चुनावी अंकगणितः हुम्ला

बलियो गठबन्धनसँग एमालेको प्रतिस्पर्धा

सुर्खेत – २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हुम्लाले ‘सरप्राइज’ दियो । प्रमुख दलका उम्मेदवारहरूलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्यमा चुनिए ।

लामासँगको चुनावी मैदानमा एकातिर दुई ठूला दल नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेर संयुक्त उम्मेदवार अघि सारेका थिए भने अर्कातर्फ अर्को प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार पनि कमजोर थिएनन् । तर सबैलाई छक्क पार्दै छक्कबहादुर लामाले बाजी मारे ।

उक्त निर्वाचनमा सबैभन्दा कम मतान्तरले हारजित भएको जिल्ला पनि हो, हुम्ला । विजेता लामाले आठ हजार चार सय ९१ मत पाउँदा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीले आठ हजार चार सय ४४ मत पाएका थिए । अर्थात् नतिजामा जम्मा ४७ मतअन्तर परेको थियो । गठबन्धनका छिमी दोर्ची लामाले भने दुई हजार आठ सय ५६ मत मात्रै पाए ।

लामा २०४८ सालमा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनी संयुक्त जनमोर्चा नेपालका उम्मेदवार थिए । त्यसपछि २०५१ मा नेपाली कांग्रेसका चक्रबहादुर शाही निर्वाचित भए । त्यसको पाँच वर्षपछि २०६५ को आम निर्वाचनमा नेकपा (एमाले) का गोरखबहादुर बोगटीले बाजी मारे । २०६४ मा भएको संविधान सभाको निर्वाचनमा भने हुम्लावासीले नेकपा (माओवादी केन्द्र)का कर्णजीत बुढाथोकीलाई रोजे । पहिलो संविधान सभाबाट संविधान बन्न नसकेपछि दोस्रो पटक २०७० मा पुनः निर्वाचन हुँदा नेपाली कांग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका थिए । पछिल्लो तीन दशकमा हुम्लाको निर्वाचन नतिजा फेरबदल हुँदै आएको छ ।

फेरिएको समीकरण

पाँच वर्षे अवधि पार गरेर निर्वाचन फेरि फर्किएको छ । आगामी मंसिर ४ गते एकैपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिँदै जाँदा यसपटक के होला भन्ने चासो सर्वत्र छ ।

बदलिएको राजनीतिक घटनाक्रम र फेरिएको समीकरणले आगामी निर्वाचनको परिणामलाई पनि फेरबदल गर्न सक्दछ । अघिल्लो चुनावमा गठबन्धन गरेर संयुक्त उम्मेदवार बनाएका एमाले र माओवादी यसपटक सँगै हुने छैनन् । बरु माओवादी र कांग्रेसको गठबन्धनसँग एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्नुपर्ने छ ।

दलगत हिसाब हेर्दा हुम्लामा प्रमुख तीन दलको शक्ति बराबरजस्तै छ । तर माओवादी र कांग्रेसको गठबन्धन हुँदा निकै बलियो हुन्छ । उक्त गठबन्धन तोडेर जित हात पार्न एमाले वा अन्य दललाई सजिलो हुनेछैन । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पालिका प्रमुखका उम्मेदवारले पाएको मतपरिणामलाई हेर्ने हो भने जिल्लामा गठबन्धनले पाएको मत १४ हजार ६ सय ६२ छ । एमालेको मत त्यसको आधाभन्दा पनि कम छ । एमालेका उम्मेदवारले ६ हजार नौ सय ९३ मत मात्रै पाएका छन् । यसहिसाबले गठबन्धनसामू एमाले निकै कमजोर देखिन्छ । जिल्लाका सात पालिकामध्ये एमालेले एउटा पनि जितेको छैन ।

प्रमुख तीन दलबाहेक अन्य दल हुम्लामा निकै नै कमजोर अवस्थामा छन् । अघिल्लो चुनावमा प्रमुख तीन दलबाहेकका अन्य कुनै पनि दलका उम्मेदवार पाँच सय मत कटाउन सकेका थिएनन् । यसपटक पनि उनै शीर्ष दलबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

सम्भावित उम्मेदवार

एमालेले प्रतिनिधिसभा सदस्यका लागि दल रावललाई उम्मेदवार सिफारिस गरेको छ । उनी अघिल्लो निर्वाचनमा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) बाट विजयी भएका थिए । रावल कणाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री समेत हुन् । यसपटक भने उनले प्रतिनिधिसभामा जान चाहेका छन् । पार्टीले प्रतिनिधिसभा सदस्यका लागि रावलको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनबाट को उम्मेदवार बन्ने भन्ने टुँगो लागेको छैन । हुम्ला कुन दलको भागमा पर्छ भन्ने नै निश्चित भइसकेको छैन । गठबन्धनभित्र विशेष गरेर कांग्रेस र माओवादीबीच आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई प्रतिनिधि सभासहित प्रदेशसभातर्फ पनि सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस भएका शाही प्रदेश सभातर्फ पनि पहिले निर्वाचित भएकै क्षेत्रबाट एकल सिफारिसमा परेका छन् । भागबण्डामा प्रतिनिधिसभा कांग्रेसको भागमा परे प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवार बन्ने गरी शाहीले सिफारिस मिलाएका हुन् ।

माओवादी केन्द्रले भने तीन जनाको नाम सिफारिस गरेको छ । जसमा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री छिरिङ्ग डम्डुल लामा (कार्चेन), अकिल बुढा र प्रेमबहादुर शाही छन् । तर अघिल्लो निर्वाचनमा पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेर चुनाव जितेका छक्कबहादुर लामा भने सिफारिसमा परेका छैनन् । उनी निकट स्रोतका अनुसार लामा पुनः स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रदेशको परिदृष्य

प्रदेशसभातर्फ हुम्लामा दुई वटा निर्वाचन क्षेत्र छन् । २०७४ मा दुईमध्ये एउटामा गठबन्धनबाट एमालेका उम्मेदवार र अर्कोमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

ताजाकोट, सर्केगाड, चंखेली, अदानचुली गरी चार वटा पालिका रहेको क्षेत्र नं. १ (क) बाट एमालेका दल रावल निर्वाचित भएका हुन् । उनले सात हजार एक सय ५८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ठानबहादुर रोकायले चार हजार आठ सय ११ मत पाएका थिए । तर यसपटक भने पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर नतिजा दोहो¥याउन एमालेलाई निकै मुस्किल देखिन्छ । यो क्षेत्रमा रहेका चार वटै पालिकामा एमाले कमजोर छ ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा चार वटै पालिकामा सत्तारुढ गठबन्धनले तालमेल गर्दा एमाले एक्लै प्रतिस्पर्धामा थियो । चामध्ये दुई वटामा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । पालिका प्रमुखले पाएको मतका आधारमा गठबन्धले आठ हजार पाँच सय दुई मत पाउँदा एमालेको मत त्यसको आधा पनि छैन । एमाले उम्मेदवारहरूले पाएको मत तीन हजार तीन सय ६३ छ ।

२०७४ को स्थानीय निर्वाचनमा यो क्षेत्रबाट एमालेले चार हजार मत पाएको थियो । त्यसको पाँच वर्षपछिको निर्वाचनमा भने उक्त मत घटेको देखिन्छ । यसरी घटेको मत एमालेबाट टुक्रिएर बनेको नेकपा(एकीकृत समाजवादी) तिर गएको मत हो । वडा अध्यक्षहरूले पाएको मतअनुसार एकीकृत समाजवादीको सात सय ५५ मत रहेको छ ।

सम्भावित उम्मेदवारहरू

प्रदेश सभा सदस्यका लागि एमालेले यो क्षेत्रबाट दलबहादुर फडेराको एकल नाम सिफारिस गरेको छ । एमालेले फडेराको एकल नामा सिफारिस गरेको छ भने कांग्रेस र माओवादीले तीन÷तीन जना सिफारिस गरेका छन् ।

कांग्रेसले मंगलबहादुर शाही, अर्जुन महतारा र मानदेव शाहीलाई सिफारिस गरेको छ । गठबन्धनबाट यो क्षेत्र कांग्रेसको भागमा परेको खण्डमा मंगलबहादुर शाही उम्मेदवार हुने सम्भावना बलियो रहेको जिल्लाका नेताहरू बताउँछन् । उनी अघिल्लो पटक प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

माओवादीबाट भने डा. दिपेन्द्र रोकाय सम्भावित उम्मेदवार हुन् । भागबन्डामा माओवादीले पाएको खण्डमा कर्णाली प्रदेश योगजना आयोगका पूर्व सदस्यसमेत रहेका रोकाय उम्मेदवार हुनसक्नेछन् । यद्यपि उनीसँगै रनसिंह परियार र मानबहादुर थापा पनि प्रदेशसभा सदस्यका लागि माओवादीबाट सिफारिसमा परेका छन् ।

दोहोरिएलान् शाही ?

निर्वाचन क्षेत्र नं. १ (ख) मा कांग्रेसले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको एकल नाम सिफारिस गरेको छ । उनी अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । शाहीले चार हजार पाँच सय १९ मत पाएर विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका विजय भण्डारीले तीन हजार नौ सय ९५ मत पाएका थिए ।

प्रतिनिधिसभा कांग्रेसको भागमा नपरेको खण्डमा शाही प्रदेशसभाको उम्मेदवार हुने लगभग पक्का छ । त्यसैले उनले दुवैतर्फ आफ्नो नाम सिफारिस गराएका छन् । अघिल्लो पटक गठबन्धनलाई एक्लै हराएका शाहीलाई यसपटक माओवादीको साथमा चुनाव जित्न असहज छैन ।

यो क्षेत्रबाट एमालेले छिमी दोर्जे लामा, कमल बोहरा, डल रावल र उत्तम लामालाई सिफारिस गरेको छ भने माओवादी केन्द्रले छिरिङ डम्डुल लामा, मंगल लामा, बलि रावल र प्रेमबहादुर शाहीको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र(ख) मा तीन पालिका छन् । गत स्थानीय निर्वाचनमा तीनमध्ये दुई वटामा माओवादी र एउटामा कांग्रेस विजयी भएको छ । पालिकाका प्रमुखहरूले ल्याएको मतअनुसार गठबन्धनले ६ हजार एक सय ५८ मत पाएको छ । एमालेले भने तीन हजार पाँच सय ७६ मत पाएको छ ।

विगतका निर्वाचनको मतपरिणामलाई आधार मानेर हेर्दा हुम्लाको चुनावी अंकगणित गठबन्धनको पक्षमा देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन निकै बलियो छ ।

प्रकाशित मितिः   २ आश्विन २०७९, आईतवार ०५:०५