संस्थापन पक्षबाट उम्मेदवारको टुङ्गो

साझा बिसौनी संवाददाता
काठमाडौं, १४ फागुन ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाट सभापति र महामन्त्रीको उम्मेदवारको लगभग टुङ्गो भएको छ । बिहीवार साँझ नेपाली कांग्रेसका नेता रामशरण महतको महाराजगंजस्थित निवासमा संस्थापन पक्षका एकदर्जन बढी नेताको भेलाले रामचन्द्र पौडेललाई सभापतिमा र सशांक कोइरालालाई महामन्त्रीमा उठाउने तय गरेको छ ।
महत निवासमा पौडेल, सशांक र शेखर कोइराला, प्रकाशमान सिंह, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, नारायण खड्का, दिलेन्द्र बडु, आनन्दप्रसाद ढुंगाना, लगायतको उपस्थिति थियो । संस्थापन पक्षका महŒवपूर्ण नेताहरूको भेलाले भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकपछि आफ्नो पक्षको उम्मेदवारी घोषणा गर्ने तय गरेका छन् । 
उम्मेदवारीको लगभग टुङ्गो गरेपछि महत निवासमा महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । संस्थापन पक्षकै नेता सिटौलाले पनि सभापतिमा उठ्ने बताउँदै आएका छन् । सिटौला महत निवास पुगेपछि नेताहरूले उनीसँग संयुक्त र पौडेलले एक्लै पनि कुरा गरेका थिए । उनीहरूले संस्थापन पक्षको सभापतिमा एउटा मात्रै उम्मेदवार बनाउनुपर्ने भन्दै सिटौलालाई उम्मेदवारी नदिन अनुरोध गरेका थिए । पौडेलले सिटौलालाई बाँकी पदाधिकारी पदमा मिलाएर लैजान सकिने भन्दै उनलाई कुन पदमा इच्छा छ सुझाउन अनुरोध गरेका थिए । सिटौलाले भने आफू सभापतिमा लड्ने पक्षमा रहेको भन्दै साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताए । सिटौलालाई मनाउन शुक्रवार बिहान पनि संस्थापन पक्षका केही नेताहरू उनको निवास गएका थिए । तर उनीसँग के छलफल भयो अझै थाहा छैन । सिटौला सभापतिमा उठ्ने भए आफू मिलेर महामन्त्रीमा उठ्न तयार रहेको थापाले उनलाई बताएका छन् । रामचन्द्र पौडेल र सशांकको जोडी उठ्ने टुङ्गोसँगै देउवा पक्षबाट पनि शेरबहादुर देउवा र अर्जुननरसिंह केसी सभापति र महामन्त्रीमा उठ्ने लगभग पक्का भएको छ ।
प्रकाशित मितिः   १५ फाल्गुन २०७२, शनिबार ११:०६