समानुपातिकमा पहुँचवालाकै रजगज

सुर्खेत: आउँदो मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गरेर पार्टी केन्द्रमा पठाएका छन् । दलहरूले प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणालीका लागि पनि उम्मेदवार सिफारिस गरिसकेका छन् । समानुपातिकतर्फको सिफारिस सूचिमा भने पटक–पटक अवसर पाएकाहरू नै दोहोरिएका छन् । प्रमुख राजनीतिक दलको समानुपातिक सिफारिस विवरण हेर्दा पहुँचवाला नेता, केन्द्रीय नेतृत्वका निकटस्थ तथा बारम्बार सांसद र मन्त्री भइसकेका अनुहार नै बढी छन् ।

नेपाली कांग्रेसका नेता शिवराज जोशी सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस भएका छन् । २०४८ सालदेखि पटक–पटक चुनाव लड्दै आएका जोशी पूर्वमन्त्रीसमेत हुन् । कांग्रेसले उनैलाई अहिले फेरि प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । कांग्रेसले कर्णाली प्रदेश सरकारका बहालवाला मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई पनि यसपालि प्रतिनिधिसभामा पठाउन चाहेको छ । उनलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको छ । बुढाक्षेत्री २०७४ को निर्वाचनमा समानुपातिकबाटै प्रदेशसभा सदस्य भएका थिए । उनी अहिले कर्णालीका सामाजिक विकासमन्त्री छन् । यसअघि समानुपातिक अवसरबाटै मन्त्री बनेका बुढाक्षेत्री पुनः सोही बाटोबाट संघीय सरकारसम्मको यात्रा गर्ने दाउमा छन् । कांग्रेसकै अर्का नेता खड्कबहादुर बस्याल प्रदेशसभातर्फ समानुपातिकमा सिफारिस भएका छन् । बस्याल संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत हुन् । उनी संविधानसभा सदस्यमा समानुपातिकबाटै गएका थिए । यसपालि भने उनले प्रदेशसभामा जान नाम सिफारिस गराएका हुन् ।

एमालेबाट संघीय सांसद समेत रहेका नवराज रावत प्रदेशसभातर्फको उम्मेदवारमा समानुपातिक सीटमा सिफारिस भएका छन् । २०७४ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेका उनी आसन्न निर्वाचनमा प्रतिस्पर्धा सहज नदेखिएपछि समानुपातिकतर्फ लागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्ती (विष्ट) लाई अब प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । उनी २०७४ को निर्वाचनमा समानुपातिकमा प्रदेशसभा सदस्य बनेकी थिइन् । माओवादी केन्द्रले समानुपातिकमा फेरि पनि उनैलाई अवसर दिन लागेको हो । उनको नाम संघीय सांसदका लागि समानुपातिकतर्फ जिल्लाबाट सिफारिस भइसकेको छ ।

समानुपातिक कोटाका लागि उम्मेदवार सिफारिस भएका यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दलहरूले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका अधिकांश उम्मेदवार पुरानै छन् । प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा पहँुचवालाहरूको रजाइँ धेरै देखिएको छ । त्यसरी नाम सिफारिस भएका आफू अनुकूल व्यक्तिलाई नै दलहरूले समानुपातिक सांसद बनाउने पक्का छ । पार्टीका महŒवपूर्ण जिम्मेवारीमा रहेका, दशकौंदेखि चुनाव जितेर सांसद तथा मन्त्री भइसकेका व्यक्तिहरू नै धमाधम समानुपातिकतर्फ सिफारिस भइरहेका हुन् । यसले समानुपातिक निर्वाचन प्रणालीकै धज्जी उडेको जानकारहरू बताउँछन् । प्रत्यक्ष चुनाव लड्न नसक्ने सीमान्तकृत वर्ग र समुदायलाई मूलधारमा ल्याउनु समानुपातिक सिद्धान्तको मर्म भए पनि यसकै नाममा पहुँचवालाकै रजगज बढी देखिएको हो ।

केन्द्रीय नेतृत्वसँग नजिक रहेका टाठाबाँठाहरूले नै कहिले प्रदेश र कहिले प्रतिनिधिसभामा समानुपातिकका नाममा लाभ लिँदै आएका छन् । यसबारे पछिल्लो समय नागरिकस्तरमा समेत दल र नेताहरूको आलोचना हुने गरेको छ । राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकाल दलहरू समानुपातिक सिद्धान्तको मर्म विपरित हिँडेको बताउँछन् । ‘कतिपयले चुनाव हार्ने डरले प्रत्यक्षभन्दा पनि समानुपातिकमा आउन खोजेको देखिन्छ,’ उनले भने, ‘नेताको निकट भएकै कारण उनीहरूले नै बारम्बार अवसर पाइरहेका छन् ।’ जसले गर्दा पिछडिएको क्षेत्र र समुदायलाई अझै पनि राज्यको मूलधारमा आउन मुस्किल रहेको उनले बताए ।

राजनीतिक दलहरू समानुपातिक सीटको मर्म र उद्देश्यभन्दा बाहिर गएर कार्यकर्ता व्यवस्थापनमा बढी केन्द्रित भएको देखिने गरेको छ । राजनीतिक पृष्ठभूमि र समाजलाई दिएको योगदान नहेरेरै निकट व्यक्तिलाई सहजै सांसदको उम्मेदवार बनाउने गरिएकोे छ । मुख्य राजनीतिक दलहरूले आउँदो संसदीय निर्वाचनका लागि सुर्खेतबाट समानुपातिकमा सिफारिस गरेकाहरू व्यवसायीदेखि कलाकारसम्म छन् । यसले गर्दा सीमान्तकृत समुदायले समानुपातिक प्रणालीबाट अपेक्षित लाभ लिन निकै चुनौती देखिएको छ । पूर्व सांसददेखि मन्त्रीसम्मका व्यक्तिहरूलाई समानुपातिकतर्फ धमाधम सिफारिस गरिरहँदा लामो समय राजनीतिमा लागेर अवसर नपाएकाहरू पीडित बनेका छन् । पार्टीहरूले चन्दा दिने आफ्ना अनुकूलका कार्यकर्तालाई समानुपातिक सांसदको उपहार दिन थालेपछि दलहरूभित्र नेतृत्वको आलोचनासमेत भइरहेको छ ।

कतिपय नेताले खर्चिलो चुनाव छोडेर सुरक्षित ठाउँ खोज्नका लागि समानुपातिक सीट रोज्ने गरेको राजनीतिज्ञहरू बताउँछन् । एमाले नेता धर्मराज रेग्मीले समानुपातिकमा लक्षित वर्गभन्दा पहुँचवाला हाबी हुँदा राजनीति विकृत बनेको बताए । ‘यस पटकदेखि एमालेले यसलाई सुधार गर्ने प्रयास गरेको छ,’ उनले भने, ‘यस्तो विकृति नहोस् भन्नकै लागि पार्टीले लगातार समानुपातिकबाट अवसर पाएकालाई फेरि नदिने निर्णय गरेको छ ।’ आसन्न संसदीय निर्वाचनका लागि समानुपातिकतर्फ धेरैको मोह बढेको देखिन्छ । स्थापित नेताहरू नै प्रत्यक्षभन्दा समानुपातिकमा बढी आकर्षित भएका छन् । एमालेले सुर्खेतबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको छ भने प्रदेशमा ३० जनाको नाम सिफारिसमा परेको छ । यस्तै, कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा गरी जिल्लाबाट ७० जनाभन्दा बढीको नाम समानुपातिकमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र सुर्खेतका संयोजक जितबहादुर राना भने आफ्नो पार्टीले यसअघि अवसर पाइसकेका र दोहोरिएर सिफारिसमा परेकालाई जिल्ला कमिटीले हटाउन सक्ने बताउँछन् । दलहरूले कतिपय नेतालाई प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा समानुपातिकतर्फको उम्मेदवारका लागि पनि सिफारिस गरेका छन् । सीमान्तकृत वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलाई समेट्न अपनाइएको समानुपातिक प्रणालीलाई दलहरूले आफू अनुकूलका व्यक्तिलाई सांसद बनाएर दुरूपयोग गर्दै आएका छन् । समानुपातिकमा पनि पहुँचवालाकै ढलीमली हुनुले लक्षित समुदायको प्रतिनिधित्वमा ठूलो असर पर्ने देखिएको छ ।

प्रकाशित मितिः   २५ भाद्र २०७९, शनिबार ०५:०५