कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना

सुर्खेत: कर्णाली प्रदेश प्रहरी कार्यालयले दसैँ र तिहारजस्ता चाडवर्पलाई लक्षित गरेर यो वर्ष पनि विशेष सुरक्षा योजना बनाएको छ । प्रहरीले चाडपर्वको बेला हुनसक्ने ठगी, लुटपाट र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना बनाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले चाडपर्वको समयमा सवारी साधनको टिकटमा हुने ठगी, अवैध मदिरा बिक्री वितरण, सवारी दुर्घटना, पकेटमार र लुटपाटलगायतका काम हुने भएकाले त्यसको नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइएको जनाए । योसँगै प्रहरीले चाडपर्व लक्षित गरेर प्रदेशका २६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा सुरक्षा व्यवस्था मजबुद बनाउन प्रदेशभर चार हजार एक सय ४१ सुरक्षाकर्मी खटाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रहरीले नियमित चेक प्वाइन्ट ३१ स्थानमा सञ्चालन गरेको छ भने आकस्मित चेकिङ आवश्यकताका आधारमा स्थापना गरिने बताइएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच ५३ स्थानमा हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशभर हुनसक्ने चोरी, तस्करी र लागुऔषध कारोबारलगायतका अवैद्य गतिविधि नियन्त्रणका लागि १८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । प्रवक्रा श्रेष्ठका अनुसार मादक पदार्थ सेवन नियन्त्रण, मोबाइल तथा पैदल गस्तीका लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वमा अन्य समयको भन्दा बढी सवारी दुर्घटना र मानवीय क्षति हुने गरेकाले यसमा प्रहरीले विशेष ध्यान दिने जनाइएको छ । क्षमताभन्दा बढी यात्रुु बोक्नुु, चालकले मदिरा सेवन गरेर सवारी साधन चलाउनुु, समयमा सवारी जाँच तथा मर्मत नगर्नुुले ठूला दुर्घटना हुने गरेको प्रहरीको ठहर छ । प्रदेश प्रहरी कार्यालयले चाडबाड लक्षित सुरक्षा कार्य योजनामा सचेतनालगायतका कार्यक्रमलाई पनि जोड दिएको छ । सुरक्षा योजना अनुसार गाडी धनी, चालक, सहचालक र यात्रुहरूका लागि सचेतनामूलक कार्यक्रम गरिनेछन् । चाडपर्वमा सुरक्षा चुनौती बढी हुने भएकाले विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवान्छित÷अपराधिक क्रियाकलापको रोकथामका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको दाबी छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७९, शनिबार ०५:०३