निर्देशन कार्यान्वयन सन्तोषजनक

सुर्खेत: कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले पाँच वर्षीय कार्यकालमा गरेका कामहरू सार्वजनिक गरेको छ । यस अवधिमा समितिले सरकारलाई दिएका निर्देशन र सुझाव ७० प्रतिशत कार्यान्वयन भएको दाबी गरेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिनै लाग्दा शनिवार सामाजिक विकास समितिले पत्रकारहरूसँगको भेटघाटमा यस्तो जानकारी गराइएको हो । हालसम्म समितिले सरकारलाई दिएका निर्देशनमध्ये ३० प्रतिशत हाराहारी भने कार्यान्वयन नभएको बताइएको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारलाई अहिलेसम्म ७५ वटा निर्देशन तथा सुझाव दिएको छ । समितिका अध्यक्ष देवी ओलीले प्रदेश सरकारले गरेका कामकारबाही र जनजीविकाका सवालमा उठाइका आवाज तथा निर्देशनहरूको कार्यान्वयन सन्तोषजनक रहेको बताइन् । सरकार संसदीय समितिहरूप्रति अपेक्षित रूपमा उत्तरदायी र जिम्मेवार भने हुन नसकेको उनी बताउँछिन् ।

गएको झन्डै पाँच वर्षमा सामाजिक विकास समितिका कूल एक सय २४ वटा बैठक बसेका छन् । यी बैठकहरूले विधेयकमाथि छलफल गर्नुका साथै सार्वजनिक सरोकारसँग जोडिएका विषयमा सरकारलाई सचेत गराउने, निर्देशन दिने, सरकारका कामको अनुगमन तथा मूल्यांकन गर्ने काम गरेको छ । समितिले विधेयकहरू परिपक्क बनाउन नागरिकस्तरसम्म विभिन्न अन्तक्रिया र छलफलहरू पनि सञ्चालन गरेको अध्यक्ष ओलीले बताइन् । उनका अनुसार समितिले खासगरी कोभिड महामारीका बेला सरकारलाई दिएका निर्देशनहरू सबैजसो कार्यान्वयन भएका थिए । समितिले उठाएका केही सामाजिक मुद्दाहरूमा सरकारले बेवास्ता गरेको प्रतिवेदनमा उल्लेख । कर्णाली सरकारले बादी समुदायको व्यवस्थापन, सामाजिक कुरीतिविरुद्धका नीति निर्माण, लैंङ्गिक उत्तरदायी बजेट र यौनिक अल्पसंख्यक व्यक्तिहरूका लागि आवश्यक कार्यक्रम ल्याउन दिइएका निर्देशन भने सरकारले कार्यान्वयन नगरेको बताइएको छ । सामाजिक विषयहरूमा सरकारले कमै ध्यान दिने गरेको पाइएको समितिले जनाएको छ ।

प्रकाशित मितिः   २ आश्विन २०७९, आईतवार ०५:०२