आधुनिक शिक्षा, भ्रम र सत्य

विद्यालय विद्यार्थीहरूलाई शिक्षा आर्जन गराउने उद्देश्यले स्थापना गरिएको शैक्षिक संस्था हो । स्थापनाकालको अध्ययन गर्ने हो भने मान्छेलाई जान्ने बनाउन शिक्षाको थालनी भएको देखिन्छ । जसले पढेको छ, उहीँ नै असल मान्छे हो भन्ने मान्यता पनि रहँदै आएको छ । अहिले भने त्यो एक परम्परावादी अभिव्यक्ति जस्तो बन्न जान्छ ।

समय यस्तो छ । जति अशिक्षित भनिएको मान्छे पनि निमेषभरमै विश्वभरका घटनाक्रमबारे भट्याइदिन सक्छ । जति नजान्ने मान्छे पनि एउटा मोबाइल फोन र इन्टरनेटको पहुँचमा भयो भने जे पनि जान्ने बन्न सक्छ । थाहा पाउन सक्छ । अब पाठ्यक्रमका पुस्तकको प्रतीक्षा गरेर बस्नुको कुनै तुक छैन । विद्यालयको पठनपाठनलाई निरन्तरता दिन भने पुस्तक अनिवार्य चाहिन्छ ।

केही जरुरी छ भने इच्छा शक्तिको जरुरी छ । केही नयाँ सिक्न चाहाने उत्सुकताको अर्थ छ । केही आवश्यक परिरहेको छ भने हिजोभन्दा आज म आफूलाई उत्कृष्ट बनाउछु भन्ने मानसिकताको आवश्यकता छ । यदि यसो हुन सक्यो भने हामी जान्ने बन्न सक्छौं । मजाले गफ दिन सक्छौ । त्यसपछि को भन्दा को कम ? को जान्ने, को नजान्ने ? को सहि, को गलत ? यहाँबाट खोक्रो बौद्धिकताको लफडा सुरु हुन्छ । जुन भइरहेको छ ।

गुरु को हुन्थ्यो ?

इतिहासको अध्ययनविना वर्तमानका विचारहरू अधुरा हुन सक्छन् । इतिहासतर्फ हेरौं । जतिबेला ऋषीमुनीहरूले शिक्षा दिन्थे । त्यो समयमा विद्यालयहरूको निर्माण भएको थिएन । कुनै रुखको छहारीमा बसेर शिष्यहरूलाई शिक्षा दिइन्थ्यो । त्यही शिक्षा लिएर कयौं महापूरुष बन्थेँ । कतिपय ज्ञानी बन्थेँ । विस्तारै समयको मागलाई मध्यनजर गरेर कुटी तथा आश्रमहरू निर्माण गर्न सुरु गरियो । त्यसपछि गुरु–शिष्य परम्पराको रूपमा विकास हुँदै आधुनिक संसारसम्म आइपुग्यो ।

त्यतिबेलाका गुरुहरू कुनै न कुनै ब्रह्म ज्ञानमा पारङ्गत हुन्थेँ । जसकारण शिष्यहरू उक्त ज्ञान प्राप्तिका लागि गुरूप्रति भक्तिभावका साथ नतमस्तक हुन्थे । उदाहरणका लागि गौतम बुद्धलाई लिन सकिन्छ । उनको ज्ञानको बारेमा थाहा पाएर नै हजारौं भिक्षुहरू उनका पछाडी लागे । अन्ततः तिनीहरूमध्ये कतिपयले बुद्धत्व प्राप्त गरे ।

ज्ञानको भोक भएको व्यक्ति शिष्य हो । सिकाउने भोक भएको व्यक्ति गुरु हो । सहि गुरुको उपस्थितीमा बुद्धत्व हासिल गर्न सकिँदोरहेछ भन्ने यो उदाहरण हो । शिष्यलाई जुन विधामा पारङ्गत बनाउन इच्छा छ । उक्त विधाको पारङ्गत पहिले गुरु हुनुपर्दछ । अनि मात्र शिष्य निपूर्ण हुनसक्छ ।

आधुनिक शिक्षा

विस्तारै आधुनिक संसारमा विद्यालयहरू निर्माण हुन सुरु भए । र, आधुनिक संसारसँगै सबै बदलियो । आश्रम विद्यालय बन्यो । गुरु शिक्षक बने । शिष्य विद्यार्थी बने । ज्ञानलाई नम्बरसँग दाज्न सुरु गरियो । परीक्षा लिन थालियो । परीक्षाको माध्यम कस्तो बन्यो भने पहिले घोक्नुपर्ने अनि विद्यालयमा गएर ओकल्नुपर्ने । यदि ओकल्न सकिएन भने फेल । जीवन बर्बाद । अनि ट्याग अशिक्षित ।

समय यति तीव्र गतिले अगाडी बढ्यो कि मान्छेलाई नम्बरसँग दाज्न अर्थात् तुलना गर्न छोडियो । र, यो कुन ग्रेडको मान्छे हो भनेर पहिचान गर्न ग्रेडिङ सिष्टम राखियो । ग्रेड ए, बि, सि, डि, ई अन्तर्गत तपाईं कुन ग्रेडको मान्छे हो ? हो, मैले यसरी सोध्नुपर्ने भएको छ । तपाईं शिक्षित हो कि अशिक्षित भन्नुभन्दा पनि तपार्इं कुन ग्रेडको मान्छे हो भनेर सोध्नुपर्ने दिन आए । हामीले यो कस्तो शिक्षा प्रणालीको विकास र विस्तार गर्याैं ?

उतिबेला शिक्षा लिनको लागि भोक हुन्थ्यो । अहिले जबरजस्ती शिक्षित बनाउनुपर्छ । उतिबेला गुरुको उपस्थिती नै गुरुको योग्यता हुन्थ्यो । अहिले शिक्षकले सर्टिफिकेट देखाएपनि विश्वास लाग्दैन । त्यतिबेला गुरुको अर्थ अध्यारोबाट उज्यालोतर्फ रमण गराउने व्यक्ति भन्ने हुन्थ्यो । अहिले शिक्षकको अर्थ उज्यालोबाट अध्यारोतर्फ लिने व्यक्ति जस्तो लाग्छ । के आधुनिकता भनेको यही हो ? के हामी अब आधुनिक भयौं ? कि यो सबै बकवास भइरहेको छ ?

भ्रम र सत्य ?

परिवर्तन स्वीकार्नुपर्छ । यो प्राकृतिक हो । रूपान्तरण अवलम्बन गर्नुपर्छ । यो साधना हो । तर, परिवर्तन र रूपान्तरणमा बाच्न नजान्नु भने मुर्खता हो । जुन समयमा हामी छौं । परिवर्तन र रूपान्तरणलाई सन्तुलन गर्न सकेनौं भने मानव विकासक्रमको जुन गतिमा सिर्जना, बौद्धिता र रचना अगाडी बढ्नुपर्ने हो, त्यसमा ढक्कन लाग्छ । हामी अटोपाइलट मोडमा अगाडी बढ्छौं । यो परिवर्तनले जे बनायो त्यहीँ बन्छौं । हामी जे बन्ने चाह्यो त्यो बन्दैनौं । जुन मानव विकासक्रमको दुःखदायी पक्ष हुनेछ ।
मान्छे र जनावरमा खासै फरक छैन । स्वभावगत एउटै जस्तो लाग्छ । हर्कत पनि लगभग लगभग मिल्छन् । मान्छे र जनावरमा फरक भनेकै मान्छेले सोच्न सक्छ । के सहि के गलत छुट्याउन सक्छ । आफ्नो बुद्धि, विवेक प्रयोग गरेर सहि निर्णय लिन सक्छ । ऊ यो दुनियाँमा राज गर्न सक्छ । आफूले चाहेजस्तो जीवन बाँच्न सक्छ । हो, मान्छेले चाह्यो भने ऊ जे पनि गर्न सक्छ ।

शिक्षाले व्यक्तिलाई क्षमतावान, सिर्जनशिल र सपना देख्न सक्ने व्यक्ति बनाउनुपर्ने हो । आधुनिक शिक्षा र सिकाईले मान्छेलाई झन् कमजोर र निरश बनाउँदै लग्यो । नाम मात्र आधुनिकता भएको होइन । हामी साच्चिकै आधुनिक समय र संसारमा छौं । कुनैपनि कुराको दुईवटा विकल्प हुन्छन् । प्रयोग र दुरूपयोग । सायद हामीले आधुनिकताको प्रयोग भन्दा बढी दुरूपयोग पो गर्यौ कि ? हामी एक पटक रोकिएर सोच्नुपर्ने विन्दु छौं । किनभने हाम्रो मात्र एउटा यस्तो जेनेरेशन होला जो सबैभन्दा बढी दुःखी र निराश छ । यो त सोच्नै पर्ने अवस्था हो ।

अन्त्यमा, कुनै विद्धानले भनेका छन् । हामी हाम्रो भविष्य बनाउन सक्दैनौं । तर हामी हाम्रा सहि बानी बनाउन सक्छौं । तिनै बानीले हाम्रो भविष्य बनाउँछन् । त्यसैले शिक्षाको अर्थ विद्यालयको पोशाकमा विद्यालयमा उपस्थित भएर पाठ्यपुस्तकका अक्षर, परिभाषा र सिद्धान्त रट्नु मात्र होइन । असल बानीको विकास गर्नु पनि हो । रुसोको शिक्षाका सम्बन्धमा एउटा भनाइ छ – ‘शिक्षा अरु केही होइन बानीहरूको विकास हो ।’

प्रकाशित मितिः   १९ भाद्र २०७९, आईतवार ०५:०६