त्यागको अवमूल्यन

इतिहासलाई भूत या अतितको साक्षी मानिन्छ । इतिहास ज्ञानी तथा जानकारहरूले नै इतिहास लेख्ने गर्छन् । र त्यसको शोध, शुद्धि र समीक्षा पनि त्यत्तिकै प्रतिबद्ध र जानकार व्यक्तिहरूबाट आउने अपेक्षा गरिन्छ । त्यसमा वर्णित तथ्यहरूको सत्यपन र स्तरीयता विभिन्न प्राज्ञिक र अनुसन्धान तथा शैक्षिक संस्थाहरूबाट निरन्तर रूपमा भइरहने गर्छन्, स्वदेश तथा विदेशमा सर्वत्र । रणनीतिक तथा भू–सामरिक स्वार्थका मुलुकहरूको इतिहास भावी पुस्तालाई दिग्भ्रमित गर्ने हिसाबले त्यहाँका विज्ञहरूले जानीजानी ‘तोड मरोड’ गरेको आरोप विगत केही दसकहरूबाट आइरहेका छन् । त्यसलाई तथ्यका आधारमा चुनौती दिने काम पनि समानान्तर रूपमा भइरहेका छन् । इतिहासको संरक्षण भावी पुस्ताको दिशा निर्देशनका लागि पनि त्यत्तिकै आवश्यक ठानिन्छ । इतिहास ‘बिजेता’ हरूको मात्र हो भन्ने मान्यतालाई चुनौती दिँदै अब हार–जीतका विविध पक्ष र तिनीहरूले प्रतिनिधित्व गरेका मान्यताहरूसमेत इतिहासमा आउन थालेका छन् । पराजितहरू स्वयम्सिद्ध खलनायक हुन् भन्ने मान्यतालाई पनि इतिहास लेखनको सिद्धान्तले स्वीकार्दैन ।
तर नेपालमा पटक–पटक नायक÷खलनायक रच्ने काम भइरहेको छ, इतिहास निर्माणको सिद्धान्त, मूल्य र मान्यताविरुद्ध । सहिदका नाममा भइरहेको राजनीतिले अब राष्ट्रिय हिरोहरूको अपमान गर्ने, गराइने निन्दनीय प्रपञ्च पनि जारी छ । दाङ घोराहीमा ‘सहिद’ लखन थापाको सम्मानका नाममा राजा त्रिभुवनलाई अपमानित या उनको सालिक विस्थापित गर्ने काम भएको छ । वि.सं. १९३३ मा राणाशासनको विरोध गरेबापत मृत्युदण्ड दिइएका लखन थापालाई सरकारले केही महिनाअघि ‘पहिलो’ सहिद घोषणा ग¥यो । त्यो निर्णयमा पुग्दा सरकारले कति ऐतिहासिक तथ्य, प्रमाणहरू फेला पा¥यो, केलायो थाहा छैन । तर माओवादी नेतृत्वको विगतका दुई सरकारले जस्तै हचुवाका भरमा यदि सुशील कोइराला सरकारले आफ्नो कार्यकालको अन्तिम चरणमा त्यसरी नै सहिद घोषणा गरेको हो भने त्यसको पुनः समीक्षा आवश्यक छ । ‘सहिद’ शब्दको अर्थ, त्यसको अवधारणाको व्यापकता र सहादतप्रतिको उच्च सम्मान इतिहास र स्मारकहरूमा अंकित हुनैपर्छ, त्यसैले त्यसको बृहत अध्ययन गर्न विज्ञहरूको समितिलाई सुम्पिनुपर्छ । लखन थापा मात्र हैन, राज्यले कुनै रूपमा त्यसरी सम्मानितहरूलाई ‘सहिद’ सूचीमा राख्ने या नराख्ने भन्ने निर्णय पनि त्यस्तै विज्ञ समितिको जिम्मा छोड्न आवश्यक छ । अन्यथा ‘सहिद’ शब्दको अवमूल्यन हुनेछ र उनीहरूलाई सम्मानका साथ हेरिने छैन ।
तर दाङमा एउटा राष्ट्रिय ‘हिरो’को अपमान गरियो सहिदको सम्मानका नाममा । प्रजातन्त्र स्थापनामा खेलेको भूमिकावापत या सम्मानस्वरूप घोराहीमा स्थापित त्रिभुवन पार्कमा राखिएको उनको मूर्ति करिब ६ वर्षअघि तोडियो । त्यसबेला माधव नेपाल प्रधानमन्त्री थिए र उनको तथा उनका उत्ताराधिकारी प्रधानमन्त्रीहरूको दायित्व बन्थ्यो त्यो मूर्ति पुनर्निर्माण गरी स्थापित गर्नु । तर सस्तो लोकप्रियता र उच्छृखंल राजनीतिका कारण कुनै पनि सरकारले त्यो दायित्व पूरा गरेन । अहिले त्यहाँ लखन थापाको मूर्ति स्थापित गरी ‘लखन थापा पार्क’ नाम जुराइएको छ पार्कको । यो घटनाले इतिहासका कुनै ‘हिरो’ या ‘त्रिभुवन’ को योगदानलाई कम गर्दैन, तर त्यसले नेपाल सरकार, नेपाली समाज र घोराहीवासी इतिहासप्रति कृतज्ञ रहेको सन्देश फैलाउने छ । लखन थापाका नाममा नयाँ पार्क र अन्य संस्था खोली मूर्ति स्थापित गर्न सकिन्छ । ‘सहिद’ समाज र राष्ट्रका आदरणीय भएकोले अर्को ‘हिरो’ लाई अपमानित गरी लखन थापालाई स्थापित गर्दा स्वयम् लखन थापाकै अपमान हुन पुग्छ त्यो । सहिद र ‘हिरोहरूलाई’ यसरी स्थापित र विस्थापित गर्ने क्रम चल्यो भने त्यसले इतिहासविरुद्ध खतरनाक गद्दारीको सिलसिला सुरु गर्नेछ ।
प्रकाशित मितिः   १६ फाल्गुन २०७२, आईतवार १०:३४