संसद्‍मा महिलाको प्रतिनिधित्व बढाउन जोड

सुर्खेत: संसद्मा महिलाहरूको प्रतिनिधित्व बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यसका लागि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलाहरूलाई प्रत्यक्षतर्फ पनि उल्लेखनीय रूपमा टिकट दिइनुपर्ने बताइएको छ । संसद्् सहयोग परियोजना र नेपाल एफएम नेटवर्कको सहकार्यमा शुक्रवार वीरेन्द्रनगरमा आयोजित संवाद कार्यक्रममा यस्तो बताइएको हो । दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारमा महिलाहरूको संख्या न्यून सिफारिस गरेको भन्दै यसलाई सुधार गर्नुपर्ने माग गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) कि नेतृ एवम् राष्ट्रिसभा सदस्य उर्मिला अर्यालले अब महिलाहरूले प्रत्यक्ष उम्मेदवारका लागि दाबी गर्नुपर्ने बेला आएको बताइन् । उनले दलहरूले महिलालाई समानुपातिकतर्फ मात्रै सीमित गरेकाले प्रत्यक्ष निर्वाचनका लागि पनि पार्टीभित्र आवाज उठाउनुपर्ने आवश्यकता रहेको औल्याइन । प्रत्यक्षतर्फ महिलालाई एक तिहाइ सिट दिनुपर्छ भनेर संसद्मा संकल्प प्रस्ताव लिनुपर्ने उनी बताउँछिन् । ‘अहिलेसम्म समानुपातिकतर्फ मात्रै महिलालाई सीमित गर्न खोजियो, पुरुषहरू महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार नै बनाउन चाहदैनन्,’ उनले भनिन्, ‘अब हाम्रो सशक्त दाबी रहनुपर्छ ।’

छलफलमा सहभागिहरूले संसद्मा प्रत्यक्षतर्फ एक तिहाइ महिलाहरू आउने गरी आ–आफ्नो दलमा पहल थाल्नुपर्ने बताएका छन् । एमाले नेतृ एवम् प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले नेतृत्वमा अझै पनि महिलालाई प्रत्यक्षभन्दा पनि समानुपातिकमै समावेश गर्नुपर्छ भन्ने सोच रहेको जनाइन् । यसविरुद्ध सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

कांग्रेस नेतृ चित्रलेखा यादवले दलहरूले लैगिक विभेद र असमानता हुनेगरी गरेका निर्णयविरुद्ध महिलाहरूले बोल्नुपर्ने बताइन् । महिलाहरूलाई नेतृत्व तहमा आउन दलभित्रै आन्तरिक संघर्ष गर्नु परेको बताउँदै उनले निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि महिलाहरूले आँट गर्नुपर्ने जनाइन् । कार्यक्रममा सहभागी राजनीतिक दलहरूका नेतृहरूले प्रत्यक्षतर्फ चुनाव लड्न आँट भए पनि पार्टीले विश्वास नगर्ने गरेको गुनासो गरेका थिए । कांग्रेस नेतृ शान्ति सिंहले प्रत्यक्ष निर्वाचन लड्ने आकांक्षा भएपनि समानुपातिकतर्फ सिफारिस हुनुपरेको बताइन् । यस्तै, कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी एमाले नेतृ पद्मा खड्काले महिलाहरूलाई अझै पनि प्रत्यक्ष निर्वाचनको टिकट पाउनै मुस्किल हुने गरेको बताइन् ।

प्रकाशित मितिः   २५ भाद्र २०७९, शनिबार ०५:०१