जेलमुक्त भए सञ्जय दत्त

बलिउड नायक सञ्जय दत्त बिहीवार बिहान पुनेस्थित येरवडा जेलबाट मुक्त भएका छन् । अवैध हतियार राखेको मुद्दामा उनलाई पाँच वर्ष जेल सजाय सुनाइएको थियो । उनलाई लिन पत्नी मान्यता दत्त, फिल्ममेकर राजकुमार हिरानी जेलको बाहिर पुगेका थिए । त्यहाँबाट एक चाटर्ड प्लेनमा उनी मुम्बई फर्किएका छन् । जेलबाट निस्कने बित्तिकै धर्तीलाई छोएर प्रणाम गरी उनले राष्ट्रिय झण्डालाई सलाम गरेका थिए । उनले भने, ‘अरुको कारणले जेल मुक्त भएको छु । स्वतन्त्रता सहज छैन ।’
सन् १९९३ मा भएको मुम्बई विस्फोट पश्चात् एके–४७ साथै अन्य हतियार राखेको केशमा सञ्जयलाई गिरफ्तार गरिएको थियो । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । १८ महिना जेल सजाय कटाए पश्चात् सञ्जयले आफ्नो विरुद्धको सजाय माफ पाउँ भनि दर्ता गराएको निवेदन उच्च अदालतले खारेज गरी बाँकी ४२ महिना अर्को जेलमा सजाय कटाउन फैसला सुनाएको थियो । त्यसपश्चात् २१ मे, २०१३ मा उनलाई पुनेको यरवदा जेलमा सारियो । राम्रो आचरणको कारण उनी १०३ दिन पहिले जेलमुक्त भएका छन् ।
प्रकाशित मितिः   १५ फाल्गुन २०७२, शनिबार १०:५८