सुर्खेतमा डेंगुका बिरामी बढ्दै

सुर्खेत: सुर्खेतका एक सय पाँच जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । झन्डै दुई महिनायता उक्त संख्यामा डेंगु संक्रमण देखिएको हो । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगर डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण वीरेन्द्रनगरका ७५ जनामा फेला परेको छ । साउन र भदौको यो अवधिमा दिन प्रतिदिन संक्रमण पुष्टि भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । उनका अनुसार जिल्लामा पुष्टि भएका संक्रमितमध्ये ७२ प्रतिशत वीरेन्द्रनगरका हुन् । गत वर्ष वीरेन्द्रनगरमा ९४ जनामा डेंगुको संक्रमण देखिएको थियो । अघिल्लो वर्षको तथ्यांक हेर्दा अझै संक्रमितको सख्या बढ्ने स्वास्थ्यकर्मीहरूको आकलन छ ।

वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगुको जोखिम धेरै छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. १३, १४, १५ र १६ मा हाल डेंगुका बिरामी देखिएका छैनन् । ‘संक्रमित बिरामीको संख्या हेर्दा नगरपालिकाको वडा नं. २, ३ र ४ मा धेरै देखिएको छ,’ स्वास्थ्य शाखा प्रमुख गिरीले भने । डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजक हुनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार डेंगु संक्रमण भए एक्कासी उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, हाडजोर्नी, मांसपेसी र ढाड दुख्ने तथा शरीरमा बिमिरा आउने, वाकवाकी लाग्नुका साथै बान्ता हुनेलगायतका लक्षणहरू देखिन्छन् । संक्रमितले समयमै उपचार नगरे गम्भीर स्वास्थ्य समस्या समेत देखिने बताइएको छ । डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् ।

वीरेन्द्रनगरमा डेंगु संक्रमणको जोखिम बढेसँगै यसको रोकथाम र नियन्त्रणका प्रयास थालिएको छ । नगरपालिकाले संक्रमण नियन्त्रण गर्न सरोकारवालहरूसँग छलफल गरेको छ । शुक्रवार वीरेन्द्रनगर नगरपालिकाले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा छलफल गरेको हो । डेंगु संक्रमणको जोखिम बढेकाले सबैको सहकार्यमा रोकथाम र नियन्त्रणका लागि साझा अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । सरसफाइ तथा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने र परीक्षणलाई सहज गराउनुपर्ने उनीहरूको सुझाव छ । नगर प्रमुख मोहनमाया ढकालले रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरूलाई टोलटोलमा सचेतनाका कार्यक्रम लिएर जान अनुरोध गरिन् । यसका लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने उनको भनाइ थियो । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले तत्कालका लागि सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताए । परीक्षणको दायरा बढाउन पालिकाहरूसँग आवश्यक समन्वय भइरहेको उनले जनाए ।

प्रकाशित मितिः   २५ भाद्र २०७९, शनिबार ०५:०२