सरप्राइज माने प्रियंका

आफ्ना फ्यानलाई सरप्राइज दिने चाह कुन कलाकारलाई नहोला ? अहिलेकी व्यस्त हिरोइन प्रियंका कार्कीमा पनि यस्तै सरप्राइज मोह चुलिएको छ । पछिल्लो उदाहरण बनेको छ फिल्म क्लासिक । आर्यन सिग्देल र नम्रता श्रेष्ठको रोमान्स हेर्न हल पुगेका दर्शक पर्दामा प्रियंकालाई पनि देखेपछि दंग भएका हुन् । जबकि, क्लासिकमा उनको अभिनय छ भन्ने दर्शक त के मिडियाले समेत पत्तो पाएको थिएन । यस्तै भएको थियो, फिल्म कबड्डी कबड्डीको हकमा ।
यस फिल्ममा पनि उनी ‘सरप्राइज एक्टर’ की रूपमा देखिएकी थिइन् । नम्बर वानको दौडमा रहेकी प्रियंकालाई बारम्बार सहायक भूमिकामा देखिनु फलदायी नहुन सक्छ तर सम्बन्धकै खातिर यस्ता फिल्म गर्नुपरेको देखिन्छ । जस्तो कि, क्लासिकका नायक तथा निर्माता आर्यन प्रियंकाका जिग्री दोस्त हुन् भने कबड्डी कबड्डीका दयाहाङ राई । परिणाम जस्तो आए पनि सम्बन्ध सुमधुर बनाउन प्रियंकाले देखाएको उदारता भने तारिफ योग्य छ ।