बचाउन खोज्दाखोज्दै खस्यो कालिकोटमा जहाज

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ फागुन । 
मध्यान्हको १२ बजेको थियो । पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना काष्ठमण्डप एयरको जहाज लिएर नेपालगन्जबाट जुम्लाका लागि उडे । जुम्ला सदरमुकाम पुग्न केही मिनेट मात्र बाँकी छँदा जहाजको इन्जिनमा समस्या देखियो । नौ जना यात्रुसहित उडेको जहाजमा खराबी आएपछि पाइलटहरूले कालिकोटको चिलखायामा आकस्मिक अवतरण गराउन खोजे । सोही क्रममा जहाज दुर्घटनाग्रस्त भयो ।
 पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज दुर्घटना भएको तीन दिन नबित्दै शुक्रवार फेरि कालिकोटमा अर्को जहाज दुर्घटनामा परेको छ । जहाजमा समस्या आएपछि सुरक्षित रूपमा बचाउने क्रममा शुक्रवार चिलखायाको गहुँबारीमा सो जहाज दुर्घटनामा परेको हो । जहाजलाई सुरक्षित अवतरण गराएर यात्रुलाई बचाउन खोज्ने क्रममा जहाजका दुई जना पाइलटको भने ज्यान नै गएको छ । दुर्घटनामा जहाजका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको छ । जहाजमा सवार बाँकी नौ यात्रु घाइते भएका छन् भने उनीहरूको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । 
९ एन एजेबी कलसाइन भएको काष्ठमण्डप एयरको यो जहाज नेपालगन्जबाट नौ जना यात्रु लिएर शुक्रवार मध्यान्ह १२ बजे जुम्लाका लागि उडेको थियो । जुम्ला जाने क्रममा प्राविधिक समस्या आएपछि कालिकोटको चिलखायामा गहुँबारीमा आकस्मिक अवतरण गर्ने क्रममा जहाज बारीको भित्तामा ठोकिएको थियो । कालिकोट सदरमुकामबाट चार घण्टा पैदल दूरीको चिलखायामा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा जहाजको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । जसको कारण जहाजमा रहेका दुवै जना पाइलटको घटनास्थलमै ज्यान गएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले जानकारी दिए । उनका अनुसार चालकले विमान र यात्रुलाई आकस्मिक रूपमा सुरक्षित अवतरण गराउन खोजेका खोजेका थिए । तर, जहाज बारीको भित्तामा धस्सिएको थियो । घाइते यात्रुका अनुसार पनि चालकले जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गराउने प्रयास गरेका थिए । तर, यात्रुलाई सुरक्षित गराउन सफल भएका चालकहरू भने आफू बाँच्न सफल भएनन् ।
स्थानीय शिवालय उच्च माविका लेखापाल अजबहादुर खत्रीका अनुसार आकस्मिक अवतरणका क्रममा बारीको भित्तामा जहाजको अगाडिको भाग ठोकिएर क्षतिग्रस्त भएको छ । ‘दुर्घटना भएको लामो समयसम्म पनि उद्धारमा कोही आएनन्’ खत्रीले भने, ‘दुर्घटनामा घाइते भएका यात्रुहरूलाई हामी गाउँलेहरूले नै जहाजबाट बाहिर निकालेर प्राथमिक उपचार ग¥यौं । जहाज खसेको चार घण्टापछि मात्र सुरक्षाकर्मी र हेलिकोप्टर आए ।’ दुर्घटनाको लामो समयसम्म पनि उद्धारका लागि सरकारी अधिकारीहरू घटनास्थलमा नपुगेपछि स्थानीय बासिन्दाले नै घाइतेको उपचार गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा जुम्ला चन्दननाथका जगदम्बा गिरी, अनिल गिरी, मेघराज गिरी, लक्ष्मी सुनार, गणेश भट्टचन, सोनामी भट्टचन, धनन्जय केसी, जुम्ला पटमाराका लक्ष्मण खड्का र नुवाकोटका धुव्रप्रसाद भण्डारी घाइते भएका छन् । उनीहरूको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । 
उपचार नपाउँदा पाइलटको मृत्यु
कालिकोटमा भएको जहाज दुर्घटनामा समयमा नै उपचार नपाउँदा पाइलटले ज्यान गुमाउनु परेको छ । दुर्घटनापछि समयमा नै उद्धार र उपचार हुन नसक्दा गम्भीर घाइते भएका जहाजका दुवै चालकको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।
जहाजमा समस्या देखिएपछि चालकले गहुँबारीमा आकस्मिक अवतरण गराउने क्रममा जहाजको अगाडिको भाग भित्तामा ठोकिएको थियो । सो क्रममा जहाजको अघिल्लो भागमा रहेका पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना गम्भीर घाइते भएका थिए । उनीहरूको समयमा नै उपचार हुन नसक्दा मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव किशोर श्रेष्ठले बताए । घटनास्थल जिल्ला सदरमुकामबाट टाढा भएको र उद्धारका लागि समेत हेलिकोप्टर समयमा पुग्न नसकेपछि दुवै पाइलटको मृत्यु भएको उनको भनाइ छ ।
उनले भने, ‘सहचालक रानाको केही बेरमा नै मृत्यु भइसकेको थियो, तर चालक न्यौपाने भने साढे २ घण्टासम्म पनि जीवित नै थिए । अत्याधिक रक्तश्राव भएको थियो, हामीले प्राथमिक उपचार गरे पनि बचाउन सकेनौं ।’ अहेव श्रेष्ठका अनुसार चालक न्यौपानेका दुवै खुट्टामा चोट लागेर निकै रगत बगेको थियो । रक्तश्राव रोक्न नसकेकै कारण उनको पनि मृत्यु भएको उनले बताए । दुर्घटना भएको लामो समयसम्म पनि हेलिकोप्टर नआएको र भरपर्दो उपचार नपाएकै कारण पाइलटको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार समयमा नै उपचार पाएको भए पाइलट न्यौपानेलाई बचाउन सक्ने अवस्था थियो ।
यस्तै उद्धारमा संलग्न स्थानीय बासिन्दा अजबहादुर खत्रीले भने, ‘जहाज बारीमा खसेपछि हामीले हतारमा सबैलाई बाहिर निकाल्यौं, अगाडिको भागमा बढी क्षति भएकाले पाइलटहरूलाई बढी चोट लागेको थियो । हामीले स्थानीयस्तरमा सके जतिको उपचारको प्रयास ग¥यौं, तर पाइलटलाई बचाउन सकेनौं ।’ खत्रीले समयमा नै प्रहरी र सरकारी अधिकारीहरू उद्धारका लागि नपुग्दा पाइलटले उपचार नै नपाएर ज्यान गुमाउनु परेको बताए । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 
अन्य यात्रु पनि घाइते भएका छन् । घाइते भएका सबै नौं जनालाई थप उपचारका लागि शुक्रवार नै हेलिकोप्टरबाट कोहलपुर लगिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले जानकारी दिए । जहाज दुर्घटना भएपछि स्थानीय बासिन्दाहरूले नै उद्धार गरेर घाइतेहरूको प्राथमिक उपचार गरेका थिए । 
‘बचाउन नसक्दा पछुतो’
 शुक्रवारको दिन भएर होला निकै थोरै विद्यार्थी मात्र स्कुल आएका थिए । त्यसैले चाँडै बिदा गरेर हामी घर फर्कदै थियौंँ । आकाशमा जहाज उडेको आवाज आयो । हाम्रो ध्यान पनि त्यसमा गयो । सुरुमा जहाजले गाउँलाई नै पुरै एक फन्को लगायो । त्यसपछि जहाज त माथिबाट तलतल पो झरिरहेको थियो । नजिक जहाज अवतरण गराउने ठाउँ थिएन, तर जहाज किन तल आइरहेको छ भनेर हामी अच्चमित भयौं । केही बेरमा नै जहाजले घरको छानो नै छुन थालेपछि भने हामी आत्तियौं । जहाज जमिनको नजिकै आइसकेको थियो, तीन जनाले त जहाजभित्रबाटै हाम फालेको देख्यौं । पछि थाहा भयो उनीहरू एकै परिवारका रहेछन्, श्रीमान्, श्रीमती र छोरा । 
उनीहरूले हाम फालेलगत्तै जहाज भुइँमा जोतियो । हामी दौडेर त्यहाँ पुग्यौं । अगाडिको भाग पूरै माटोभित्र थियो । हामीले सोच्यौं, जहाजभित्र लाश मात्रै भेटिने भयो । तर, नजिकै पुग्दा भित्रका मान्छेहरू चिच्याइ रहेको सुनेपछि भने केही आश पलायो । हामी हतारहतार उद्धारमा लाग्यौं । त्यतिन्जेल गाउँका अन्य मान्छे पनि जम्मा भइसकेका थिए । सबैले मिलेर भित्रका यात्रुहरूलाई बाहिर निकाल्यौं । सबै घाइते भएका थिए । मैले माटोमा धस्सिएको जहाजको अगाडिको भागमा हेरें । त्यहाँ विभत्स दृश्य थियो, को पाइलट सन्तोष रानाको लाश उनको सिटमै थियो । ज्यूँदै छन् कि भनेर नियाँले, विस्तारै उनलाई चलाएँ । तर उनको मृत्यु भइसकेको रहेछ । नजिकै चालक दिनेश न्यौपाने घाइते अवस्थामा थिए । तत्काल उनलाई बाहिर निकाले । उनी बोल्न सकिरहेका थिएनन्, तर हातले इशारा गर्थे । सायद उनले बचाउँ भनि रहेका थिए । तत्काल उनलाई उद्धार गरेर अस्पताल पु¥याउन सकिएन । अस्पताल टाढा थियो, हेलिकोप्टर नै चाहिन्थ्यो । गाउँमै हामीले सामान्य उपचार ग¥यौं । एक घण्टासम्म उनी ज्यूँदै थिए । पछि उनको पनि मृत्यु भयो । उनलाई बचाउन नसकेकोमा मलाई निकै पछुतो लागेको छ । 
आफ्नै अगाडि उनले बाँच्न चाहेर पनि ज्यान गुमाए । दुर्घघटना भएको घण्टौंसम्म पनि हेलिकोप्टर लिएर कोही आएनन् । समयमा नै अस्पताल पु¥याएको भए सायद उनी बाँच्ने थिए । 
प्रकाशित मितिः   १५ फाल्गुन २०७२, शनिबार ११:१४