सकारात्मक सुरुवात

स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको चार महिना पुग्न लाग्यो । यो लामो अवधि होइन । यद्यपि कामको सुरुवातका लागि भने अपुग समय पनि होइन । विगतमा संघीय सरकारको पहिलो एक सय दिनको कार्यसम्पादनको मूल्यांकन गर्ने गरिएकाले पनि अहिले प्रदेश र स्थानीय सरकारको पनि पहिलो सय दिनको मूल्यांकन हुने गरेको छ । यसैक्रममा कतिपय जनप्रतिनिधिले आफ्नो एक सय दिने उपलब्धीसमेत सार्वजनिक गरेका छन् । पछिल्लो एक सातायता दिनहुँजसो धमाधम एकसय दिनका उपलब्धी भन्दै आफ्नो नेतृत्वमा वडा र पालिकामा भएका कामको सूचि सार्वजनिक गर्न थालिएको हो । स्थानीय तहका जनप्रतिनिधिहरूमा अहिले उपलब्धी सार्वजनिकको होडबाजी चलेको देखिन्छ ।

छोटो अवधिमै प्रगतिको फेहरिस्त सार्वजनिक गर्नेमा पालिकाका प्रमुख तथा उपप्रमुखलाई वडा अध्यक्षहरूले उछिनेका छन् । यसरी सार्वजनिक गरिएका उपलब्धीलाई संस्थागत नभइ व्यक्तिगत रूपमा प्रचार गर्ने प्रवृतिसमेत देखिएको छ । पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूले सार्वजनिक गरेका कामको जस स्वयम् आफूले मात्रै लिने गरेको पाइएको हो । जनप्रतिनिधिहरू संस्थागतभन्दा व्यक्तिगत प्रचारबाजीमा बढी उत्रिनु राम्रो पक्ष नभएको चर्चा पनि चल्न थालेको छ ।

उपलब्धी सार्वजनिक गर्नु नागरिकप्रति उत्तरदायि हुनु हो । यो अवधिसम्म नयाँ जनप्रतिनिधिले के–कस्ता कार्यसम्पादन गरे भनेर नागरिक जान्न इन्छुक हुन्छन् । त्यसैले पनि आफूले गरेका कामका बारेमा सार्वजनिक गरेर जानकारी दिनु सकारात्मक पक्ष हो । यसले सुशासन र पारदर्शीतालाई प्रवद्र्धन गर्दछ । तर त्यसलाई व्यक्तिगतभन्दा संस्थागत बनाउनमा जोड दिइनुपर्ने देखिन्छ । एउटा संस्थाको प्रमुखले आफ्नो नेतृत्वमा भएका कामलाई संस्थाकै उपलब्धीका रूपमा हेर्नुपर्छ । संस्थाको उपलब्धि स्वतः त्यसको नेतृत्वकर्ताको उपलब्धी हुन जान्छ । त्यसैले सार्वजनिक निकायका उपलब्धीलाई व्यक्तिगत प्रचारको माध्यम बनाउनु त्यति उचित मानिदैन । संस्थागत प्रगतिका रूपमा लिन सके अरु जनप्रतिनिधि र कर्मचारीहरूलाई पनि काम गर्न प्रोत्साहन मिल्नेछ ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूमा कामको प्रगति र समीक्षा कमै हुने गरेको थियो । दोस्रो कार्यकालमा जनप्रतिनिधिहरूले विभिन्न माध्यमबाट उपलब्धी सार्वजनिक गर्ने लहर नै चलेको छ । गएको कार्यकाल स्थानीय सरकारको पहिलो अनुुभव भएकाले पनि धेरैजसो समय अलमलमै बितेको थियो । यसपटक केही पालिका र वडाहरूले छोटो अवधिमा पनि उल्लेखनीय कामसमेत गरेका छन् । नागरिकहरू सुसूचित हुन पाउनुपर्ने पक्षलाई मध्यनजर गरेर सुशासनको पाटो अन्तर्गत गतिविधि सार्वजनिक गर्नुलाई भने प्रशंसा गर्नैपर्दछ । यस्तो कार्यको निरन्तरता हुनुका साथै अन्य सार्वजनिक निकायहरूले पनि अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७९, बुधबार ०५:०३