बुलबुलेका लागि तीन करोडको योजना प्रस्ताव

सुर्खेतको बुलबुलेलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन तीन करोडको योजना प्रस्ताव गरिएको छ । बुलबुले ताल र उद्यानको संरक्षणका लागि यस्तो योजना बनाइएको हो ।

बुलबुले संरक्षणको जिम्मा पाएको सुर्खेत उपत्यका नगरविकास समितिले बुलबुलेको संरक्षण, सम्वद्र्धन र विकासका लागि भन्दै तीन करोड २९ लाख रूपैयाँ खर्च लाग्ने गरी योजना बनाएको हो । यो वर्ष बुलबुलेका लागि ५० लाख रूपैयाँ विनियोजन भइसकेको छ । तर उक्त बजेटले योजना अनुसार काम गर्न नपुग्ने भएपछि सरोकारवालाहरूसँग छलफल गरी समितिले नयाँ प्रस्ताव मन्त्रालयमा पठाएको हो ।

समितिले पर्खाल निर्माणदेखि नियमित डुङ्गा सञ्चालनसम्मका कामका लागि योजना निर्माण गरेको हो । बजेट स्वीकृतिका लागि मन्त्रालयमा समेत सिफारिस गरिसकिएको समितिका अध्यक्ष ध्रुवकुमार चपाईंले जानकारी दिए । बुलबुलेको संरक्षण र सुरक्षाका लागि वरिपरि पर्खाल निर्माण गर्ने योजना बनाइएको छ । दुई हजार तीन सय मिटर लम्बाईको पर्खाल निर्माण गरिने चपाईंले जनाए । ‘यसको संरक्षणका साथ–साथै सुरक्षाका लागि पनि पर्खाल अत्यावश्यक छ’ चपाईंले भने ।

त्यसैगरी पर्खाल मात्र नभएर उद्यानमा अन्य संरचनाहरू पनि निर्माण गर्ने योजना समितिको छ । बालबालिकाहरूको मनोरञ्जनका लागि बालउद्यान बनाउने, पानीको फोहोरा निर्माण गर्ने, बगैंचालाई सुन्दर र व्यवस्थित बनाउने, तालमा नियमित डुङ्गा सञ्चालन गर्ने लगायतका योजना रहेको चपाईंले जनाए । ‘पर्खालका साथै उद्यानमा अन्य संरचनाहरू निर्माण गर्नका लागि तीन करोड २९ लाख रूपैयाँ लाग्ने स्टिमेट गरिएको छ । त्यसको स्वीकृतीको लागि हामीले मन्त्रालयमा पठाइसकेका छौं’ चपाईंले भने, ‘क्रमागत योजना अन्तर्गत बजेट विनियोजन हुनेछ र हामी त्यही अनुसार संरचना निर्माण गरी बुलबुलेलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने छौं ।’ चपाईंले बुलबुलेलाई काठमाडौंको टुँडिखेललाई घेरिए जस्तै पर्खाल लगाइने जनाए ।

नयाँ योजना कार्यान्वयन भएमा उद्यानमा फूलहरूको रोपण गरिनेछ । ताल विस्तार गर्नेदेखि नियमित डुङ्गा सञ्चालन गर्नेसम्मका योजना यसभित्र छन् । काठका डुङ्गा पुराना भएकाले अब प्लाष्टिकका नयाँ डुङ्गा ल्याएर सञ्चालन गर्ने योजना समितिले बनाएको छ । आगामी माघको पहिलो हप्ताबाट हामीले डुङ्गा सञ्चालनमा ल्याउने गरी तयारी गरिसकिएको अध्यक्ष चपाईंले जानकारी दिए ।

सुर्खेतको प्रमुख पर्यटकीयस्थलहरू मध्येको एक हो, बुलबुले ताल । तर अव्यवस्थित ताल, कुरूप बन्दै गएको बगैंचा र तालमा डुङ्गा समेत सञ्चालन नहुँदा पछिल्लो समय आलोचित हुँदै आएको थियो । नगर विकास समितिले केही महिनाअघि डुङ्गा सञ्चालनमा ल्याएपछि पुनः बन्द गरेको थियो । पछिल्लो समय बुलबुले उद्यान पिकनिक स्पटको रूपमा विकास भइरहेको छ । यहाँ आएर पिकनिक खानेहरूको संख्या बढ्दै गएको छ ।

बुलबुले हेर्नका लागि सुर्खेतभित्रका मात्र नभएर अन्य जिल्लाबाट समेत पर्यटकहरू आउने गरेका छन् । विद्यालय, क्याम्पस, सहकारी तथा विभिन्न क्लब र समूहहरू गाडी नै रिजर्व गरेर बुलबुले घुम्न र पिकनिक खान आउने गरेका छन् । हिजोआज बुलबुले उद्यान पिकनिक खानेहरूको भीडले भरिएको हुन्छ । बुलबुले हेर्न आउनेहरूको संख्या वृद्धि भइरहे पनि यहाँको व्यवस्थापन भने कमजोर भएको गुनासो यहाँ आउनेहरूको छ । वीरेन्द्रनगर–१६, सुर्खेतका दिलबहादुर थापा पर्यटहरूका लागि आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको बुलबुले ताल र उद्यानको संरक्षण र विकासमा सम्बन्धित निकायले खासै ध्यान नदिएको बताउँछन् । उनले बुलबुलेको संरक्षणको जिम्मा निजी क्षेत्रलाई दिएर पनि यसको विकास गर्नुपर्ने बताए । बुलबुले उद्यानलाई व्यवस्थित गर्न सके आम्दानीको स्रोत बढ्नुका साथै जिल्लाको पहिचान स्थापित समेत हुने थापाले बताए । उनले राष्ट्रिय योजनामा पारेर बुलबुलेको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने धारणा राखे ।