पश्चिम सुर्खेतमा बाढीपहिरोले क्षति

विपत्तिको कहरमा तीन पालिका, सयौँ परिवार विस्थापित, सतर्कता अपनाउन प्रशासनको अपिल

सुर्खेत: पश्चिम सुर्खेतका तीन वटा स्थानीय तहमा बाढीपहिरो र डुबानले भौतिक संरचनासँगै पशुचौपायाको ठूलो क्षति गरेको छ । शुक्रवारदेखिको अविरल वर्षाका कारण बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरो आएको हो । वर्षातको विपत्तिले ती पालिकाहरूमा सयौँ घरधुरी विस्थापित भएका छन् । प्रहरीका अनुसार तीनवटै पालिकामा मानवीय क्षति भने भएको छैन । यद्यपि, बाढी र पहिरो प्रभावित क्षेत्रहरूको शनिवार साँझसम्म विवरण संंकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

बाढी र पहिरोले पञ्चपुरीका विभिन्न वडामा गरी ५० भन्दा बढी घर पूर्णरूपमा क्षति भएको स्थानीयले बताएका छन् । पञ्चपुरी नगरपालिका–९ मा बाढीले धेरै क्षति पु¥याएको सोही वडाका वासिन्दा कमलकृष्ण पौडेलले जनाए । उनका अनुसार उक्त वडामा झन्डै ३५ घरमा बाढीले क्षति गरेको छ । त्यहाँका विस्थापित परिवारहरू आफन्तको घरमा बसेका छन् । विद्यापुर बजारदेखि भेरीपुल जोड्ने सडक ठाउँ–ठाउँमा अवरोध छ । वडा नं. ९ मै बाढी र पहिरोका कारण पशुचौपायसमेत मरेका छन् । गुटु, विद्यापुर र कोकली खोलाले करिब ७० विघाह धानबालीमा क्षति पुुगेको बताइएको छ । पौडेलका अनुसार ४५ भन्दा बढी परिवारले लगाएको धानखेतिमा बाढीले नोक्सान गरेको हो । पञ्चपुरीमा भैंसी, गाई, गोरु र बाख्रा गरी दर्जनभन्दा बढी चौपाया गोठमै पुरिएर मरेका छन् । सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पशुचौपायाको उद्धार गरेका थिए । पञ्चपुरी–९ मा दश वटा घर अझै बाढी र पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ ।

पञ्चपुरीकै वडा नं. ५ को चेपाङमा पनि अविरल वर्षात्ले ठूलो क्षति भएको छ । बाढी पहिरोका कारण त्यहाँ २८ घरधुरी विस्थापित भएका छन् । विस्थापित परिवार छेउलीमा रहेको प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन् । यो वडामा पनि पशुचौपायको ठूलो क्षति भएको बताइएको छ । पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले अझै पनि क्षतिको पुरै विवरण आउन बाँकी रहेको जनाए । ‘पटक–पटक वर्षात् भइरहेकै छ । बाढी पहिरोको जोखिम कायमै छ । बाढीले खेतीबारीमा बढी असर गरेको उनको भनाइ छ ।

बराहताल गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा पनि बाढी पहिरोले उस्तै कहर निम्तिएको छ । ती वडाहरूमा पनि दर्जनौ घर क्षति भएका छन् भने थुप्रै परिवार विस्थापित भएका छन् । गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले भेरी नदी किनारका कतिपय बस्तीहरू अझै पनि बाढीको उच्च जोखिममा रहेको जनाए । वडा नं. ४ को केलाडीमा केही पशुचौपाय मरेका छन् । अध्यक्ष भण्डारीले केलाडीका १० घरधुरी पहिरोको अहिले पनि जोखिममा रहेको बताए । यकिन विववरण नआइसके पनि बराहततालका ४०÷४५ घरधुरीमा क्षति पुगेको छ । त्यहाँका विस्थापित परिवार खुल्लाचौर र विद्यालयमा बसिरहेको बताइएको छ । विस्थापित परिवारलाई खाद्यान्न तथा आवश्यक लत्ताकपडा जुटाउन समस्या भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘केही खाद्यान्न पालिकाले उपलब्ध गराएको छ, लत्ताकपडाको व्यवस्थापनमा पनि जुटिरहेका छौँ,’ उनले भने । त्यहाँका थुप्रै सडकहरूमा समेत पहिरो खसेर अवरोध भएको छ । बराहतालको वडा नं. ३ र ४ का सडकहरूमा ठाउँ ठाउँमा पहिरो खसेको छ ।

त्यस्तै, चौकुने गाउँपालिकाको वडा नं. ८ भाम्लेमा बाढीपहिरोले सात घर पूर्णरूपमा क्षति भएका छन् । गाउँपालिकाका अध्यक्ष खड्क विकले पशुचौपायामा समेत ठूलो क्षति पुुगेको जनाए । चौकुने ९ को रागखराल टोलका आठ घर भत्किएका छन् । सो ठाउँमा बाढीले झन्डै दुुई सय विगाह खेत बगर बनेको अध्यक्ष विकले जानकारी दिए । पालिकामा अझै पनि दर्जनौँ घर पहिरोको उच्च जोखिममा छन् । वडा नं. ३ को सोभानचौर, केलाडी, थारगाडी र जामुने पनि पहिरोको जोखिममा रहेका हुन् । माउरी वनमा बेतान खोला र सोति खोलाले खेतबारी नोक्सान गरेको छ । गाउँपालिकाका ५५ घरधुरी विस्थापित भएको बताइएको छ । विस्थापितहरू खुल्ला चौरमा पाल टाँगेर बसिरहेका छन् । उनीहरूलाई खाद्यान्नको व्यवस्थापन गाउँपालिकाले गरिदिएको छ ।

भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा मनसुनजन्य विपद्का घटना भइरहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ । प्रशासनले शनिवार एक सूचना जारी गर्दै आगामी केही दिनसम्म पनि वर्षात्को सम्भावना रहेकाले नदी तटिय क्षेत्र र भिरालो जमिन भएका ठाउँमा सतर्कता अपनाउन भनेको हो । बाढी पहिरो र डुबानजस्ता विपद्का समस्या आइपरे स्थानीय तह, प्रहरी र रेडक्रस तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाले कर्णाली प्रदेशका कतिपय क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मितिः   २ आश्विन २०७९, आईतवार ०५:०८