यात्रा संस्मरण

लुम्बिनी भ्रमणको सम्झना

मायादेवि मन्दिरमा आस्था बिसाउँदाः २

गर्मीले खलखली पसिना बगिरहेको थिए । गाडिहरू थुनिएर लामो लस्कर लागेको थियो । १२ बजेपछि बल्लतल्ल यातायात खुल्यो । बसले मायादेवी मन्दिर जाने दोबाटोमा उतार्‍यो ।

पहिलो अवलोकन यात्रामा आउँदा भत्केको पुरानो मायादेवी मन्दिर पुनःनिर्माण गर्न लागेका थिए । पुरानो पर्खालको जग यथावत राखी मन्दिर निमार्ण गरिएको रहेछ । मन्दिर वरपर सयपत्री फूलमालाले सजाएको छ ।

आज यहाँ नेपाल र भारतका प्रधानमन्त्रीले मात्रै पूजापाठ गरेनन्, देशका विभिन्न भुभागबाट आएका ठूलो संख्यामा भक्तजनहरूको लाम थियो । भक्तजनहरूलाई व्यवस्थित रूपमा आउजाउ गर्न प्रहरीले निगरानी गरेको थियो । लाइन लगाएर जाने–आउने व्यवस्था मिलाइएको थियो ।

लामो लाइनको पर्खाइपछि मेरो पालो पनि भयो । वुद्ध जन्मेको र उनले नुहाएको सानो पानीपोखरीमा फूल चढाएँ । पर्खालमा राखिएको छिका लगाउँदै ‘शान्तिको ज्ञान देउ’ भनी बुद्धसँग आशीर्वाद मागेँ । भित्र गएर फोटो खिच्न मनाही थियो । एकजनाले फोटो खिच्न लाग्दा प्रहरीले उनको मोबाइल नै खासेर राखेको थियो ।

बाहिर ठूलो पिपल रुख मुन्तिर ढुङ्गा बिच्छाएको पटाङ्गिनीमा लहरै बौद्ध भिक्षु आफ्नो दान माग्ने भाडा समातेर बसिरहेका थिए । कोही आस्थावानहरू आर्थिक दान दिइरहेका थिए । त्यही आस्था बिसाउन आएका भारतको उत्तरप्रदेशका निवृत शिक्षक सत्यप्रकाश र थरहासँग भेट भयो । उनीहरूले सँगै बसेर फोटो खिचे । मलाई आफ्नो ठाउँतिर आउनु भन्ने निम्तासमेत दिए ।

आज यो महान पर्वमा लाखौलाख आस्थावानहरू यहाँ जम्मा भएका थिए । नेपाल र भारतका विभिन्न भूभागबाट आस्था बिसाउन आएका थिए । बसन्त ऋतु सकिएर ग्रिष्म लाग्न थालेकाले मायादेवी मन्दिरको चारैचिर विभिन्न प्रकारका फूलहरू फक्रिर मनमोहक भएको थियो । लहरै नेपाली राष्ट्रिय झण्डा फहराइएका थिए । दान बाकसहरू राखिएका थिए । आस्थावानहरू त्यसमा आ–आफ्नो गक्ष अनुसार दान रकम खसालीरहेका थिए ।

म ति सबै दृष्य नियाल्दै मन्दिरबाट बाहिर निस्किएँ । केही दुरीमा अगाडि बढ्दा मानव निर्मित लामो पोखरी निमार्ण गरिएको देखियो । त्यहाँ उपस्थितहरू टिकट काटेर पोखरीमा डुङ्गा सवार गरिरहेका थिए । कति उत्साहका साथमा राराताल हेर्न र डुङ्गामा सयर गर्न रारा महोत्सव गएको समयमा मानिसहरूको भिडले बोटिङ गर्न नपाएको अहिलेसम्म थकथक लागिरहन्छ । यहा“ त जसरी पनि टिकट लिएर बोट सयर गर्छु भन्ने निश्चय गरेँ । ४० रूपैयाँमा टिकट लिएर लामो तलाउमा सयर गर्न पाएको कति मनोरञ्जन र उत्साह जागेको थियो । त्यहाँ पनि बोटसहित आउने गरी फोटो कैद गरेको थिएँ ।

त्यसपछि विभिन्न देशहरूले निमार्ण गरेका वुद्ध भगवानका विहार गुम्वज हेर्न मन थियो । गर्मीले गलाएकोले पैदल हिँड्न सक्ने अवस्थामा थिइनँ । पानी प्यासले पनि सताइरहेको थियो । पहिले आउँदा तीन पांग्रे रेक्साबाट सबै विहार गुम्बा निर्माण भइरहेको अवलोकन गरेको थिएँ । यसपटक भने इ–रेक्सामा बसेर घुम्ने मन बनाएँ । तर एकल घुम्दा भाडा बढी हुने भएकोले साथी खोज्न थालेँ । रूपन्देही बुटवल निवासी कपिलमनी पन्थी भेटिएन । उनका परिवारसहित घुम्न थाल्यौँ ।

आकाशमा वादल भएपनि हपहपी गर्मीले पानी तिर्खा लागिरहेको थियोे । यो यात्रा फाल्गुन–चैत महिनामा गर्न पाए न गर्र्मी न जाडो ठिक्कको मौसम हुने रहेछ । सबैभन्दा पहिले नेपालले निर्माण गरेको विहार हेरियो । चीन र कोरीयाले निर्माण गरेको गुम्वा कोरोना जोखिमका कारण बन्द गरिएको रहेछ । फ्रान्सले द लोटस स्तुपा, जर्मनीले दिग्रुप काश्य महापद्म चैत्य महाविहारलगायत अवलोकन गरेर सकियो । हरेक विहार–गुम्वाहरू भित्र चारैतिर झकिझकाउ दिप जलिरहेका थिए । त्यस्तै हरेक गुम्वा–विहारमा वुद्ध भगवानले भिक्षुहरूलाई उपदेश दिइरहेका वृतचित्र चारैतिर दिवालमा अंकित गरिएका थिए । म हरेक गुम्वा–विहार भित्र स्थापित वुद्धका शालिक, वृतचित्र ढोगी उज्यालो ज्ञान शान्तीको सन्देश माग गरिरहेको थिएँ ।

आज भगवान वुद्ध जन्मेको दिन उज्यालो दिप जलाउन अध्यारो यो संसारलाई ज्ञान शान्तीको सन्देश दिइहेकाले मायारूपी संसारमा नभुली मृत पृथ्वीमा अमर रहेको अनुभूति गरिरहेको थिएँ । हरेक विहार–गुम्वामा हुलका हुल आस्था विसाई घुमिरहेकाहरू थिए । रिक्सावाला भाइले भित्र पस्ने मुलगेटमा लिएर छोडिदिए । म त्यही मुल सडबाट माइक्रोबसमा चढि भैरहवा ओर्लिएँ । गजल सम्राट वुद राना दाइको घर एकता नगर पुगेँ । प्रज्ञा प्रतिष्ठान नेपालका आजीवन सदस्य दाइ वुद रानाको आतिथ्य सा“च्चै ‘अथिती देव भव’ को गहिरो अनुभूति भइरहेको थियो ।

अर्को दिन बिहानै गौतम वुद्धका बाबु सुद्धोधन राजाले राज्य चलाउने राजधानी तिलौराकोटको अवलोकनमा निस्किने तयारीमा थिएँ । वुद राना उठिसक्नु भएको थियो । दाजुलाई अघिल्लो बेलुका नै भोलि तिलौराकोट जानेबारे जानकारी गराएको थिएँ । दाजुले मलाई वुद्धचोक पु¥याउनुभयो । उहाँले तिलौराकोट पुग्ने छोटो बाटो देखाउनुभयो । उहाँको सुझावअनुसार म बस चढेर लुम्बिनी हुँदै तौलिहवा जिल्ला सदरमुकाम हिँडे । म यो सदरमुकाम पहिलो पटक आएको थिएँ । यसपटक तिलौराकोट हेर्ने धोको वर्षौपछि पूरा हुँदैथियो ।

साम्राज्यवादी अंग्रेज दक्षिण एसियामा रहेका साना ठूला ६ सय ८० कविला राज्यलाई पराजित गरि विशाल हिन्दुस्थान निर्माण गरी प्रत्यक्ष उपनिवेश शासन गर्न लागेको थियो । त्यही क्रममा विशाल नेपालको पूर्व टिष्टादेखि पश्चिम का“गडा किल्लासम्म गोर्खालीसँग लडाई हुँदा बुटवलको जितगढीमा अंग्रेजलाई जित्न सकेको थिए । चतुर अंग्रेजले वीर नेपालीहरूको लडाईको मैदान राष्ट्रप्रतिको सदभाव देखेर नेपालीहरूलाइ कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाइरहेको थियो । त्यही“ समयमा अंग्रेजको युद्धबाट डराएर दरवारले थोरै भए पनि राज चलाउन धेरै भुभाग गुमाएर यही नजिक रहेको सनौली स्थानमा ई.सं. १८१६को सुनौली सन्धी गरेको थियो भन्ने मनमा कुरा खेलाउँदै विहान ९.४५ मा तौलिहवा सदरमुकाम पुगेको थिएँ । यहा“ प्राय भोजपुरी भाषा बोल्ने मधेशी समुदायको बाहुल्य रहेछ । १० बजेतिर गोदावरी गाउ“मा बस रोकियो । स्थानीयसँग सोधपुछ गर्दा तिलौराकोट अझै करिब दुई किलोमिटर छाढा रहेछ ।

पैसा पनि जोगिने, स्थानीय जीवनशैली पनि बुझ्न पाइने । म त्यहाँबाट पैदल हिँड्न तयार भएँ । तिलौरा गाउँ पुग्दा पानी तिर्खाले आकुल–व्याकुल परेको थिएँ । एउटा घरमा पुगेर पानी मागेँ । त्यस घरमा भेटिएका एक युवाले मलाई कुर्सीमा बस्न लगाएर भित्र गए । पहिले पानी ल्याएर दिए । अनि एक डल्लो मिठाइ पनि खुवाए । ‘केहीबेर यहीँ आराम गरेर हिँड्नुहोला काका’ भनेर उनी कामरिर हिँडे । अपरिचित व्यक्तिलाई उनले गरेको व्यवहारले मलाई भने ‘अथिति देवो भव’को अनुभूतिले हर्षित बनाएको थियो ।

केहीबेरमा एक युवति बाहिर आइन् । मैले पानी र मिठाई दिने युवकको नाम सोधँे । उनले भनिन् ‘जेठ हुन्, नाम भन्न हु“दैन ।’ मलाई यहा“को संस्कारले झन् युवकको नाम र धर्म जान्ने जिज्ञासा बढेर आयो । ‘तपार्इंको सास छन् कि बाहिर बोलाउनू’ भनेँ । उनले सासुलाई बोलाइन । मैले उनीसँग छोराको नाम र धर्म सोधेँ । उनले नाम चन्दन गठरिया, वर्ष २१ भएको बताइन् । र, धर्म हिन्दु हो भनिन् । उनलाई धन्यवाद भनेर म यात्रामा अघि बढेँ ।

अलि पर पुगेको थिएँ, एउटा मोटरबाइकमा निकै समान राखेका युवा मेरो नजिक आएर रोकिए । उनले सोधे, ‘काका कोटमा जाने हो ?’ मलाई उनको बाइकमा राखेर कोटको गेटसम्म पु¥याइदिए । यसरी ‘अथिती देव भव’ र बडाको आदरमा नाम समेत नलिने संस्कार देख्दा साच्चै वौद्ध भूमिले अहिलेसम्म वास्ना दिइरहेको अनुभूति गरिरहेको थिएँ ।

म वरिपरी तारवारले घेरेको विचमा खुल्ला गेटबाट भित्र गएँ । त्यहा“ जंगलभित्रको चारैतिर चौरमा उहिले तिलौराकोट ‘कोलिय राज्य’को त्यो समयका मानव समाजको विकास तेलिया इट्टाको दरवारको जग मात्र छरिएका थिए । म भने ति दरवार जगमा अवशेष क्यामेरामा कैद गर्दै अगाडि बढेँ । दरवार भएको चौरको चारैतिर ठुला पिपल, आप, सिमल, बेल, कलमका अनेकथरी सदावहार रुखहरूको जंगलले भरिएको थियो । त्यहाँ पनि २५६६ औ वुद्ध जयन्ती कार्यक्रम सञ्चालन भएको भएको स्थानमा पुगेँ । त्यो कार्यक्रम लुम्बिनी विकास कोष कपिलवस्तु समन्वय समितिले आयोजना गरेको रहेछ ।

कार्यक्रमका मुख्य अथिति त्यही तौलिहवाबाट सांसद निर्वाचित भएर पुर्व संस्कृती तथा पर्यटन मन्त्री र भारतीय राजदुत भैसक्नु भएका दिपककुमार उपाध्यायले सम्बोधन गर्दै भनेका थिए, ‘यो कोटलाई विश्व पुरातात्विक सम्पदा सुचीमा राख्ने प्रक्रिया अगाडि बढिरहेको छ । अब यो स्थलसम्म आउँदा भैरहवा विमानस्थलबाट ४५ मिनेटमा सडक मार्गका यातायात चढेर आउने सक्ने विकास भएको छ । हामीले भारतसँग मिलेर यो लुम्बीनी विकास अगाडि बढाउन पर्छ ।’ भारतले वौद्ध विहार निर्माण गर्न एक अरब ६० करोड खर्च गर्ने शिलान्यास गरिएको रहेछ । कार्यक्रम लुम्बिनी विकास कोषका अध्यक्ष रामनरेश कोहोरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यहाँ एउटा पिकअप गाडी थियो । गाडी हिँड्नै लाग्दा म नजिर्क गएर ‘मित्रहरू कहाँसम्म जाने, मलाई पनि लिन मिल्ला कि ?’ भनेर सोधेँ । उनीहरू लुम्बिनी वनसम्म जाने बताउँदै गाडिमा बस्न भने । म पछाडीपट्टी बसेँ । लुम्निीबाट त्यही कार्यक्रमको लागी ल्याएको वौद्ध मुर्ति राखिएको थियो । आज आकाशमा वादल थिएन । कहिँकतै तरकारी लगाएका ससाना बारी देखिन्थे । मध्यदिन भएकोले चर्को घाम थियो । गाडी बेतोडले हुइकिँदा सितलता हुन गएको थियो । केहीबेरमा लुम्बिनी पुगेर गाडी गेटमा रोकियो । म त्यहाँ उत्रिएँ ।

दिनको दुई बजेको थियो । त्यहीँ नजिक वुद्ध विश्वविद्यालय अवलोकन गरिहाल्छु भनि पैदल गएँ । यो विश्वविद्यालय २०७८ सालमा राष्टपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् । विभिन्न कार्यालय सञ्चालनदेखि क्याम्पस भवन सम्पन्न भएको रहेछ । विश्वविद्यालयका कर्मचारी, प्राध्यापक कसैसँग भेट हुन पाएन । निर्माण कार्यमा मिस्त्री मजदुर मात्र व्यस्त थिए । अवलोकनपछि क्यामरामा फोटा कैद गरँे । त्यहाँबाट फर्किएर पुनः बुद रानाको घर पुगेँ । त्यो दिन दाइकै घरमा बास भयो ।

बिहान उठेर म घर फर्किने सुसारमा थिएँ । बुद राना दाजुले भैरहवामा स्थानीय निर्वाचनमा एमालेले पराजय भोग्नुप¥यो भाइ भन्नु भयो । मैले जनतासँग कवुल गरेका कार्य नगरेर स्वार्थसिद्धी गरेपछी पराजय भोग्नु संसारभरको प्रजातान्त्रिक नियम हो भनेँ । दाजुले पनि हा ेत रहेछ भाई भनि सही मार्नु भएको थियो । त्यपपछि मैले ‘समृद्धिको लहरीमा कर्णाली’ पुस्तक उहाँलाई उपहार दिएँ । दाजुले पनि ‘एकाकार’ खण्डकाव्य र श्रीमती सोनु गरुङद्धारा रचना गरिएको ‘लहरा पहरा’ निबन्ध संग्रह उपहारमा मलाई दिनु भयो । त्यो घरको न्यानो आतिथ्य कहिले नबिर्सिने गरी विदाई लिँदै दाजु र भाउजुलाई धन्यवाद दिएर हिँडे । दाई पनि मलाई बुद्धचोकसम्म छोड्छु भनेर आउनुभयो । बुद्धचोकबट म बसेर चढेर नेपालगञ्जतिर लागे, दाजु घरतिर ।

बसमा यात्रीहरूबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो लुम्बिनी मायादेवी मन्दिर भ्रमण गरेको चर्चा भइरहेको थियो । कोही भन्दैथे, ‘मोदीले भारतबाट नै आफ्नो सुरक्षा सैनिक र पत्रकार लिएर आएका थिए रे ।’ अर्कोले थप्यो, ‘हाम्रो सुरक्षाकर्मी त लुम्बिनीबाहिर खेतखेतमा ड्युटी गरिबसेका थिए र ।’ ‘नेपालका पत्रकार पनि भित्र जान पाएनन् रे ।’ यस्ता अनेक चर्चाकैबीच ‘मायादेवि मन्दिरमा नरेन्द्र मोदीले दुई हात जोडेर ध्यान गर्दै पुजापाठ गरे । हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवाले त कुनै लाठीले लागू पदार्थ खाएरजस्तो गरी ¥याल काढ्दै निदाइरहेका थिए ।’ ‘परमादेशबाट नियुक्त भएका प्रधानमन्त्री भारतीय निगाहको प्रतिछाया परेर पनि निदाए होलान्’ कोही यात्रु यसो पनि भनिरहेका थिए । ‘यसरी भारतको बाघछाया पारेर यसपटक कुन नदी सित्तै भारतलाई सुम्पिन्छन्’ भन्नेहरू पनि थिए ।

यात्रुको चर्चामा म पनि मिसिएँ । मैले जंगबहादुरहरूले अंगे्रजको दलाली गरेर नेपाली युवा लाहुरे बनाई बहादुर बनाएको बताए । ‘पुनः बहुदलिय प्रजातन्त्र र त्यसपछिको गणतन्त्र स्थापनापछि भारतिय शासकको निर्देशन नमानी शासन गर्ने मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, जननेता मदन भण्डारी, केपि शर्मा ओलीलाई पार्टी विभाजन, आफ्नो पार्टीमा अल्पमतमा पारी सत्ताबाट निकाल्ने षड्यन्त्र भएको र दक्षिण पश्चिमका दलालहरू शासनमा रुढ हुँदै कलिलो बहुदलीय प्रजातन्त्र संघीय लोकतान्त्रिक गणतन्त्र अस्थिर बनाउँदै आएको’ भनी अर्का व्यक्तिले थपे । मुखमा मास्क लगाएका ति व्यक्तिको आवाज सुनेजस्तो, चिनेजस्तो लाग्यो । मास्क खोली देख्न पाए हुन्थ्यो भनँे । उनले मास्क खोले, जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पो रहेछन् ।

मोदी जनकपुर आउँदा उनको स्वागत गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली गएको र त्यहाँ सम्बोधनका क्रममा मोदीले ‘पानी र जवानी को ही नहि रुकेगा’ भनी नेपाललाई व्यंग्य गरेका थिए । त्यसपछि ओलीले ओलीले रामको जन्मभूमि नेपालको चितवन भएको बताए । भारतले नेपाली भूमि कालापानी, लिम्पयाधुरा र लिपुलेकमा पक्की सडक निर्माण गरी उद्घाटन हुँदा त्यो भूमि नेपालको हो, भारतले फिर्ता गनुपर्छ भनि चुच्चे नक्सा जारी गरे । यस्तै खेल खेल्दा दलालहरूले केपी शर्माको पद नै खारेज हुन पुगेको हो कि भन्ने लाग्ने गरेको कुरा केसीले बताए । त्यसैको जवाफमा यो भ्रमणमा मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीले पनि उत्तिकै खुसी भएको भन्दै व्यंग्यात्मक दावी गरेका छन् । वुद्धको जन्मभूमि नेपालको लुम्बिनी हो भन्ने ज्ञान प्राप्त गरेको भारतीय भूमि हो भन्न भ्याएका छन् । हाम्रो देशका नेतृत्वमा कहिले स्वविवेकले राज्य संचालन गर्ने त्यस्ता नेतालाई सवै पार्टीका तह तप्काले सहयोग गर्ने गरी राष्ट्रियता जाग्ला र दलालगिरी जाला भन्ने चिन्ता अध्यक्ष केसीले व्यक्त गरेका थिए ।

‘अध्यक्षज्यु यता केही कार्यक्रममा आउनु भएको हो ?’ मैले सोधेँ । उनले छोरीको घर यही भएको र त्यहीँ बस्ने गरेको बताए । सांसददेखि उपप्रधानमन्त्रीसमेत बनेका उनले घर बनाएका छैनन् । बस्ती सरेका छैनन् । ‘सात वर्ष पढाएपछि मावि स्थायी शिक्षक जागिर छोडेर राजीनामा पूर्णकालीन भएँ । तलब–भत्ता सबै पार्टी बनाउन खर्च भयो । आजकाल कहिले प्रतिपक्ष, कहिले सत्तापक्ष भएका कम्युनिष्टहरू कमाउनिष्ट भएका छन् । हुन त म पनि एउटा पार्टीको अध्यक्ष भएको छु । ३२ वर्ष संसद् र सरकारमा उपस्थित कम्युनिष्ट पार्टीहरूका नेता कार्यकर्ता गति र प्रगति हेर्ने हो भने लाज लाग्छ’ भन्दै केसी सबैभन्दा बिदा माग्दै ओलिएर छोरीको घरतिर लागे ।

म भने बसको लामो यात्रामा समय बिताउन सोनु गुरुङको ‘लहरा पहरा’ निबन्ध संग्रह पढ्न थालेँ । नेपालगञ्ज पुग्दासम्म पुस्तकका सबै निबन्ध पढिसकियो । कलात्मक तरिकाले निबन्ध सजाइएको थियो । पढ्दा आनन्द आयो ।

नेपालगन्ज पुगेपछि म थकान मेट्न ठूली छोरी सोमताको घर जान भिन पुष्पलाल चोकबाट इरिक्सा बढेँ । धम्बोझीम एकजना केटा आएर म बसेको रिक्सामा बस्यो । बिपीचोकमा पुगेर केटो उत्रियो । म भने त्यहा“बाट पूर्व छोरीको घर नजिक पुगेर रिक्सालाई भाडा दिएर पठाएँ । छोरीको घर गएर गोजी छाम्दा त मोवाईल छैन । महँगो मोबाइल नै हरायो । दुई वर्ष अगाडि भाइ कान्छाको छोराको विवाह वागेस्वरी मन्दिरमा हुँदा गोजीबाट मोबाइल हराएको थियो । यसपटक पनि नेपालगन्ज पुगेकै बेला हरायो । तर पछुताउनुबाहेक मसँग अर्को विकल्प थिएन ।

प्रकाशित मितिः   ८ आश्विन २०७९, शनिबार ०५:०७