हरियाली जोगाऊ

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक विस्तार गर्न थालिएको छ । सडक विस्तारका लागि फुटपाथमा बनाइएका संरचनाहरूसँगै त्यहाँका बिरुवासमेत हटाइएको छ । नगरपालिकाले सडक विस्तार क्षेत्रमा पर्ने बिरुवा हटाएपछि उक्त कदमको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । केहीले सडक विस्तारका लागि बिरुवा हटाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले बिरुवा जोगाएरै पनि सडक स्तरोन्नति गर्न सकिने तर्क अघि सारेका छन् । वर्षौ अघि लगाएर संरक्षण गरिएका बिरुवा हुर्किनै लाग्दा काटिँदा त्यसले बजार क्षेत्रको सौन्दर्य बिगारेको र पर्यावरणमा समेत असर पर्नेतर्फ कतिपयले सचेत गराएको देखिन्छ । यसरी विभिन्न कोणबाट बिरुवा संरक्षणको चिन्ता सार्वजनिक भएको छ ।

नगरपालिकाले मुख्य बजारमा पर्ने मंगलगढीदेखि गणेशचोकसम्मको सडक स्तरोन्नति गर्न लागेको हो । सडक साघुँरो भएपछि यसलाई विस्तार गरेर फराकिलो बनाउने योजना नगरपालिकाको छ । हाल आठ मिटर मात्रै चौडा यो सडकलाई १५ मिटरको बनाउन लागिएको हो । जुन अपरिहार्य छ । बजार क्षेत्रको सडक फराकिलो हुनु जरुरी छ । बढ्दो चापलाई मध्यनजर गर्दै यसलाई समयमै विस्तार गर्न सकिएन भने झन ठूलो समस्या निम्तिने छ । त्यसैले नगरपालिकाले थालेको कदम स्रहानिय छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सवारी र यात्रुको चाप दिनप्रति दिन बढ्दै छ । यसलाई थेग्न फराकिला बाटा, व्यवस्थित फुटपाथ, जेब्राक्रसिङलगायतका सुधार गर्नुपर्ने देखिन्छ । यसअघि नै हुनुपर्ने यस्ता काम अहिलेसम्म भएका छैनन् । यहाँको ट्राफिक व्यवस्थापन पनि चुस्त हुन सकेको छैन । सडकका फुटपाथ विभिन्न संरचना र व्यापारीका सामग्रीले ढाकिएका छन् । पैदल यात्रुलाई हिँड्नका लागि सहज छैन । यस्तो अव्यवस्थित अवस्थालाई बजारलाई कुरूप बनाएको छ ।

एकातिर नगरलाई व्यवस्थित गर्नुछ भने अर्कोतिर यहाँको हरियाली वातावरणको संरक्षण गर्नुपर्ने दायित्व पनि छ । विकासका नाममा पर्यावरण विनाश गर्नु हुँदैन । यसका लागि नगरपालिकाले ध्यान दिनु जरुरी छ । अहिले हटाइएका रुखलाई समेत व्यवस्थित रूपमा उखेलेर अन्यत्र सार्न सकिने अवस्था हुँदाहुँदै जसरी काटिएको छ त्यसले गर्दा चौतर्फी आलोचना भएको देखिन्छ । एउटा रूख हुर्काउन दशकौँ लाग्ने अवस्थालाई मध्यनजर गरेर रूखहरू सकेसम्म जोगाउने, भएका ठाउँबाटै हटाउनैपर्ने अवस्था आएमा त्यसलाई अन्यत्र सार्नेलगायतका विकल्पमा पनि ध्यान दिनु जरुरी हुन्छ । बाटो पनि विस्तार हुने र बिरुवा पनि नमासिने उपाय अबलम्बन गर्न नगरपालिका चुकेको छ । आगामी दिनमा यसतर्फ ध्यान दिन सके नगरपालिकाले आलोचना पनि खेप्नुपर्ने छैन भने, हरियाली जोगाउन पनि योगदान पुग्नेछ ।

प्रकाशित मितिः   २ आश्विन २०७९, आईतवार ०५:०२