कथा

बधाई

बिहानको एउटा मिटिङ सकेर लामो–लामो पाइला चाल्दै घरतिर फर्किरहेको थिएँ । कुनै अरु कामको आवश्यक्ताले होइन चर्पीको बाध्यताले । चर्पीको चुकुल लगाइ ट्राउजरको ईंजार खोलेर बस्नै लाग्दा केही अप्ठेरो भयो । अप्ठेरो पार्ने मोबाइल फोनलाई पाकेटबाट तानेर आनन्दले बसेँ । ओहो फोनमा त बेदान्त बरालको तीन वटा मिसकल रहेछ ।

बरालले धेरै पछाडि फोन गर्नुको कारण अवश्य त्यही होला भन्ने लख काटेँ । जो माथि केन्द्रबाट एक कल फोन आएको थियो बिहानै । ‘ल गोकुलजी तपाईंलाई बधाई छ…’ भन्यो केन्द्रीय बारुलाले । वाक्य परिपूर्ण नहुँदै बधाई शब्द मात्र मनमा यति तीव्र प्रसारण भयो कि त्यसको अनुमानित अर्थ निकाल्यो । पार्टीले तपाईंहरूमाथि गरेको कारबाही निशर्त फिर्ता लिएको छ । पार्टीमा जोडिएर एक ढिक्का भइ काम गर्नुहोला, भन्ने ढंगको ललाइ–फकाइ त होला भन्ने अड्कल थियो । ‘… तपाईंलाई बधाई छ । पार्टीले गरेको कारबाही निशर्त फुकुवा भएको छ । यसको लागि केन्द्रीय समिति कडा रूपमा पेस भयो ।’ नभन्दै त्यही रहेछ, मनको अनुमान विलकुल सही रहेछ ।

यो मिसकल पनि त्यो अनुमानभन्दा टाढा छैन । फोन गरौँ कि नगरौँ दोधारमा परेँ । नगरौँ भने बेवास्ता गरेको भनि बरालले गुनासो गर्लान्, लौपछि गरौँला भनौँ भने बिर्सने बानी छ । आ ! फुर्सदै त छ मैले लगाएँ फोन ।

‘गोकुलजी बधाई छ तपाईंलाई ।’

‘दाजु नमस्कार । केको बधाई हो र मलाई ?’ मैले नबुझे झैं गरेँ ।

‘कारबाहीमा परेका सबै साथीहरूलाई विनाशर्त फुकुवा गर्ने निर्णय गर्‍यो नि केन्द्रीय कमिटीले ।’

‘ए, हो र !’

‘ल भाइ छिट्टै भेटेर साटौला खुसी ।’

‘हुन्छ दाजु । अहिले कहाँ के गर्दै हुनुहुन्छ र ?’

‘घरै छु, खाना खाँदैछु ।’ हत्तेरीका कस्तो परिस्थितीमा फोन गरिएछ ! भान्सामा भोजन गर्न बसेको मान्छे र शौच विसर्जन गर्न चर्पीमा पसेको मान्छे भौतिक रूपमा भेटघाट हुन कहिल्यै सम्भव छैन । प्रविधीले यस्तो असम्भवलाई पनि सम्भव तुल्याउँदो रहेछ गाँठे ।

‘हुन्छ दाजु भेटौंला भेटौंला ।’

‘गोकुलजी के गर्दै हो र अहिले ?’ ओहो कस्तो अप्ठेरो प्रश्न आयो, के जवाफ दिनु !

‘अहिले म जे गरिरहेको छु त्यो भन्दा अरु के गर्नसक्छु र दाजु ? पार्टीले कारबाही गरेर थला परेको मान्छे ।’

‘गैसकेको कुरामा विल्कुल चिन्ता नलिनुहोला गोकुलजी । अब सब ठीक हुन्छ हामी छौं नि’ यो सहानुभूतिको भाव यस्तो थियो मानौ कारबाहीले मेरो जायजेथा हराएको थियो यिनीहरूका दयाले पुनः प्राप्त भइ मेरो जीवन सञ्चालनमा आउने भयो ।

‘हो दाजु तपाईंहरू हुनुहुन्छ । तपाईंजस्ताको इमान्दारीले त धानीएको छ पार्टी’ मेरो व्यङ्गयलाई उनले कति बुझे कुन्नी, केही भन्न खोज्दै थिए मैले फोन काटेँ ।

‘खोइ त नि खोइ मेरो हिजो लगाएको टोपी ?’ कोठामा लुगा फेर्दै थिएँ ।

‘त्यो ढाका टोपी त धोएको छ । आज कालो टोपी लगाउनुस् न’ जहाँनले भनिन् ।

आहा ! तिम्रो मर्जीले चलेको जीवन । ठीक छ कालै टोपी लगाउँला ।’

‘सबै मेरो मर्जीले चल्ने भए त केके पो हुन्थ्यो ।’

‘छोरा भने छोरा, छोरी भने छोरी । के हुन पुगेको छैन र अझै ?’ मेरो पाकेटमा मोबाइल फोन बज्यो ।

‘छोराछोरीका कुरा होइन फोन उठाउनुस् पहिला ।’

‘उठाउँदिन यो लखनेको फोन’ फोन झिकेर ओछ्यानमा फालेँ ।

‘कसैको जरुरी पो होला ।’

‘होइन । मलाई बधाई भन्न फोन गरेको लखनेले ।’

‘बधाई ? केको बधाई ?’

‘हामीलाई कारबाही फुकुवा गर्‍यो अरे पार्टीले ।’

‘ओहो हो हो ! अब मुखमुख चुनाव आयो नि । चुनावमा उकालो पर्ने भयो पातकीहरूलाई । फेरी जालमा पार्न प¥यो सबैलाई । के को मख्ख पर्नुभाछ र, त्यत्ति बुझ्नुहुन्न हजुरले ?’

‘किन मख्ख पर्नु ? म बुझ्छु बधाईको खेती गर्नेहरू किन यति उत्साहित छन् । चुनावमा केन्द्रले आफ्नालाई टिकट बेच्न प¥यो । पैसा लगानी गर्ने पुरानै बहादुरले पार्टीको तर्फबाट उमेदवारी दिन प¥यो । मासुभात खाने कार्यकर्तालाई पार्टीका नाममा भेंडा बनाउन पर्‍यो । भेंडा–बाख्रा तितर–बितर नहुन् भनेर घाँस हाल्न खोजिएको छ ।’

‘राजनीतिको जरो उक्काएर कारबाही गरेको हो, त्यो पार्टीले हजुरहरूलाई । आफ्नो स्वार्थसिद्ध गर्न पाइएन भनेर त्यो विघ्न गरे । पार्टीका लागि जसले पूरा जीवन अर्पण ग¥यो, उसलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही, सानो कुरा हो त्यो ?’

‘मेरो जनाधार बलियो नभएको भए यिनीहरूले मलाई गल्लीको कुकुर बराबर गन्दैनथे । बधाईभित्र के स्वार्थ लुकेको छ, त्यो बुझ्ने सामथ्र्य मसँग छैन र काली ?’

‘पार्टी भन्दै खाइ–नखाइ दश काम छोडेर हिँडेको छ । दिनरात हिउँद–बर्खा केही नभनेर बाह्रैमास खटेको छ, खटेको छ । त्यस बापतको पुरस्कार साधारण सदस्य समेत नरहने गरि बर्खास्त । किरा पर्ने बुद्धि !’

‘टिरिनिनिनि । टिरिनिनिनि…।’ मेरो मोबाइल फोन फेरी ओछ्यानबाट चिच्यायो । समाइ हेरेँ । ‘ओहो ! केन्द्रीय प्रभावकारी अरिंगालको फोन ।’

‘यो रङ नम्बर पर्‍यो भनेर भन्दिनुस् न हरामीलाई । स्वाद चाखोस् ।’

‘हेलो ।’

‘हेलो । चिनिएन र गोकुलजी ?’

‘ओहो ! नमस्कार हजुर । अहिले आवाजले चिनेँ ।’

‘नमस्कार । किन ? मेरो नम्बर थिएन र ?’

‘पहिला त थियो पछि मेटियो । मन मरेपछि बिलाउँदो रहेछ सबै ।’

‘मान्छे धेरै निराशावादी बनेको पनि ठीक हुन्न । अनि साथीहरू कसैले केही खबर गरे ?’

‘नाइँ नाइँ कसैसँग केही सम्पर्क छैन मेरो’ त्यहाँ सत्य बोल्न कुनै आवश्यक ठानिनँ, फलाना फलानाले फोन गरेर बधाई दिए भन्दै उत्साह देखाउन पनि जरुरी थिएन ।

‘ल धेरै–धेरै बधाई छ । पार्टीले कारबाही फिर्ता लिएको छ । मनमा कुनै संकोच नराखि पार्टीमा जोश–जाँगरका साथ काम गर्नु ।’

‘यसमा मेरो एउटा सर्त छ हजुर । यदि म पार्टीमा जोडिएर काम गर्ने हो भने ठीक ढंगबाट मूल्याङ्कन होस् चुनावमा मेरो नाम सिफारिस गरियोस् । तब मानौंला कारबाही साँच्चै फिर्ता भएको रहेछ ।’

‘दालभात खाए जस्तो त्यो त्यति सजिलो छैन हेर्नुस् । तलदेखि माथिसम्म धेरै प्रकृया मिलाउनु पर्छ त्यो बुझ्नुस् । कारबाही फुकुवा गर्नका लागि धेरै पापड बेलिएको छ । अहिलेलाई यही नै ठूलो उपलब्धि मान्नुपर्छ । आफ्नो इमान जोगाइ राख्नु, पछि तपाईंले उचित जिम्मेवारी पाउनुहुन्छ…।’

‘के रहेछ त त्यो उचित जिम्मेवारी ?’

‘हामीले केही सोचेका हौँला नि । किन चाहियो त अहिले सवाल–जवाफ ? मैले भनेपछि खुरुक्क पार्टीमा जोडिएर काम गर्नु नि…।’

‘तपाईं कहाँको राजा हो र तपाईंले भनेको मैले मान्नुपर्ने ? तपाईं राजा नै भए पनि आफ्नो स्वास्नीको राजा होला हाम्रो राजा होइन, बुझ्नुभो ? कसले किन कारबाही गर्‍यो, के स्वार्थले फुकुवा गरिँदैछ त्यत्ति हामी बुझ्न सक्दैनौ ? आफै बोक्सी आफै धामी ! यस्ता ईमानका कंगालीले हामीलाई ईमान सिकाउने…?’

‘टूँट्’ फोन काट्यो । काटोस् न के मतलब ।

‘थुईया नकटा लाज मान्दैनस् ? भन्नुभएन ?’ श्रीमतिले त्यसो भन्दा उनका आँखामा विजयभाव थियो । फोन वार्तामा चढेको मेरो रिस श्रीमतिको मुस्कानले ओरालो झ¥यो । उनको मधुरो मुस्कान मेरो चिन्ता, दुःख र कष्टको ओखति बनेको छ जीवनमा ।

केही दिन मलाई बधाईले गाँज्यो । त्यसपछि स्वार्थगत व्यक्तिहरूको भेटघाटले तनाव दियो । ललाईफकाई र प्रलोभनले पनि दिमाग ततायो । पछिल्लो दिन ‘खराब राजनीतिको दूषित परिणाम’ नामको एउटा विचार गोष्टिमा थिएँ, पाकेटमा फोन थर्थरायो । बेदान्त बरालको थियो, दिक्क लाग्यो उठाइनँ । अन्तिम पटकको भेटमा उनीसँग पनि नोकझोक भएको थियो । उनले भनेका थिए, ‘अब त मिटिङमा आइदिने गर्नुस् न ।’

‘ढोका खोल्नुस् न त । ढोका थुन्ने मिटिङमा आइज भन्ने ?’ मैले भनेको थिएँ ।

‘तपाईंकै पार्टी हो । सधँै स्वागत छ, कसले ढोका थुन्न सक्छ ?’

‘बुझ पचाउने काम नगर्नुस् दाजु । सन्निकटको निर्वाचनमा गोकुल शर्मालाई उम्मेद्वार सिफारिस गरिन्छ भनि निर्णय गर्नुस् न तपाईंहरू तब खुल्छ ढोका । यही कुरा कति पटक दोहो¥याउनु मैले ?’

‘त्यो त पार्टीले निर्णय गर्ने कुरा हो गोकुलजी ।’

‘पार्टी भनेको त्यहाँको झ्याल–ढोका हो कि कुर्सी–टेबल हो ? मान्छेले होइन र निर्णय गर्ने ? गत चुनावमा हामीले विद्रोह गरी उमेद्वारी दिँदा नजिते पनि दोस्रो स्थान कायम ग¥यौँ । तपाईंको संस्थापन पार्टी तेस्रो स्थानमा झ¥यो । त्यो सत्य नस्वीकार्ने ? अनि हामी के खाँचोले त्यो पार्टीमा घोडा बनौला !’

‘खासमा पार्टीको अनुशासन नाघ्न त नहुने हो ।’

‘हो, हाम्रो विवेक यहीँनेर खिया लागेर जमेको छ दाजु । हामी अन्धभक्त भइ अनुशासन रुपि स्वार्थको सांलामा बाँधिएका हुँदा विरोध गर्न सक्दैनौँ । त्यसको फाइदा सधैँभरी एउटैले चुनाव जित्छ र देश लुटिरहन्छ । हामीले टुलुटुलु हेर्छौं, बोल्न सक्दैनौँ । किन कि पार्टीले नबोल्नु भनेको छ । तपाईं घेरा बाहिर आउन सक्नुहुन्न भने आइन्दा हामीलाई फकाउने दुष्प्रयास नगर्नुहोला दाजु’ यो भनाइले उनी लामो मौनतामा डुबे । त्यसपछि उनीसँग भेटघाट र फोन वार्ता पनि बन्द भयो ।

पाकटमा फेरी फोन थर्थरायो । वाक्क लागे पनि शीतलो स्वभावले भनेँ, ‘दाजु म एउटा मिटिङमा छु पछि फोन गर्छु ।’

‘गोकुलजी सुन्नुस न । बालकृष्ण जोशीजी अकस्मात बिरामी परेर अस्पतालमा भर्ना गरिएको छ । निरन्तर तपाईंको नाम लिनुभएको छ । पछि के–कसो हो भेट्नुहोला ।

ओहो ! म असमञ्जस्यतामा परेँ । बाँचुञ्जेल त हो नि तेरो र मेरो, वास्तवमा जीवनको केही भरोसा छैन । मनमा करुणा भरिँदै आयो, सवाल–जवाफका क्रममा नमिठो नबोलेको भए पनि हुन्थ्यो नि भन्ने लाग्यो । केन्द्रीय समितिले हामीलाई फकाएर तान्न नसकेपछि सायद अन्तिम प्रयासका लागी बालकृष्ण जोशी पनि आएका थिए । जिते पनि हारे पनि पार्टीका सदावार उम्मेद्वार उनै हुन् ।

‘पार्टीले तपाईंको योगदानको अनिवार्य कदर गर्छ गोकुलजी । हामीले निरन्तर दबाब दिन्छौँ ।’

‘के गर्नुहुन्छ, चौबाटामा मेरो सालिक बनाउनुहुन्छ ?’

‘हामी जे गर्छौं राम्रो गर्छौं । दुनियाँले सधैँ सम्झने बनाउँछौं ।’

‘त्यत्रो कष्ट नगर्नुस् । तपाईं बस्नुस यो चोटी हामीलाई उम्मेदवार बनाउनुस् । अरु कुरा मिल्दै जान्छ ।’

‘होइन मित्र पूरा नगरी नहुने मेरा तमाम अधुँरा काम बाँकी छन् । यो अन्तिम चोटी तपाईंले सहगोग गर्नुस्, अर्को चोटीको उम्मेदवार तपार्इं नै हो म लेखेर दिन्छु ।’

‘भो पुग्यो धेरै तेल नघस्नुस्, गुलियो पनि नचटाउनुस् । तपाईंले मसँग लगातार सात दिन कुरा गरे पनि मेरो कुरा एउटै हो, कि हामीलाई उमेदवार बनाउनुस् नभए बाटो तताउनुस् ।’ तर्कले लडन नसकेपछि उनी थाकेर गएका थिए ।

अस्पताल पुग्दा प्राङ्गणमा कार्यकर्ताको भिडभाड थियो । सरासर क्याविनमा गएँ, उत्तानो सुतेका जोशीलाई स्लाइन चढाइको थियो । रेखदेखमा उनकी श्रीमति मात्र थिइन् ।

‘भाउजु नमस्कार । खासमा के भएको रहेछ जोशीजीलाई ?’

‘डिप्रेसन भने डाक्टरले । एक्कासी बेहोस भएपछि अस्पतालमा भर्ना गर्नुप¥यो । होस आएपछि गोकुलजीसँग भेट्ने ईच्छा छ भनिरहनुभयो । अनि हजुरलाई दुःख दिएको । आफ्नै मान्छे हुनुहुन्छ क्यारे मन माझेर कुरा गर्नुहोला, चित्त बुझाइ दिनुहोला’ त्यसो भन्दै उनी बाहिर गइन् । म आश्चर्य चकित भएँ ।

पुलुक्क हेरेर मेरो हात समाउँदै बिरामी जोशीले भने, ‘गोकुलजी मलाई पार्टीको चिन्ता लागेको छ ।’ स्वार्थका लागि मान्छे यति गिर्दो रहेछ र यस्तोसम्म नाटक गर्दो रहेछ भनि सपनामा पनि सोचेको थिएन । त्यो अनुहारसँग घृणाले मचमचाएर मुखमा थुक भरियो ।

‘मलाई त देशको चिन्ता लागेको छ जोशीजी किनकी तपाईंहरू जिउँदै हुनुहुन्छ ।’

‘कठै ! त्यसो नभन्नुस कृपा गर्नुस मित्र । मधुमेह र उच्चरक्तचापले आक्रान्त छु । अझै मलाई जिल्लाले खोजिरहेको छ । तपाईं कै हातमा छ मेरो प्राण, बचाउनुस् ।’

‘मैले मेरा हजारौँ शुभचिन्तकको विश्वासलाई तपाईंको प्राण रक्षामा बलि चढाउन सक्दैन । त्यो प्राकृतिक न्याय पनि होइन ।’

‘मेरा थुप्रै काम अधुँरा छन् गोकुलजी ।’

‘ति कपटी काम अधुँरै रहन्छन् ।’

‘दया राख्नुस गोकुलजी म धेरै बाँच्दैनहोला ।’

‘अग्रिम बधाई छ’ भन्दै म हिँडे ।

‘गोकुलजी ! गोकुलजी !’

प्रकाशित मितिः   २५ भाद्र २०७९, शनिबार ०५:०४