कर्णाली साहित्य समाजद्वारा तीन जना स्रष्टा सम्मानित
सुर्खेत: कर्णाली साहित्य समाजले तीन जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण तथा पुरस्कार प्रदान गरिएको हो ।
कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति ‘जियरा’ लाई प्रदान गरिएको छ । २०७८ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट छनोट गरेर ५० हजार राशीको उक्त पुरस्कार जियराका लागि लेखक नयनराज पाण्डेलाई प्रदान गरिएको हो ।
यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा. डा. राजाराम सुवेदीलाई प्रदान गरिएको छ । कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत सुवेदीलाई ताम्रपत्रसहित सम्मान गरिएको हो । सुवेदीले कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महŒवका पुस्तकहरू प्रकाशन गरेका छन् । आफ्ना बहुमूल्य कृतिमार्फत कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जनाए ।
यसका साथै संस्थाले स्थापना गरेको २५ हजार राशीको प्रतिभा पुरस्कार नृत्यनिर्देशक कुलमान नेपालीलाई प्रदान गरिएको छ । उनी कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरूलाई देशभर चिनाउन सफल कलाकार हुन् । नेपालीले थुप्रै पटक राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रथम स्थान हासिल गरेका छन् ।
प्रकाशित मितिः ९ आश्विन २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।