आयोगद्वारा २२ परीक्षार्थीको परीक्षा रद्द

सुर्खेत: कर्णाली प्रदेश लोक सेवा आयोगले २२ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने गरेर आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । आयोगले एक जनालाई दुई वर्षका लागि र २१ जनालाई एक वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने गरेर कारबाही गरेको छ ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार इन्जिनियरिङ सेवा सिभिल समूह, एकीकृत उपसमूह, सहायकस्तर पाँचौं समूह सव–इन्जिनियर पदको जेठ २१ गते सञ्चालिन लिखित परीक्षामा परीक्षकलाई प्रभाव पार्ने गरेर उत्तरपुस्तिकाको भित्रि पृष्ठमा आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेखेका थिए । उनीहरूलाई प्रदेश लोक सेवा ऐन २०७५ को दफा ६४ (१) (ख) बमोजिम कारबाही गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मितिः   २० भाद्र २०७९, सोमबार ०५:०२