टेलिकमको सेवामा समस्या

सुर्खेत: कर्णालीका दुई जिल्लामा नेपाल टेलिकमको सेवामा केही दिनयता समस्या आएको छ । सुर्खेत र दैलेखका अधिकांश स्थानमा टेलिफोन सेवामा गडबढी देखिएको हो । दैलेखको भगवतीमाई गाउँपालिकामा एक महिनादेखि नेपाल टेलिकमको मोबाइल सेवा बन्द छ । टेलिकमको नेटवर्कले काम गर्दा त्यहाँका नागरिक लामो समयदेखि सम्पर्कविहिन भएका छन् । टेलिकमको लापरबाहीले सेवा सञ्चालन हुन नसकेको स्थानीयको आरोप छ । भगवतीमाईं गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले यसअघि पनि पटक–पटक टेलिकमको नेटवर्कमा खराबी आउने गरेको बताए । उनले भने, ‘यसैपनि यहाँ टेलिकमको टावरले राम्रो काम गर्दैन । त्यसमा एक महिनायता त झनै ठप्प भएको छ ।’ उनका अनुसार गत वर्ष पनि यसै महिना लामो समय टेलिकमको सेवा ठप्प भएको थियो । वर्षाको समयमा खोलानाला बढेर विपत्तजन्य घटना हुने र सञ्चारको साधनसमेत नहुँदा नागरिकहरूलाई निकै कठिनाइ भइरहेको उनको भनाइ छ । त्यहाँ सेवा सुधार गरेर भरपर्दो बनाउन नेपाल टेलिकमको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बताइएको छ ।

नेपाल टेलिकम दैलेख शाखाका प्रमुख शिवप्रसाद आचार्यले मौसमका कारण सेवामा केही समस्या आएको जनाए । ‘मौसमका कारण घाम नलागेपछि सोलार ब्याट्री डाउन हुँदा यस्तो समस्या देखिएको हो,’ उनले भने । यसबारे प्राविधिकको टोलिले अनुगमन समेत गरिसकेको उनले बताए । दैलेखका अन्य पालिकामा पनि नेपाल टेलिकमको सेवा दुई÷तीन दिनदेखि राम्रो नभएको बताइएको छ । स्थानीयका अनुसार दैलेखका पश्चिमी क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । पानी पर्ने वित्तिकै नेटवर्क हराउने गरेको आठबीस नगरपालिका–९ का अनिल सिजापतिले बताए । वर्षायाममा यस्तो समस्या अलि बढिनै हुने गरेको उनी बताउँछन् ।

सुर्खेतको पञ्चपुरी र चौकुने गाउँपालिकामा समेत नेपाल टेलिकमको टावरले राम्रोसँग काम गरेको छैन । बेला–बेला टावर आउने जाने गर्दा सञ्चार सम्पर्क गर्नै मुस्किल हुने गरेको छ । पञ्चपुरी नगरपालिका–२ की सम्झना विकले तीन दिनदेखि टावर छिन–छिनमा आउने जाने भइरहेको बताइन् । दुई दिनदेखि वीरेन्द्रनगरको बजार क्षेत्रमा समेत नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा भरपर्दो छैन । नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालयका अनुसार प्रदेशभर ८० प्रतिशत सोलार साइडबाट टेलिकमका टावर जडान गरिएका छन् । केही दिनदेखि घाम नलाग्दा ती सोलार चार्ज भएका छैनन् । प्रदेश कार्याल प्रमुख सनुज शाक्यले भन्छन्, ‘धेरै ठाउँमा टेलिकमले काम गर्ने भनेको सोलार मेनपावर हो । केही दिनदेखि घाम नलागेका कारण यस्तो समस्या देखिएको छ ।’ विशेष गरेर स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवामा खराबी आएको गुनासो आउने गरेको उनले बताए । सुर्खेतमा देखिएको समस्याबारे भने प्राविधिक कारण पत्ता लगाउने कार्य भइरहेको र छिटै समाधान गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः   १ आश्विन २०७९, शनिबार ०५:०४