हरियाली मासिँदा नगरवासी चिन्तित

दीर्घकालीन योजनाको अभावमा विकाससँगै विनाश

सुर्खेत: वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक स्तरोन्नतिका क्रममा सडकको दुवैतिर हुर्किदै गरेका बिरुवाहरू हटाइएको छ । नगरपालिकाले सडक विस्तार क्षेत्रमा पर्ने बिरुवा हटाएपछि उक्त कदमको अहिले पक्ष र विपक्षमा बहस भइरहेका छन् । केहीले सडक विस्तारका लागि बिरुवाहरू हटाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले बिरुवा जोगाएरै पनि सडक स्तरोन्नतिको काम हुनसक्थ्यो भन्ने खालका तर्क गरिरहेका छन् । वर्षाैंंदेखि संरक्षण गरेर हुर्काएका अशोक जातका बिरुवा काटिदा बजारको सौन्दर्य, शितलता एवम् पर्यावरणमा असर देखिने भन्दै स्थानीय सरकारको आलोचनासमेत भएको छ । कतिपय नगरवासीले भने सडक क्षेत्रको अवरोध हटाएर एक वर्षदेखि अलपत्र रहेको सडक निर्माण योजना अघि बढाइएकोमा नगरपालिकाको प्रशंसा गरेका छन् ।

वीरेन्द्रनगरको मंगलगढीचोकदेखि गणेशचोकसम्मको सडक स्तरोन्नति गरिँदै छ । हाल आठ मिटर मात्रै चौडा यो सडकलाई १५ मिटरको बनाउन लागिएको छ । अहिले नगरपालिकाले उक्त क्षेत्रमा पर्ने रूखबिरुवासहित सबै भौतिक संरचनाहरू हटाएर काम अघि बढाउन लागेको छ । वीरेन्द्रनगरको इतिहासका जानकारहरूका अनुसार यहाँ विकासको दीर्घकालीन सोच र योजनाको अभावले बर्सेनि हरियाली नासिँदै गएको छ । केही वर्ष पहिलेसम्म नगरका अधिकांश सडक किनारमा रूखहरू थिए । सडक विस्तारका क्रममा सबैजसो क्षेत्रमा रूखहरू काटिसकिएको छ । विकास गर्ने नाममा वातावरण र सहरी सुन्दरताको ख्याल नगरिएको भन्दै टिकाटिप्पणी हुने गरेका छन् । राजीतिकर्मी मुकुन्दश्याम गिरी दीर्घकालीन योजनाको अभावमा वीरेन्द्रनगरको पहिचान मेटिदै गएको बताउँछन् । ‘विकास निर्माण गर्दा दीगोपनाको ख्याल गरिएको पाइँदैन,’ उनले भने, ‘अहिले बजारको सडक विस्तार जति जरुरी थियो, सडक किनारका रूखबिरुवा जोगाउनु पनि उत्तिकै आवश्यक हो ।’ विनाश नगरेरै पनि विकास अघि बढाउन सकिनेतर्फ नगरको ध्यान नपुगेको उनी बताउँछन् ।

नगरपालिकाले एउटा रूख हुर्काउन दशकौँ लाग्ने अवस्थालाई मध्यनजर गरेर रूखहरू सडकको पेटीमा पर्नेगरी जोगाउन सकेको भए राम्रो हुने तर्क गर्नेहरू पनि छन् । उनीहरूले रूखलाई जरैदेखि स्थानान्तरण गर्ने आधुनिक मेसिनसमेत पाइने समयमा नगरपालिकाले त्यसमा ध्यान दिन नसकेको जनाएका छन् । बाटो पनि विस्तार हुने र बिरुवा पनि नमासिने गरी काम अघि बढाउन सके राम्रो हुने मत कतिपयको छ । विकासका क्रममा सडक क्षेत्रको हरियाली मासिदैमा विनासै भइहालेको ठान्नु नहुने भन्नेहरू पनि छन् । वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले सडक विस्तार पनि गर्नुपर्ने र बिरुवा पनि जोगाउनुपर्ने भएकाले यो काम निकै चुनौतिपूर्ण रहेको बताए । उनी भन्छन्, ‘अन्य देशमा बोट बिरुवालाई अन्यत्रै सार्ने चलन छ । त्यो प्रविधि यहाँ उपलब्ध नहुँदा बिरुवा काट्नुुको विकल्प थिएन ।’ नगरपालिकाले अबका दिनमा सडक विस्तारसँगै त्यहाँ कसरी हरियाली प्रवद्र्धन गर्ने भन्नेबारे ध्यान दिनुपर्ने उनले बताए । सुवेदीले भने, ‘विकास गर्दा केही कुरा मासिन्छन् केही थपिदै जाने हो । यसलाई स्वाभाविक रूपमा नै लिनुपर्छ ।’

वीरेन्द्रनगरको वातावरण संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा कार्यरत अभियान्ताहरूले पनि नगरपालिकाले अहिले चालेको कदममा समर्थन गरेका छन् । तर, सडक विस्तारपछि विगतको भन्दा दीर्घकालीन सोच राखेर हरियाली प्रवद्र्धन गर्नुपर्ने उनीहरू बताउँछन् । वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धन अभियान्ता डा. नवराज केसीले वीरेन्द्रनगरको गुरुयोजनामा हरियाली प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए । बजार क्षेत्रमा सडक संरचना बनाइसकेपछि फेरि बिरुवा लगाउने योजना ल्याउनुपर्ने उनले जनाए । ‘सडक बनाउनै पर्ने थियो, त्यसका लागि बिरुवाहरू हटाउनै पथ्र्यो,’ उनले भने, ‘आगामी दिनमा हरियाली सहर बनाउने योजनालाई कार्यान्वयनमा लैजानु पर्ने देखिन्छ ।’

वीरेन्द्रनगर नगरपालिकाले अहिले बजार क्षेत्रका बिरुवा हटाइए पनि सडक विस्तारको काम सम्पन्न भएसँगै पुनः सडक किनारमा बिरुवाहरू लगाइने जनाएको छ । नगर प्रमुख मोहनमाया ढकालले नगरपालिका ग्रिन सिटी अवधारणा लिएर अघि बढिरहेकाले बजारमा मात्र नभइ अन्य क्षेत्रमा पनि हरियाली प्रवद्र्धनमा गम्भीर भएर लागेको बताइन् । उनी भन्छिन्, ‘विकास निर्माणका गर्दा कतिपय क्षेत्रमा रूखबिरुवा पक्कै नासिएका छन् । त्यो बाध्यात्मक अवस्था हो, हामी ती ठाउँमा पुनः बिरुवा रोप्ने छौँ ।’

वीरेन्द्रनगरमा पछिल्ला वर्षहरूमा बस्ती विकास र सडक विस्तार धमाधम हुन थालेका छन् । सडक विस्तारसँगै ती रूखहरू मासिएपछि हरियाली पनि हरायो । ती स्थानमा नयाँ बिरुवा रोप्ने काम भएपनि उचित संरक्षण भने हुन सकेको छैन । सडक किनारमा हरेक वर्ष सयौँ बिरुवा रोपिए पनि संरक्षणको दीर्घकालीन योजना नहुँदा केही वर्षमा हटाउनुपर्ने अवस्था छ । नगरले ग्रिन सिटीको अवधारणा ल्याए पनि रूखबिरुवा जोगाउने दीर्घकालीन योजना भने बनाएको छैन । वृक्षारोपण गर्दा सडक क्षेत्र र बिजुलीको लाइनको समेत ख्याल नगरिँदा बिरुवा हुर्किन नपाउँदै हटाउनुपर्ने बाध्यता छ । अनियन्त्रित सहरीकरणले पछिल्ला वर्षमा वीरेन्द्रनगर उजाड बन्दै गएको छ । भौतिक पूर्वाधारको विकासमा मात्रै जोड दिइँदा वीरेन्द्रनगरको वातावरण तथा सहरी सौन्दर्य बिग्रदै गएकोप्रति अहिले सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   ३१ भाद्र २०७९, शुक्रबार ०५:०५