ग्रामीण विद्युतीकरणमा लापरबाही

करोडौं बजेट सकियो, बस्तीमा बलेन बत्ति

सुर्खेत: ग्रामीण बस्तीहरू विद्युतीकरणमा लापरबाही गरिएको छ । ग्रामीण सामुदायिक विद्युतीकरण र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएका विद्युत लाइन विस्तारका योजना प्रभावकारी हुन नसकेको पाइएको हो । दैलेखको गुराँस गाउँपालिकामा विद्युतीकरणको योजना अलपत्र परेको छ । त्यहाँ ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रम र गाउँपालिकाको साझेदारीमा सञ्चालित योजना सम्पन्न भइसक्दा पनि लक्षित समुदायले बत्ति बाल्न पाएका छैनन् ।

विद्युतीकरणमार्फत पालिकाका तीन हजार ६ सय ३४ घरपरिवारमा विद्युत सेवा पु¥याउने लक्ष्य थियो । तर, योजना सम्पन्न भइसक्दा पनि एक हजार दुई सय घरधुरीमा मात्र बत्ति बलेको छ । अझै दुई हजार चार सय घरधुरीमा विद्युतको लाइन विस्तार हुन सकेको छैन । ग्रामीण विद्युतीकरणले गुराँस गाउँपालिकाका आठ वटै वडामा लाइन विस्तार गर्नेगरी कार्यक्षेत्र बनाएर काम थालेको थियो । सबै वडामा लाइन विस्तार भएको दाबी गरिएपनि गाउँ भने अन्धकार छन् । २०७८ पुस १५ गतेसम्म उक्त पालिकाका वडाहरूमा विद्युतीकरणका लागि २३ करोड ४२ लाख ६९ हजार सात सय बजेट खर्च भइसकेको छ ।

अहिले पनि विद्युतीकरणका थुप्रै काम अलपत्र परेका छन् । पालिकाका विभिन्न ठाउँमा तार र पोलहरू छताछुुल्ल अवस्थामा भेटिने गरेका छन् । गाउँपालिकाका सबै वडा र टोलटोलमा विद्युतीकरण गर्ने लक्ष्य लिइए पनि योजना कार्यान्वयनमा हेलचक्य्राइँ भएको स्थानीयले बताएका छन् । गाउँपालिकाको वडा नं. ७ को मर्खे टोलमा अझै पोल गाडिएको छैन । प्राविधिकहरूका अनुसार त्यहाँ ४० वटा पोल हाल्नुपर्ने छ । गाडिएका पोल पनि व्यवस्थित छैनन् । विद्युुतीकरण जस्तो संवेदनशील विषयमा पनि लापरबाही हुँदा करेन्ट लागेर दुर्घटना हुने जोखिम बढेको सोही वडाका सदस्य लक्षुुमण थापा बताउँछन् । ‘पोल र तार व्यवस्थित छैनन्,’ उनले भने, ‘विद्युतका तार बेवारिसे छोड्दा जोखिम समेत छ ।’ वडा नं. ६ का कतिपय स्थानमा पनि पोल गाडिएका छैनन् । पोल पुुगेको ठाउँमा पनि लाइन विस्तार भएको छैन । ‘योजना सम्पन्न भइसक्यो भन्छन्, खै जता हेर्दा पनि अलपत्र अवस्था नै देखिन्छ,’ मर्खे टोलका एक स्थानीय भन्छन्, ‘हामीले बत्ति बाल्न पाएका छैनौँ ।’

ठूूलो रकम खर्च भइसक्दा पनि सबै नागरिकको घरमा बत्ति नपुगेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् । वडा नं. ६ का वडा अध्यक्ष चन्द्रबहादुुर रानाले केही बस्तीमा पोल गाड्न बाँकी रहेको बताए । उनले विद्युतीकरणको कार्यक्रम सकिएकाले कतिपय बस्तीमा बत्ति नपुगेको जनाए । ती ठाउँमा पनि विद्युतीकरणका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ । गुराँसको वडा नं. ६ मा ६ सय घरधुरी रहेकोमा दुई सय घरमा मात्र विद्युतीकरण भएको छ । अन्य वडामा पनि छिटफुट रूपमा मात्र बत्ति बलेको बताइएको छ । अघिल्लो स्थानीय सरकारले विद्युतीकरणलाई प्रमुख प्राथमिकतामा राखेको बताएका गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज वली ९० प्रतिशत क्षेत्रमा लाइन विस्तारको काम सम्पन्न भएको दाबी गर्छन् । उनले आफ्नो कार्यकालमा झन्डै एक हजार दुई सय घरधुरीमा बिजुली बालिएको बताए । ‘बाँकी सबै घरधुरीमा पनि छिटै बिजुलीको लाइन पुर्‍याउने योजना थियो, हाम्रो कार्यकाल सकियो,’ उनले भने ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले एक वर्षसम्म लाइनमा खराबी आए मर्मतको काम गर्नुपर्ने भएपनि त्यसअनुरूप काम भएको छैन । बत्ति जोडिएका कतिपय ठाउँमा खराबी आउँदा स्थानीय अध्यारोमा बस्न बाध्य छन् । प्राविधिक मापदण्ड विपरीत पोल गाडिँदा पनि समस्या आएको जनाइएको छ । कतै पोल ढल्केका छन् भने कही बारिमै लथालिङ्ग अवस्थामा छन् । अझै पनि पालिकाका दुई सय घरधुरीमा विद्युतीकरणका लागि पोल नै गाड्न बाँकी छ ।

दैलेखकै भैरवी गाउँपालिकामा पनि विद्युुत विस्तारको काम व्यवस्थित रूपमा हुन सकेको छैन । त्यहाँ पनि सामुुदायिक ग्रामीण विद्युुतीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । विद्युुतीकरण कार्यक्रम अन्तर्गत पालिकाका पाँच वटा वडामा लाइन विस्तार गरिएको छ । केही स्थानबाहेक अधिकांशमा बत्ति बाल्ने काम भने नभएको गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले बताइन् । ‘सामुदाायिक विद्युतीकरणले काम सम्पन्न ग¥यौँ भन्यो तर कुनै बस्तीमा बत्ति बलेन,’ उनले भनिन्, ‘अहिले पनि पालिकाको पहलमा पोल गाड्ने र तार तान्ने कामहरू भइरहेका छन् ।’

गाउँपालिकाले ‘भैरवी उज्यालो’ कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आठ सय घरधुुरीमा मात्र बत्ति बलेको छ । मंसिरसम्म सबै घरधुुरीमा बत्ती बाल्ने पालिकाको योजना रहेको उनी बताउँछिन् । भैरवीमा विद्युतीकरणका लागि अहिलेसम्म पालिकाले एक करोड तीन लाख र सामुुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमले झन्डै नौ करोड लगानी गरिसकेका छन् । नेपाल विद्युत प्राधिकरणका दैलेख वितरण केन्द्र प्रमुख गौरव पाण्डेले सामुदायिक ग्रामीण विद्युतीकरणका कार्यक्रम सञ्चालन भएका ठाउँमा बत्ती बाल्ने तयारीका साथ कामहरू भइरहेको बताए ।

प्रकाशित मितिः   १९ भाद्र २०७९, आईतवार ०५:०९