दसैँ नजिकिएसँगै बढ्यो महँगी

सुर्खेत: चाडपर्व नजिकिएसँगै बजारमा महँगी बढेको छ । बजार भाउ बढ्दा उपभोक्ताहरू चिन्तित् बनेका छन् । अरु समयभन्दा चाडपर्वमा मीठो मसिनो किनमेल गर्नेहरूको चाप बढ्छ । यही समयको मौका छोपेर व्यापारीहरूले झनै मूल्य वृद्धि गर्छन् । यसपटक पनि खाद्यान्नदेखि लत्ताकपडाको मूल्य बढाउन थालिएको छ । गत वर्षको तुलनामा यस वर्ष चामल, दाल, पिठोलगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको उपभोक्ताहरूको गुनासो छ । बजारमा दैनिक उपभोग्य वस्तुमा महँगी बढेर छोइ नसक्नु भएको बताएका हुन् । वीरेन्द्रनगर–५ की सिर्जना सिंहले दसैँ नजिकिएपछि दाल, चालमलगायत दैनिक उपभोग्य वस्तुको बजार मूल्य झनै बढेको बताइन् । उनले भनिन्, ‘केही दिन पहिलेसम्म १६ सयमा किन्ने चामल अहिले दुई हजार २२ सय पुगिसक्यो । दाल, तेलको मूल्य पनि त्यसैगरी बढाइएको छ ।’

वीरेन्द्रनगर–६ की भगवती चासिले पनि महँगीले उपभोक्ताहरू मारमा परेको बताउँछिन् । उनले चामल र दालमा केजीमै १५ रूपैयाँसम्म बढेको बताइन् । चाडपर्व नजिकिँदै गर्दा महँगी झन् बढेको उनको भनाइ छ । उपभोक्ताहरूले केही समय अघि बोराको १५ सय पर्ने चामल अहिले १८ सय पुगेको बताएका छन् । बजारमा बासमती चालमको मूल्य अघिल्लो वर्षको तुलनामा केजीमा झन्डै ४० देखि ४५ रूपैयाँ बढेको छ । अहिले उक्त चामल प्याकमा दुई सय रूपैयाँ केजी बिक्री भइरहेको छ । यो चामल अघिल्लो वर्ष एक सय ५५ देखि एक सय ६० रूपैयाँसम्म बिक्री हुने गरेको थियो । त्यस्तै, पिठो र दालको मूल्य पनि पछिल्ला दिनमा निकै बढेको उपभोक्ताहरूले बताएका छन् । जिरा केजीमा ६० रूपैयाँले वृद्धि भएको छ । वीरेन्द्रनगरमा खाद्य तथा किनारा पसल गर्दै आएका टिकाराम कँडेल चालम, पिठोलगायतका खाद्य वस्तुमा मूल्य वृद्धि भएको बताउँछन् । उनले उद्योगहरूबाटै सामानको मूल्य बढेर आएको जनाए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले चाडपर्वमा बजारमा देखिनसक्ने बेथिति र महँगी नियन्त्रणमा संघले आवश्यक पहल गर्ने बताए । चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता ठगीमा पर्नेजस्ता समस्या नहुन भनेर संघ सचेत रहेको बताए । उनले चाडपर्वको बेला उपभोक्तालाई सकभर सहुलियत मूल्य र छुटका अवसर दिन समेत व्यवसायीहरूलाई अनुरोध गरे ।

आजदेखि सहुलियत पसल सञ्चालन

वीरेन्द्रनगरमा आज (शनिवार) देखि चाडपर्वलाई लक्षित गरेर सहुलित पसल सञ्चालन गरिने भएको छ । विगतका वर्षहरूजस्तै यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयले सहुलियत पसल राख्न लागेको हो । दसैँ, तिहार र छठपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन हुने कार्यालयले जनाएको छ । उक्त सहुलियत पसलमा सर्वसाधारण उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले बजार भाउभन्दा केही सस्तोमा खाद्य वस्तु उपलब्ध गराइने छ । कम्पनीको प्रादेशिक कार्यालयका सूचना अधिकारी बासुदेव रिजालका अनुसार चामलमा प्रतिकेजी सात रूपैयाँ छुट दिइने छ । कम्पनीले सहुलित बिक्री पसलमा पाँच प्रकारका चामल राख्ने छ ।

त्यस्तै, दालमा पनि प्रतिकेजि सात रूपैयाँ छुट दिइने बताइएको छ । सहुलियत पसलबाट अडहरको दाल एक सय ७१ रूपैयाँ केजी, मासको दाल एक सय ३८ रूपैयाँ केजी र मसुरोको दाल एक सय ४८ रूपैयाँ केजीमा उपभोक्ताले किन्न पाउनेछन् । यसैगरी, जुम्लाको सिमिमा बजार मूल्यभन्दा १० रूपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । गतवर्ष जस्तै कम्पनीले यसपालि पनि अनलाइनमार्फत खाद्यान्न खरिद गर्न र ई–सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्थासमेत मिलाएको छ । अनलाइन होमडेलभरी सेवाको पनि व्यवस्था रहेको र त्यसका लागि  nepalfood.gov.np/ मा गएर आफूले खरिद गर्न चाहेको सामान अडर गर्नुपर्नेछ ।

चाडपर्वमा चिनी र नुन सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतले भने सहुलियत पसल सञ्चालनका लागि केन्द्रबाट निर्देशन नआइसकेको बताएको छ । शाखा सुर्खेतका लेखापाल नवराज अकौलियाले अहिलेसम्म सहुलियत पसल सञ्चालनबारे कुनै जानकारी नआएकाले यसै भन्न सकिने अवस्था नरहेको जनाए ।

प्रकाशित मितिः   १ आश्विन २०७९, शनिबार ०५:०५