सुत्केरी व्यथाले छट्पटिएकी महिलाको हवाइ उद्धार

सुर्खेत: सुत्केरी व्यथाले छट्पटिएकी जाजरकोटकी एक महिलाको आइतवार हवाई उद्धार गरिएको छ । चार दिनदेखि सुत्केरी बेथा लागेकी नलगाड नगरपालिका–८, लुपानाकी २७ वर्षीया लक्ष्मी वलीको हवाई उद्धार गरिएको हो । उनलाई नलगाड नगरपालिका दल्लीबाट हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । हवाई उद्धारका लागि वडाध्यक्ष बद्री पन्त र पत्रकार प्रकाश पन्तले पहल गरेका थिए । सुत्केरी व्यथाले च्यापेपछि सुरुमा लक्ष्मीलाई स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । त्यहाँ प्रसूति हुन नसकेपछि उनलाई प्रदेश अस्पतालमा रिफर गरी ल्याइएको हो । त्यहाँ उपचार नहुने र सुविधायुक्त अस्पतालमा लैजानुपर्ने स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका थिए । स्थल मार्गबाट एम्बुलेन्स सञ्चालन हुने सडकबाटो अवरुद्ध भएका कारण तत्काल हवाई उद्धार गरिएको जनाइएको छ । हवाइ उद्धारका लागि नगर स्वास्थ्य शाखाको सिफारिस लेखेर जिल्ला प्रशासन कार्यालय जाजरकोट र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरिएको थियो ।

प्रकाशित मितिः   २० भाद्र २०७९, सोमबार ०५:०१