सुर्खेतमा एक सय ९३ मतदान केन्द्र

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका लागि मतदान केन्द्र र स्थल तोकिएका छन् । जसअनुसार सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम गरिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान केन्द्र सुर्खेत र कम हुम्लामा रहेका छन् । नौ वटा पालिका रहेको सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन कार्यालययका अनुसार कर्णालीका १० वटा जिल्लामा गरी कूल एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल तोकिएको छ ।

सल्यानमा दुई सय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एक सय १७ रहेको छ । यस्तै, मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् भने जुम्लामा एक सय ६ केन्द्र र स्थलको संख्या ८३ रहेको छ । कालीकोटमा एक सय २३ केन्द्र र एक सय तीन स्थल कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जाजरकोटमा एक सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा दुई सय सात केन्द्र रहेकामा एक सय ३९ स्थल कायम गरिएको छ । त्यसैगरी, रूकुम–पश्चिममा एक सय ३९ केन्द्र र ७६ स्थल रहेका छन् । कर्णालीमा जम्मा मतदान स्थल नौ सय ३३ र मतदान केन्द्र एक हजार चार सय तीन कायम गरेको आयोगले जनाएको छ । यहाँ महिला र पुरुष गरी १० लाख आठ हजार तीन सय चार जना मतदाता छन् । कर्णालीमा प्रतिनिधिसभाका १२ र प्रदेशका २४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मितिः   ४ आश्विन २०७९, मंगलवार ०५:०२