यालयको पक्की भवन निर्माण नहुँदा विद्यार्थीहरू कच्ची टहरामा बसेर पढ्न बाध्य भएका हुन् ।  
गिरीघाटस्थित अस्थायी सिकाइ केन्द्रमा दुई वटा विद्यालयका विद्यार्थी पढाइन्छ । सेभ द् चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक), ग्लोबल एक्सन नेपाल र जिल्ला शिक्षा कार्यालय सुर्खेतले निर्माण गरेको केन्द्रका टहरा पनि जीर्ण बन्दै गएका छन् । बावियाचौरको तिखाकुनामा रहेको बाढीपीडित अस्थायी शिविर परिवर्तन हुँदा  विद्यार्थीहरूको पढाइ थप प्रभावित बनेको छ । विस्थापित भएपछि एक वर्ष बावियाचौरमा रहेको विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको थियो । तर एक वर्षपछि बाढीपीडितहरू पहिलेको बस्ती भन्दा भिन्दै स्थानमा सरेपछि विद्यालय थप समस्यामा परेको हो । शिविरका बालबालिकाहरूलाई खोला किनारको चौरमा राखेर पढाउने गरिएको छ । 
पूर्ण रूपमा क्षति भएको पाग्माको विजयश्वरी उच्च मावि स्थानान्तरण नै गर्नुप¥यो । स्थानान्तरण गरिए पनि भवनको अभाव भने विद्यालयले बेहोरिरहेको छ । यद्यपि उक्त विद्यालयका लागि पक्की भवन निर्माणको काम भने ढिलै भए पनि सुरु भएको छ । जिल्ला शिक्षा कार्यालयबाट चार कोठे दुई वटा र दुई कोठे दुई वटा गरी जम्मा १२ कोठाको भवन तथा दुई वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । विद्यार्थीहरू अहिले समुदाय तथा ग्लोबल एक्सन नेपाल लगायतका विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा निर्माण भएका अस्थायी सिकाइ केन्द्रमा अध्ययन गरिरहेका छन् । पढ्ने विद्यालयसमेत व्यवस्थित नहुँदा बालबालिकाहरूको समग्र सिकाइ नै प्रभावित भएको विजयश्वरी उच्च माविका प्राचार्य टेकबहादुर कार्की बताउँछन् । 
काठले बारेर त्रिपालको छानो बनाइएका टहरामा गर्मी–चिसो, घाम–पानीले पठन–पाठन बिथोलिरहन्छ । घाम–पानीले टहराका पाल च्यातिन थालेका छन् । हावाहुरीले अस्थायी टहरा नै उडाउने अवस्था छ । कक्षा कोठा नभएर कतिपय विद्यालयले चौरमा राखेर विद्यार्थीलाई पढाइरहेका छन् । गर्मीयाम सुरु भएपछि अस्थायी टहराका जस्तापाता तातिएर र पानी पर्दा थर्किएर पढाइ प्रभावित हुने शिक्षकहरू बताउँछन् । अधिकांश विद्यालयले शौचालय र खानेपानीको उचित प्रबन्ध मिलाउन सकेका छैनन् । वातावरण प्रतिकूल भएकैले विद्यार्थी संख्या घट्दै गएको केही विद्यालयका शिक्षकहरूको भनाइ छ । 
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार ११:१४