नगरपालिकालाई सडक क्षेत्र खाली गर्नै हम्मे
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले यही भदौ २१ गते एउटा सार्वजनिक सूचना जारी ग¥यो । उक्त सात दिने सूचनामा भनिएको थियो, ‘मुख्य बजारमा सडक स्तरोन्नतिको काम भइरहेकाले मंगलगढीदेखि गणेशचोकसम्मको सडक क्षेत्रमा रहेका सेवा प्रदायक संस्थाका संरचना र सडक क्षेत्राधिकारभित्र पर्ने नक्सा पास नगरी बनाइएका भौतिक संरचना सात दिनभित्र हटाइसक्नु ।’ त्यस्ता संरचना हटाउन अटेरी गरे सरोकारवाला निकाय र सम्बन्धित घर जग्गाधनीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख छ । सूचना जारी भएको एक साता बितिसकेको छ । सडक क्षेत्र भने जस्ताको त्यस्तै छ । विस्तार क्षेत्र खाली भएको छैन ।
यो अवधिमा न बजार क्षेत्रमा अव्यस्थित रूपमा निर्माण गरिएका संरचना हटाइएको छ न त फुटपाथ मिचेर गरिँदै आएका व्यवसायको व्यवस्थापन नै भएको छ । नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न सूचना जारी गर्नुको मुख्य कारण थियो, एक वर्षदेखि अलपत्र मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउनु । तर, उक्त सूचनाको समेत बेवास्ता गरिएको छ । नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न यसअघि पटक–पटक सरोकारवालासँग छलफल र अनुरोध गरेपनि त्यस्ता संरचना नहटाएपछि सात दिने सूचना नै जारी गरेको हो । यति हुँदा पनि नगरपालिका ‘एक्सन’ मा भने जान सकेको छैन । जसले गर्दा लामो समयदेखि सडक स्तरोन्नति र फुटपाथ व्यवस्थापनको योजना अलपत्र परेको छ ।
नगरपालिकाले अवैध संरचना हटाउने कामको थालनी गरिसकेको नगरप्रमुख मोहनमाया ढकालको दाबी छ । उनले भनेजस्तो सडक क्षेत्रको अवरोध भने हटेको छैन । ढकाल भन्छिन्, ‘आजदेखि सीसी क्यामरा सार्ने र तारहरू हटाउने काम भइरहेको छ । केही दिनमा सडक क्षेत्रका सबै संरचना हटाइने छ । त्यसपछि भने सडक विस्तारको योजनाले गति लिन्छ ।’ तोकिएको म्यादमा त्यस्ता संरचना नहटाउनेलाई कानुनी प्रक्रियामा ल्याइने उनी बताउँछिन् । निर्माण सम्झौताअनुसार बजार क्षेत्रको सडक विस्तारको काम १८ महिनामा गरिसक्नुपर्ने भनिएको छ । सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको छैन । गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउनमै हम्मेहम्मे परेको छ । विद्युत, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा पनि सडकको काम प्रभावित बनेको हो ।
ठेकेदार कम्पनीले ‘साइड क्लियर’ नभएकै कारण निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँदै आएको छ । सो सडकसहित बजार क्षेत्रका अन्य केही भित्री सडकहरूको स्तरोन्नतिको जिम्मा पनि खड्का निर्माण सेवा बाँकेले पाएको छ । पूर्वाधार विकास निर्देशनालयले निर्माण कम्पनीसँग सडक विस्तारका लागि ठेक्का सम्झौता गरेको हो । बजार क्षेत्रको सडक फराकिलो बनाउने बजेट व्यवस्थापन र सम्झौता पूर्वाधार विकास निर्देशनालयबाट भएपनि यसको स्वामित्व स्थानीय सरकारका रूपमा वीरेन्द्रनगर नगरपालिकाले लिएको छ । नगरपालिकालाई अव्यवस्थित संरचना हटाउनै मुस्किल भएपछि निर्माणको काम झन् झन् पर धकेलिएको छ । निर्माण कम्पनीले भित्रि सडकहरूको काम भने गरिरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जनाए । सडकको विस्तारमा सरोकारवाला निकायबीच समन्वयको अभाव हुँदा पनि केही ढिलाइ हुन गएको उनले बताए । वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई स्तरोन्नति गरी १५ मिटर चौडाइको बनाइँदै छ ।
व्यापारीहरूले बजार क्षेत्रको फूटपाथ कब्जा गर्दा सडक स्तरोन्नतिसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । अव्यवस्थित रूपमा संरचना निर्माण गरेर बसेकालाई हटाउन समस्या भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताउँछन् । उनले भने, ‘सडक क्षेत्र खाली गराउन ढिलोचाँडो नगरपालिका ‘एक्सन’ मा जान्छ ।’ नगरपालिकाले सकभर समझदारीमा नै काम गर्ने योजना बनाएको उनले बताए । फुटपाथका व्यापारीभन्दा पनि संरचना खडा गरेर बसेकालाई हटाउन चुनौती रहेको उनको भनाइ छ । बजार क्षेत्रका मुख्य सडकसमेत फुटपाथको रूपमा प्रयोग हुँदै आएका छन् । एकातिर सडकमै छेकेर व्यापारीहरूले सामग्रीहरू राखिएको भेटिन्छ भने अर्कोतिर स्थानीयले निर्माण सामग्री पनि सडकमै राख्ने गरेका छन् । भौतिक संरचना निर्माणका क्रममा महिनौंसम्म गिट्टी, बालुवाजस्ता सामग्री सडकमै थुपारिदिँदा आवतजावतमा अवरोध हुने गरेको छ । नगरपालिकाले अब आवश्यकताका आधारमा नगरभित्रका विभिन्न सडक क्षेत्रमा निर्माण गरिएका अवैध संरचना र फुटपाथको व्यवस्थापन गर्दै जाने बताएको छ ।
प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:०५
साझा बिसौनी ।