द्वन्द्वपीडितका कथा तस्बिरमा
सुर्खेत: दश वर्षे सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका सर्वसाधारणहरूका तस्बिरमार्फत कथाहरू प्रदर्शन गरिएको छ । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा तत्कालीन युद्धका कारण पीडा भोग्न बाध्य सर्वसाधारणको तस्बिर प्रदर्शनीमा राखिएको हो । आइतवार वीरेन्द्रनगरको घण्टाघर चोक नजिकै पीडितहरूको कथा र तस्बिर प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीमा तस्बिरसँगै द्वन्द्वपीडितका कथाका सारांश पनि राखिएका थिए । द्वन्द्वको समयमा घाइते भएपछि उनीहरूले अहिले भोगिरहेका समस्या, राज्यप्रति पीडितका गुनासा र घटनाको विवरण समेटेर बनाइएको कथाको सारांश तस्बिरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका छन् ।
प्रदर्शनीमा राखिएका तस्बिरमध्येको एक हो, म्याग्दीका कृष्णलाल श्रेष्ठको । तस्बिरमा उनको आधा खुट्टा छैन । हिँड्डूल गर्न अलि सहज बनाउने कृत्रिम खुट्टा अलग राखिएको छ । कृष्णलालको भनाइ फोटोका बायाँपट्टि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको छ । तस्बिर कथाको शीर्षक ‘फेरि युद्ध कहिल्यै नहोस्’ भन्ने दिइएको छ । कृष्णलालले भनेका छन्, ‘तत्कालीन विद्रोहीले गरेको बेनी आक्रमणपछि मेरो जिन्दगी नै मोडियो । चैत ७ गते मेरो रातिको ड्युटी थियो । बिहानपख मलाई शौचलय जानुपर्यो । माओवादी भन्ठानेर राज्यका सुरक्षाकर्मीले गोली बर्साए, तीन वटा गोली शरीरमा लागेपछि म कार्यालयको मूल ढोकानिर ढलेँ । ढलेको केही बेरमै छेउमा बम पड्कियो । त्यो बिष्फोटले मेरो खुट्टा क्षतविक्षत भयो ।’ तस्बिरको बायाँतिर लेखिएको छ, उनका घरपरिवार एकदमै सहयोगी छन् । अहिले पनि उनी रातिमा झस्किँदै कराउँछन्, परिवारले उनलाई सम्हाल्छन् । कृष्णलाल भन्छन्, ‘सरकारले छोरालाई रोजगारीको व्यवस्था र मलाई राहत उपलब्ध गराए मेरा लागि न्याय त्यहीँ हुनेछ । देशमा अब कहिल्यै त्यस्तो युद्ध नहोस्, युद्धका कारण म जस्तै अरुले शरीरको अंग गुमाउन नपरोस् ।
प्रदर्शनीमा थुप्रै द्वन्द्वपीडितका तस्बिर र कथा राखिएका थिए । तस्बिर अवलोकन गर्न आउनेलाई कथा अडियोमा सुन्ने व्यवस्था पनि गरिएको थियो । जसका लागि एउटा तस्बिरमा चार वटा हेडफोन जोडिएका थिए । यस्ता मर्मस्पर्शी तस्बिर र पीडितका कथा प्रदर्शनीको उद्देश्य अबको दिनमा हिंसात्मक द्वन्द्व नहोस् भन्ने रहेको आयोजकहरूले जनाएका छन् । ‘त्यस बेलामा भएको द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणहरू पीडा भोगिरहेका छौं, पछिल्लो पुस्ताले यसबारे जानोस् र भोलि यस्ता पीडादायी युद्धलाई अस्वीकार गर्ने भावना जागोस् भन्ने हो,’ अपाङ्गता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री भन्छन्, ‘यसरी पीडित भएका सर्वसाधारणको घटनाको सन्दर्भमा सरकारले सत्यतथ्य छानबिन गरेर चाँडो न्याय देओस् भन्ने हाम्रो माग हो ।’ उनका अनुसार हाल सञ्जालले त्यसबेला कुनै पक्षमा नलागे पनि द्वन्द्वबाट पीडित बनेका तीन सय सर्वसाधारणहरूका तस्बिर र कथा तयार पारेको छ ।
प्रकाशित मितिः २० भाद्र २०७९, सोमबार ०५:०३
साझा बिसौनी ।