‘गाई र त्रिशुलले बनेको सरकार होइन’

साझा बिसौनी संवाददाता
काठमाडौं, १४ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केटाकेटीको खेलबाट यो सरकार नबनेको बताएका छन् । एमालेको संविधान जनजागरण तथा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् । ‘कुनै केटाकेटीको गाई र त्रिशुलको एमालेको सरकार बनेको होइन’, उनले भने, ‘सरकारलाई सजिलै ढाल्ने कुरा हल्ला मात्रै हो । महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउँछ ।’
प्रधानमन्त्री ओलीले ६ महिना लामो आन्दोलनबाट मधेसी दलहरू थकित भइसकेको बताए । उनले मधेसी दलहरू थाकिसकेकाले उनीहरू पनि सरकारमा आउने दाबी गरे । ‘मधेसीहरू लगातारको आन्दोलनले थाकिसकेका छन्’, उनले भने, ‘चैतपछि उनीहरू पनि सरकारमा आउँछन्, सबै मिलेर देशलाई आर्थिक विकासतर्फ अघि बढाउँछौं ।’
प्रम ओली भैरहवामा पनि केही वर्षमै लोडसेडिङ्ग र देशभरमा रहेका सयबढी तुइन हट्ने बताए । ‘मैले लोसडेडिङ्ग केही वर्षमै हटाउने भनिसकेको छु । दुई वर्षभित्र देशबाट लोडसेडिङ्ग हट्छ’, उनले भने, ‘देशभर रहेका सयबढी तुइनलाई पनि हटाएर पुल हाल्छौं ।’ उनले सरकारले देशलाई तुइनमुक्त बनाउने बताउँदै भावी पुस्तालाई देखाउनका लागि तुइनको फोटो खिचेर राख्न पनि आग्रह गरे । 
प्रधानमन्त्री ओलीले आफ्नो ६ दिने भ्रमणले भारतसँगको बिग्रेको सम्बन्धमा पूरै सुधार आएको बताए । ‘भारतसँग अब कुनै पनि कुरामा असमझदारी छैन । सबै कुरा मिलिसकेको छ’, उनले भने, ‘भारतसँगको सात बुँदे सम्झौतालाई कार्यान्वयनमा ल्याउँछौ ।’ अमेरिकाका राष्ट्रपतिले नेपालका लागि ६० वटा वस्तुमा विशेष व्यापारिक छुट दिएको बताउँदै प्रमले अन्य देशले पनि यो सुविधा दिने दाबी गरे । 
प्रकाशित मितिः   १५ फाल्गुन २०७२, शनिबार ११:०५