खोजिएन रासायनिक मलको विकल्प

सुर्खेत: वीरेन्द्रनगर–३ का श्याम पुरीले व्यावसायिक तरकारी खेति गर्न थालेको तीन दशक नाघ्यो । उनले मौसमी तथा बेमौसमी तरकारी खेति गर्दै आएका छन् । सुरुवातीका केही वर्ष पुरीले दैलेखको गुराँस गाउँपालिकास्थित गुराँसेमा पनि तरकारी खेति गरे । २०५३ सालदेखि व्यावसायिक खेतिमा लागेका उनले पछिल्ला वर्षहरूमा वीरेन्द्रनगरमै जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्छन् । पुरीले तरकारीमा रोगकिरा नष्ट गर्न र उत्पादन बढाउन रासायनिक विषादीको प्रयोग गर्दै आएका छन् । दुुई विघाह जमिन भाडामा लिएर बाह्रै महिना तरकारी उत्पादन गर्ने बारीमा प्राङ्गारिक मल र विषादीको प्रयोग गर्न नखोजेको भने होइनन् । पुरी भन्छन्, ‘प्राङ्गारिक मल र किटनासक औषधि उत्पादनमा किसानको प्रयासले मात्र सम्भव छैन । यसमा सरकारको ठोस योजना आवश्यक छ ।’ उनले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको आधार तयार गर्न सुरु गरेका अर्गानिक प्रवद्र्धनका कार्यक्रम प्रभावकारी नभएको समेत बताए । सरकारले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्ने भन्दै आए पनि त्यसको विकल्प खोज्न नसकेको उनको भनाइ छ ।

वीरेन्द्रनगर–४ की रम्भा गिरी पनि व्यावसायिक रूपमा तरकारी खेति गर्छिन् । उनले आफूले अर्गानिक उत्पादनमा जोड दिँदै आएको बताइन् । गिरीले तरकारी खेति गर्न थालेको पाँच वर्ष भयो । सुरुवातीमा रासानिक मलको प्रयोग गरेपनि अहिले प्राङ्गारिक मल हालेर तरकारी उत्पादन गरिरहेको उनले बताउँछिन् । आफूले गाईवस्तुको गोबरबाट प्राङ्गारिक मल उत्पादन र बिक्री वितरणसमेत गर्दै आइरहेको जनाइन् । ‘तरकारी खेतिमा अहिले पनि अधिकांशले रासायनिक मल र विषादीकै प्रयोग गर्ने गरेका छन्,’ उनले भनिन्, ‘आफै प्राङ्गारिक मल उत्पादन गर्न त्यति सहज छैन ।’ खेतिबालीमा युरिया मल र रासायनिक विषादी प्रयोग गर्नु किसानको रहर नभइ बाध्यता रहेको उनी बताउँछिन् ।

दैलेखको दुल्लू नगरपालिका–१० का दिपबहादुर थापाले व्यावसायिक तरकारी खेति गर्न थालेको एक दशक हुन थाल्यो । उनले गाउँघरमै प्राङ्गारिक मल पाइने भएपनि बारीमा त्यसको प्रयोग गर्दैनन् । रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्ने विश्वासका कारण थापाले प्राङ्गारिक मल तरकारी खेतिमा हालेका छैनन् । उनी भन्छन्, ‘धेरै पटक कम्पोष्ट मलको प्रयोग गरेर पनि हेरेँ, न उत्पादन बढ्यो न त रोगकिरा नियन्त्रणमा आए । त्यसपछि फेरि रासायनिक मल र विषादीको प्रयोग गर्न थाले ।’

तरकारी खेतिमा मल र विषादीको प्रयोगबारे यी केही व्यवसायी किसानका अनुभव हुन् । प्रतिनिधि यीनै किसानका अनुभवले पनि रासायनिक मलप्रतिको आकर्षण र प्राङ्गारिक उत्पादनमा चुनौति रहेको देखाउँछ । कर्णाली सरकारले प्रदेशलाई अर्गानिक उत्पादनको हब बनाउन विभिन्न कार्यक्रम र योजना ल्याएको छ । अनुभवी किसानहरू भने सरकारको अर्गानिक प्रदेश बनाउने योजना कार्यान्वयन सहजै सम्भव नरहेको बताउँछन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरकारको नीति र कार्यक्रमको प्रभावले पछिल्ला वर्षहरूमा प्राङ्गारिक मलको प्रयोग बढ्दै गइरहेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रासायनिक मलको प्रयोगमा कमि आउँदै गएको जिकिर गरे । यद्यपि, मन्त्रालयसँग प्राङ्गारिक मलको प्रयोगको अवस्थाबारे यकिन तथ्याङ्क भने छैन । ‘अबको केही दिनमा सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजनामा छौँ,’ उनले भने, ‘बजेट र कार्यक्रममा यस विषयले प्राथमिकता पाएको छ ।’
मन्त्रालयले रासायनिक मलको प्रयोग घट्दोक्रममा रहेको बताए पनि प्रदेशका अधिकांश जिल्लामा अहिले पनि कृषि उत्पादनमा यही मलको माग हुँदै आएको छ । रासायनिक मलको माग अत्यधिक रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठले बताए । उनका अनुसार गतवर्ष सात हजार मेट्रिक टन रासायनिक मल माग भएकोमा १८ सय मेट्रिक टन मल उपलब्ध भएको थियो । चालु आर्थिक वर्षको यो अवधिसम्म किसानहरूलाई तीन सय मेट्रिक टन रासायनिक मल मात्रै उपलब्ध गराइएको श्रेष्ठले बताए । यो वर्ष मागअनुसार आपूर्ति नहुँदा धेरै किसानले रासायनिक मल पाउन नसकेका हुन् । प्रदेश सरकारको नीति रासायनिक मलको प्रयोग न्यूनीकरण गर्ने भएपनि त्यसअनुसारको विकल्पको खोजि भने हुन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् । यहाँका हिमालीबाहेकका जिल्लाहरूमा अहिले पनि सबैजसो कृषि बालीमा रासायनिक मलकै प्रयोग अधिक हुने गरेको छ । उत्पादन बढ्ने र रोगकिराको निदान समेत सजिलै हुने देखिएपछि किसानहरू यसतर्फ नै बढी आकर्षित हुँदै आएका छन् ।

कर्णाली वायो इनर्जी एण्ड अर्गानिक फर्टिलाइजर प्रा.लि. का सञ्चालक टिकाराम न्यौपानेले प्राङ्गारिक मल उत्पादनमा निजी क्षेत्रको भूमिका समेत महŒवपूर्ण हुने बताए । प्राङ्गारिक मल उत्पादनका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा ठूला उद्योग सञ्चालन गर्नुपर्ने उनी बताउँछन् । खेतिबालीमा प्राङ्गारिक मल हाल्न चाहने किसानले पनि सजिलै पाउन सक्ने अवस्था नरहेको न्यौपानेले जनाए । ‘कर्णालीमा प्राङ्गारिक मल उत्पादनमा निकै चुनौती देखिन्छ,’ उनले भने । न्यौपानेले आफ्नो उद्योगमा प्राङ्गारिक मल उत्पादनका लागि गाईभंैसीको गोबर, कुखुराको मल, तोरीको पिना, काठको धुलो, कृषि चुना, डिकम्पोजर÷ईएम, बाख्राको मल, खरानी र सडेगलेका कृषि उत्पादन तथा घरायसी फोहोरलगायतको प्रयोग गर्ने गरेको बताए । रासायनिक मलको प्रयोगले तत्कालको लागि उत्पादन बढेपनि यसले दीर्घकालीन रूपमा माटोको उर्बरा शक्ति र मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने उनले बताए ।

सरकारले प्राङ्गारिक मल उत्पादनका किसान लक्षित केही साना कार्यक्रमहरू सञ्चालन गरेको छ । त्यसका लागि ठूला उद्योग सञ्चालन नभएसम्म अर्गानिक प्रदेशको आधार तयार गर्नै कठिन हुने किसानहरूले बताएका छन् । कर्णाली सरकारले अहिले प्राङ्गारिक मल उत्पादन बढाउन भकारो सुुधारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएपनि त्यसको उपलब्धी भने उल्लेखनीय रूपमा देखिएको छैन । सरकारले पाँच वर्षको अवधिमा विषादी परीक्षण प्रयोगशाला समेत स्थापना गर्न सकेको छैन । प्राङ्गारिक खेति प्रवद्र्धनका लागि ल्याएका कार्यक्रम कनिका छरेको जस्तै भएको किसानहरूको गुनासो छ । वास्तविक किसानलाई सरकारका कार्यक्रमले प्राङ्गारिक मलको महŒवसमेत बुझाउन नसकेको व्यावसायिक तरकारी खेति गर्दै आएका किसानहरूले बताएका छन् । प्राङ्गारिक मल उत्पादन गर्न झन्झटिलो हुने भएकाले पनि किसानहरूले यसप्रति कमै चासो दिने गरेका छन् । रासायनिक मल र विषादीजस्तो सर्वसुलभ रूपमा प्राङ्गारिक मल नपाउँदा पनि प्रयोग बढ्न सकेको छैन ।

प्रकाशित मितिः   ४ आश्विन २०७९, मंगलवार ०५:०५