डेंगुबाट २० जनाको मृत्यु

सुर्खेत: देशभरी अहिले डेंगु महामारी बन्दै गएको छ । डेंगुबाट डेढ महिनामा देशभरी सात जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका सात जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन् ।

‘हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ’ उनले भने । प्याकुरेलका अनुसार डेंगुबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेको समेत बताए । नेपालमा २०७६ सालमा पनि डेंगु तीव्र गतिमा फैलिएको थियो । त्यतिखेर काठमाडौं उपत्यकासहित देशभरि गरेर १९ हजारलाई डेंगु देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो । तर यसपटक डेंगुका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको उनले बताए । यसपटक डेंगुका बिरामीलाई कडा लक्षण देखिएको पाइएको समेत उनले बताए ।

इडिसिडीका अनुसार हालसम्म डेंगु संक्रमितको संख्यासमेत १६ हजार सात सय ८७ जना पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा हाल १२ हजार चार सय एक जना डेंगुका बिरामी रहेका छन् । गण्डकी प्रदेशमा तीन सय २२ जना, लुम्बिनी प्रदेशमा दुई हजार चार सय २२ जना, प्रदेश १ मा पाँच सय चार जना, मधेश प्रदेशमा दुई सय ४२ जना, कर्णाली प्रदेशमा दुई सय तीन जना र सुदूरपश्चिम प्रदेशमा चार सय ९३ जना बिरामी रहेका छन् ।

प्रकाशित मितिः   ४ आश्विन २०७९, मंगलवार ०५:०१