पूर्वी मधेसको ‘मिनी–कर्णाली’
सामाजिक, आर्थिक, राजनैतिक शैक्षिक तथा सामान्य जीवनयापनको क्रममा चाहिने कुनै पनि उपलब्धिमा सम्भवत देशको सबैभन्दा पछाडि परेको समुदाय हो, मुसहर समुदाय । नेपालको पूर्वी तराईका विभिन्न जिल्लामा बसोबास रहेका मुसहर समुदाय नेपालकै सबैभन्दा पछाडि परेको समुदाय हो । विभिन्न समयमा अभाव र दुःखका समाचारहरू पत्रिकामा लेखिँदा हुन् वा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई महिनामा एकरात दुखी गरीबको घरमा बिताउँदै हिँड्दा मुसहर बस्तीमा बास बसेको घटना होस, मुसहर बस्ती कुनै न कुनै रूपमा चर्चामा छन् । भर्खरै सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितको लागि नमुना आवास बनाएका चर्चित हाँस्यकलाकार तथा समाजसेवी धुर्मस सुन्तलीले महोत्तरीको वर्दिवासस्थित मुसहर बस्तीमा नमुना आवास बनाउन अभियान सुरु गरेपछि पुनः एकपटक मुसहर समुदाय चर्चामा आएका छन् । त्यहाँ रहेका पुराना घरहरू धमाधम भत्काउने काम सुरु भइसकेको पनि छ । जुन स्थानमा धुर्मुस सुन्तलीले नमुना आवास बनाउन सुरु गरेका छन्, त्यस समुदायबाट एसएलसी पास हुन सफल एक सन्जय सदासँग पाँच दिनसम्म मैले मुसहर समुदायको बारेमा जान्ने मौका पाएँ । उनी नयाँ आवास बनाउने अभियानका अभियान्ता पनि हुन जसले धुर्मुस सुन्तली र मुसहर समुदायबीच समन्वय गरिरहेका छन् । उनी वर्दिवासस्थित मुसहर समुदायमा एसएलसी पास हुने एकमात्र व्यक्ति हुन् ।
शून्यप्रायः शिक्षा
सन्जयका अनुसार शैक्षिक अवस्था अत्यन्त कमजोर भएका मुसहर समुदायमा एसएसलसी पास हुने औंलामा गन्न सकिने व्यक्तिहरूमा उनी पर्छन् । अहिले कक्षा १२ मा व्यवस्थापन विषय पढिरहेका उनी आफ्नो समुदाय सम्पूर्णरूपमा पछाडि पर्नुको मुख्य कारण नै शिक्षाको अवस्था रहेका बताउँछन् ।
‘छोराहरूलाई त चार–पाँच क्लाससम्म पढ्न पठाउँछन्, छोरीहरूलाई त पढाउनुपर्छ भन्ने कुनै चेतना नै छैन । पढेर के हुन्छ ? भन्ने भावना हाम्रो समुदायमा छ ।’
‘तिमी चाहिँ कसरी कक्षा १२ सम्म पुग्यौ त ?’ मैले सोधें ।
‘म त पूर्णरूपममा मेरै आफ्नो जिद्धिले यतिसम्म पढ्न सकेको हुँ । मैले बुबामालाई कन्भिन्स गर्नसकें । म आफूमात्र होइन, बहिनीलाई पनि पढाउन पहल गरेको छु । दाइले त बिहे गरिसक्यो तर बहिनी र म पढ्दैछौं ।’
‘पढ्न नपठाउनुमा मुख्य कारण चाहिँ के रै’छ सन्जय ?’ मैले उनलाई फेरि सोध्छु ।
‘आर्थिक अवस्था कमजोर हुन्छ । दाउरा बेचेर, अरुकोमा लेवर काम गरेर परिवार धानीरहेका हुन्छन् । अलि–अलि कमाएको पैसा पनि जाँड रक्सी खाएरै सकिन्छ । अनि पढेर केही हुँदैन, जति गरे पनि काम गर्नैपर्छ भन्ने भावना बढी छ । पढाइमा कुनै पनि लगानी गर्न चाहँदैनन् । मलाई पनि धुर्मुस सुन्तलीले सहयोग गरेको हुनाले अलि–अलि भए पनि पढाइ गरिरहेको छु । उहाँहरूले कापी–कलम उपलब्ध गराइदिनुभयो ।’
न्यून सरसफाइ
शिक्षाको स्थितिमात्र होइन मुसहर समुदायमा स्वास्थ्य तथा सरसफाइको स्थिति पनि त्योभन्दा भयावह रै’छ । सन्जयले सुनाउँदै गए, ‘पढाइ त ठूलै कुरो भयो दाई, मुसहर वस्तीमा शौचालय भएका घर पनि सीमित छन् । मान्छेहरूलाई सरसफाइप्रति कुनै चेतना नै छैन ।’
यति भन्दै गर्दा उनले केही समय अगाडिको एउटा रमाइलो कुरा पनि सुनाए । केही समय अगाडि मुसहर समुदायमा स्वास्थ्य तथा सरसफाइमा सक्रिय एक संस्थाले साबुन बाँडेको रै’छ । त्यसको प्रभाव के परेछ भने त्यो साबुन बाँडेदेखि यता त्यहाँ मानिसहरूले आफैंले साबुन खरिद गर्नै छाडेछन् । ‘संस्था आउँछ र दिन्छ आफूले किन किन्नु
प¥यो ?’ त्यहाँका मानिसहरू यस्तै भन्दा रहेछन् । उनको यो उदाहरणबाट नेपालमा एनजीओ तथा आईएनजीओले कसरी काम गरिरहेका छन् र उनीहरूको कामको परिणाम के छ भन्ने पनि दृष्टान्त हुन जान्छ ।
‘मान्छे जाँड रक्सी खाएरै दिन बिताउँछन् । आफू बसेको क्षेत्र सफा सुग्घर राख्नुपर्छ, यसले स्वास्थ्यमा अत्यन्त नकारात्मक असर गर्छ भन्ने कुराको पनि ज्ञान छैन । शौचालय बनाउने तर्फ कसैको ध्यान गएको छैन । खानेपानीको अवस्था त्यस्तै छ । बिरामी भएर अस्पताल जानुपर्छ भन्ने सामान्य चेतना समेत त्यहाँका मान्छेहरूले राख्न सकेका छैनन् ।’ सन्जयले थपे ।
बालविवाह
सन्जयले अरु कुरा राख्दै थिए, मैले उनलाई बीचैमा रोकें र सोधें,
‘विवाहको स्थिति कस्तो छ तिम्रो मुसहर वस्तीमा ?’
सन्जयले निराश मुद्रामा भने,
‘विवाहको त कुरै छाड्दिनुस् दाइ, १३–१४ वर्ष पुग्ने बित्तिकै विवाह हुन्छ । केटाहरू १६–१७ र केटीहरू १३–१४ वर्ष पुग्नासाथ उमेर पुगेको झैं गरेर उनीहरूको बिहे गर्दिन्छन् । उनीहरूले बिहेमा नाइनास्ती गर्न पनि पाँउदैनन् । सानै उमेर हुन्छ, विवाहको सकारात्मक र नकारात्मक पक्षको बारेमा पनि राम्ररी ज्ञान हुँदैन । उनीहरूले कसरी बिहे गर्दिन भनु त । कलिलो उमेरमा बिहे गर्छन्, अनि बच्चा जन्मिछ । उनीहरूको आर्थिक अवस्था पनि राम्रो हुँदैन, बच्चालाई पोषण राम्ररी पुग्दैन अनि उही अभाव, उही अशिक्षा, उही बेरोजगारी ।’
मैलै उनलाई ठट्टा गर्ने शैलीमा सोधें, ‘तिम्ले बिहे ग¥यौ त ?’
‘अहँ । कहाँ गर्नु ? म आफैं पढेलेखेको मान्छेले अहिल्यै बिहे गरें भनेर के होला ? मेरो दाइले त बिहे ग¥यो तर मैले मेरो बहिनीको पनि बिहे हुन दिएको छैन । आफू पढेर राम्रो ठाउँमा इस्टाब्लिस नभएसम्म त बिहे गर्दिन म ।’
‘अनि तिम्रो परिवारले मान्छ त ?’
‘किन नमान्नु ? म कन्भिन्स गर्छु । आफ्नो समुदायबाट यति पढेपछि सुधारको लागि पनि त मैले भूमिका खेल्नुपर्छ । म त समुदायको राम्रोको लागि नै लाग्ने हो दाइ ।’
अन्त्यमा,
सन्जयले मुसहर समुदायको धेरै कुरा सुनाए । उनका अनुसार देशभरी करिब चार लाखको संख्यामा मुसहर समुदाय रै’छन । तीमध्ये अधिंकाश गरिवीको रेखामुनी रै’छन । त्यति धेरै संख्यामा मुसहर समुदाय रहेको भए पनि धेरैजसोको नागरिकता रहेनछ । नागरिकता वनाउने निकाय उनीहरूको पहुँचसम्म नपुग्नु र नागरिकता बनाउनुपर्ने सामान्य चेतना पनि नभएको उनको जिकिर छ । नागरिकताको लागि अभियान चलाइन्छ तर मुसहर समुदायका अधिकांशसँग न नागरिकता छ न नागरिकताको महŒवबारे ज्ञान । मुसहर समुदायमा अरु समस्याहरू पनि त्यस्तै छन् । बहुविवाह, अन्धविश्वास लगायतका सामाजिक समस्याहरूले जरा गाडेर बसेका छन् । त्यतिमात्र होइन, मानिसहरू प्रविधिको पहुँचबाट पनि निकै टाढा छन् । सन्जयको कुरा सुनिसकेपछि र मुसहर वस्तीको बारेमा थप केही कुराहरू पढिसकेपछि मलाई पनि के लाग्यो भने देशको दोस्रो कर्णाली पूर्वको मधेसमा छ । कर्णालीमा आम जनताले जे जति समस्याहरूको सामना गर्नुपरेको छ, जुन पीडाबाट पिल्सिनुपरेको छ, त्यही स्थिति पूर्वमधेसमा बस्ने मधेसी दलित समुदाय मुसहरहरूको छ । राज्यको ध्यान त्यस्ता क्षेत्रमा र वर्गमा जानै सकेको छैन । राज्यले उपलब्ध गराएको आरक्षण उनीहरूको पहुँचसम्म पुग्न सकेको छैन । मधेसको अधिकारको नाममा संसदमा हालिमुहाली गरिरहेका व्यक्ति तथा पार्टीहरूले पनि मुसहर समुदायको उत्थानको निमित्त सिन्को समेत भाँच्न सकेका छैनन् । बरु धुर्मुस सुन्तली जो समाज कल्याणको महान् अभियानमा होमिएका छन्, उनीहरूको प्रयास प्रशंसनीय छ । र ती सन्जयजस्ता युवाहरू जो परिवर्तनको एजेण्डा बोकेर शैक्षिक युद्धमा होमिएका छन्, उनीहरू महान् छन् ।
साझा बिसौनी ।