नगर क्षेत्र व्यवस्थित गरिन्छ, साथ दिनुहोस्ः ढकाल

सुर्खेत: उपत्यका नगर विकासको जग्गा भाडामा लिएर दुरूपयोग गरिएको पाइएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले त्यस्ता स्थान खाली गरिने जनाएको छ । सम्झौतामा उल्लेख गरिएका प्रयोजन र मापदण्ड विपरीत बनेका संरचना हटाइने समेत बताइएको छ । यसका लागि नागरिक र व्यवसायिहरूको साथ भने आवश्यक रहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । सुर्खेत उद्योग वाणिज्य संघले सोमवार आयोजना गरेको फोहरमैला विर्सजन, सडक, ट्राफिक तथा पार्किङ व्यवस्थापनसम्बन्धी कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘उपत्यका नगर विकासका जग्गाको अवस्था कहाली लाग्दो भएको छ,’ उनले भनिन्, ‘अब यसलाई व्यवस्थित गर्न यहाँहरू सबैले साथ दिनुपर्नेछ ।’ उनका अनुसार सरकारी जग्गा सस्तो भाडामा लिएर पसल व्यवसायका लागि फेरि तेस्रो पक्षलाई चर्को भाडामा दिइएको बारेमा अहिले नगरपालिकाले अध्ययन अघि बढाएको छ ।

अव्यवस्थित रूपमा बनाइएका संरचनाहरू हटाउन नगरपालिका तयार रहेको भन्दै उनले यसमा नगरबासी र व्यवसायिहरूको साथ आवश्यक रहेको औंल्याइन् । बजार क्षेत्रमा बनेका अस्तव्यस्त भौतिक संरचनाका कारण ट्राफिक तथा पार्किङ व्यवस्थापनमा समस्या भइरहेको प्रमुख ढकालले बताइन् । बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न नगरपालिका एक्लैले मात्र नसक्ने भन्दै यसका लागि सबैलाई जिम्मेवार बन्न उनको आग्रह थियो । ढकालले भनिन्, ‘साझा प्रयासबाट मात्रै फोहोरमैला व्यवस्थापन सम्भव छ ।’ फोहोर व्यवस्थापनका लागि नगरले सबै वडाहरूमार्फत शत प्रतिशत प्रयास गरेको जिकिर गर्दै उनले फोहोरमैला व्यवस्थापन नगरपालिकाको जिम्मेवारी भएपनि नागरिकहरू पनि आफ्नो दायित्वबाट पन्छिन नहुने बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले फोहोर व्यवस्थापन नागरिकको नैतिक जिम्मेवारी र सभ्यताको सवाल पनि भएको बताए । उनले बल प्रयोग गरेर भन्दा पनि नागरिक आफै जागरूप भएर फोहोरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सरसफाइ अभियन्ता एवम् बालरोग विशेषज्ञ डा. नवराज केसीले फाहोरमैला व्यवस्थापनमा इच्छा शक्ति भए ठूला साधन र उपकरण विना पनि आफ्नो ठाउँ सफासुग्घर राख्न सकिने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले सरसफाइ नीति एवम् कार्यविधि, एसएनभीका पार्वती दंगालले फोहोरमैला तथा सरसफाइ व्यवस्थापन, अन्तरनिर्भर समाजका विवेक शाहीले व्यवस्थित ढल, नाला तथा हरित सडक र ट्राफिक, पार्किंङ तथा सडक व्यवस्थापनबारे ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्ययोजना प्रस्तुत गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय वीरेन्द्रनगर नगरपालिकाले गरेको थियो । नगरको ६ नं. वडा कार्यालयको सहआयोजना, एसएनभी नेपाल र अन्तरनिर्भर समाजको सहयोग तथा सुन्दर नेपाल र मित्र समाजको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   २१ भाद्र २०७९, मंगलवार ०५:०२