अन्तरक्रिया सम्पन्न
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ फागुन ।
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)ले सञ्चालन गरेको महिला नेतृत्व परियोजना अन्तर्गत सामुदायिक छलफल केन्द्रका सहभागी र पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । परियोजना सञ्चालन भएका पूर्वी सुर्खेतका पाँच गाविसका छलफल केन्द्रका प्रतिनिधि र पत्रकारबीच अन्तरक्रिया भएको हो ।
केन्द्रका प्रतिनिधिहरूले परियोजनाले आफूहरूमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए । चुलोचौकमा सीमिति आफूहरू अहिले समाज परिवर्तनको अभियानमा सक्रिय भएर लागेको बताएका थिए । साटाखानी–६ का बिमला सिंहले छलफल केन्द्रले आफूहरूमा आत्मविश्वास बढाएको बताइन् । ‘पहिला म नचिनेका मान्छेसँग समूहमा बोल्न समेत डराउँथे’ उनले भनिन्, ‘तर अहिले स्थानीय निकायका संरचनाहरूको नेतृत्व लिएर काम गर्न सक्ने भएकी छु ।’ छलफल कक्षामा महिलाहरू जम्मा भएर आफूहरूमाथि हुने हिंसा नियन्त्रण, सामाजिक विकृतिहरूको अन्त्य, क्षमता विकास, आयआर्जन लगायतका विषयमा छलफल गर्ने गरेको उनले जनाइन् ।
छिन्चुका डिला खड्काले महिलाहरूले केही गर्न सक्दैनन् भन्ने मान्यताविरुद्ध आफूहरूले सशक्त रूपमा लागेको बताइन् । ‘घरायसी काममा मात्र होइन विकास निर्माणका कामको जिम्मेवारी समेत हामीले सम्पन्न गर्न सक्छौं भन्ने देखाएका छौं’ उनले भनिन् । सुशासन कायम गर्न समेत आफूहरू सफल भएको उनको भनाइ थियो ।
अक्सफामको साझेदारीमा वामले सन् २०१४ देखि गुमी, छिन्चु, मैनतडा, खानीखोला र लेखपराजुलमा परियोजना अन्तर्गत सामुदायिक छलफल केन्द्र सञ्चालनमा ल्याएको छ । स्थानीय निकायका संरचनाहरूमा महिलाहरूको अर्थपूर्ण सहभागिता स्थापित गर्न परियोजना लागू गरिएको परियोजनाका कार्यक्रम संयोजक रिता बिसीले बताइन् । छलफल कक्षाले महिलाहरूलाई हिंसा नसहन हिंसा विरुद्ध आवाज उठाउन सक्षम बनाएको उनले जनाइन् ।
प्रकाशित मितिः १४ फाल्गुन २०७२, शुक्रबार ११:१२
साझा बिसौनी संवाददाता ।