सात जनाविरुद्ध भ्रष्ट्राचार अभियोगमा मुद्दा दायर

सुर्खेत: डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रवार तत्कालीन वन डिभिजन अधिकृत दाहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत गरी सात जनाले भ्रष्टाचार गरेको ठहर गर्दै आरोप पत्र दायर गरेको हो । आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र ४ मा राजकाँडा कोटेश्वर दरबार निर्माणमा उनीहरूले गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको दाबी गरिएको छ । तत्कालीन डिभिजन वन अधिकृत दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावल, कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष ध्रुवकुमार सिंह, सचिव युवराज पोखरेल, कोषाध्यक्ष पदमा कुमारी बुढा र एलिसा डिजाइन्स एण्ड विल्डर्सका प्रोपाइटर लोकेन्द्र रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्यांकन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराइ वास्तविक भए गरेको कामभन्दा बढी काम देखाएर चार लाख ३६ हजार सात सय २२ रूपैयाँ नौ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरेकाले नेपाल सरकारलाई हानि नोक्सानी पु¥याएको अख्तियारले जनाएको छ । उनीहरूबाट बिगो असुल गर्न समेत माग दाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७९, शनिबार ०५:०२