तोकिए निर्वाचन अधिकृत

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भएसँगै निर्वाचन आयोग जनशक्ति व्यवस्थापनमा जुटेको छ । आयोगले निर्वाचन क्षेत्रमा खटिने प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । यही असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिएका हुन् । आयोगले देशभरका प्रतिनिधि सभातर्फ एक सय ६५ र प्रदेश सभातर्फ तीन सय ३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको हो । जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रतिनिधि सभाका १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरिएको छ । आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्याललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने सहरी विकास मन्त्रालयका उपसचिव (कानुन) उपेन्द्रकेशर खनाललाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । त्यस्तै, प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा जिल्ला न्यायाधीश बलराम लम्साल मुख्य न्यायाधीश नियुक्त भएका छन् भने उच्च अदालत सुर्खेतका उपरजिष्ट्रार सरोजनिधि वाग्लेलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेका कर्णाली अन्य आठ जिल्लामा एक÷एक जना मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रका लागि छुट्टै निर्वाचन अधिकृतहरू तोकिएको छैन । यीनै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कार्यक्रमको जिम्मेवारी हेर्ने छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने र यसबारे आयोगको वेबसाइटमा गइ आवश्यक जानकारी लिन सकिने जनाइएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पाय पर्ने स्थानमा हुने गरी निर्णय गरिसकेको छ । सुर्खेत क्षेत्र नं. १ को गुर्भाकोट नगरपालिकामा र क्षेत्र नं. २ को वीरेन्द्रनगर नगरपालिकामा कार्यालय स्थापना गरिने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाए ।

निर्वाचन कार्यक्रमका लागि अन्य आवश्यक जनशक्तिको व्यवस्थापनको पनि तयारी भइरहेको आयोगले जनाएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि जनशक्ति व्यवस्थापनको गृहकार्य थालिएको छ । निर्वाचनका लागि सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम गरिएका छन् । ती केन्द्र र स्थलका लागि दुई हजार पाँच सय जना कर्मचारी आवश्यक पर्ने प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए । उक्त जनशक्ति व्यवस्थापनका लागि जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण संकलन गरिरहेको जानकारी दिए । असोज ११ गते निर्वाचन अधिकृतको नियुक्ती, २१ गते कार्यालय स्थापना र २३ गते मनोनय दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

प्रकाशित मितिः   ७ आश्विन २०७९, शुक्रबार ०५:०४