साना किसान सहकारीको कारोबार वार्षिक ४३ करोड
सुर्खेत: वीरेन्द्रनगर–३ मा रहेको साना किसान कृषि सहकारी संस्थाले गएको आर्थिक वर्षमा ४३ करोड बढीको कारोबार गरेको छ । शनिवार सम्पन्न संस्थाको २६औँ वार्षिक साधारण सभामा वार्षिक कारोबारसँगै गतिविधिबारे जानकारी गराइएको हो । उक्त सहकारीका संस्थाका अध्यक्ष चाँदनी ढकालले आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले ४३ करोड आठ लाख १४ हजार दुई सय ८४ रूपैयाँको कारोबार गरेको जानकारी दिइन् । चालु आर्थिक वर्षमा संस्थाले ४८ करोड ६४ लाख ९० हजार आठ सय रूपैयाँ कारोबार गर्ने लक्ष्य लिएको छ । साधारण सभाको अवसरमा संस्थाले सदस्य राहत कार्यक्रम अन्तर्गत वृद्ध सम्मान, सदस्य बिमा कोष, सुत्केरी पोषण खर्च, दैविक प्रकोप, औषधि उपचारलगायतका कार्यक्रम सञ्चालन गरेको जनाइएको थियो । यसका साथै संस्थाले सदस्यहरूमार्फत भैंसी पालन र तरकारी खेती फारम पनि सञ्चालन गरेको बताइएको छ ।
साधारण सभाका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सहकारी संस्थाहरूको व्यवस्थापनका लागि प्रदेशको सहकारी ऐन र नियमावली तयार भइसकेको जनाए । कृषि र पशुजन्य उद्यमका लागि प्रोत्साहन गर्दै प्रदेशलाई आत्मनिर्भर गराउने, गुणस्तर अर्गानिक वस्तु उत्पादन गर्ने तथा जग्गा भाडामा लिएर व्यवसाय गर्नेलाई अनुदान उपलब्ध गराइने सरकारका कार्यक्रम रहेको मन्त्री शाहीको भनाइ थियो । साधारण सभामा वीरेन्द्रनगर–२ का वडा अध्यक्ष गजबहादुर बुढा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीलगायतको उपस्थिति रहेको थियो ।
साझा बिसौनी ।