राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

प्रतियोगितामा ३६ इभेन्टका खेलमा प्रतिस्पर्धा हुने भएपनि कर्णालीले २९ वटा खेलमा सहभागिता जनाउने भएको छ ।

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीव्र पारेको छ । गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन कर्णालीले प्रशिक्षणलगायतका व्यवस्थापनका काम अघि बढाएको हो । परिषद्का अनुसार अहिले प्रदेशका १० वटै जिल्लाहरूमा खेलाडी छनोटका काम भइरहेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ इभेन्टका खेलमा प्रतिस्पर्धा हुने भएपनि कर्णालीले २९ वटा खेलमा सहभागिता जनाउने भएको छ ।

प्रत्येक जिल्लामा खेलाडी छनोटका लागि ६÷६ लाख बजेट पठाइएको परिषद्ले जनाएको छ । सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला खेलकुद विकास समितिलाई ६ लाखका दरले बजेट पठाइएको हो । भदौ १८ गतेसम्म जिल्लाबाट खेलाडी छनोट गरिसक्न भनिएकोमा केही बाहेक अधिकांश खेलाडि छनोट भइसकेका छन् । पालिका–पालिकामा खेलकुुद प्रतियोगितामार्फत खेलाडी छनोट गरिने र त्यसरी आएका खेलाडि जिल्ला हुँदै अन्तिममा प्रदेशले छनोट गर्नेछ । छनोट भएका खेलाडीका लागि भदौ २५ गतेदेखि बन्द प्रशिक्षण सुरु हुने परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

खेलाडीको खेलडेस लगायतको व्यवस्थापन गर्न कर्णाली प्रदेश खेलकुद परिषद्ले ४९ लाख बजेट छुट्याएको छ । उक्त बजेट राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश परिषदलाई पठाएको हो । यो पटक केन्द्रबाट बजेट भने घटाएर पठाइएको परिषद्मा उपाध्यक्ष हमालले बताए । उनका अनुसार आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ करोड बजेट आएकोमा अहिले ८० प्रतिशत बजेट कटौती भएको छ । प्रदेश सरकारले खेलकुदको अपनत्व लियोस् भनेर बजेट घटाइएको हुनसक्ने उनको भनाइ छ । परिषद्ले उपलब्ध रकम भने अपुग रहेको जनाएको छ । परिषद्ले सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकार समक्ष एक करोड २१ लाख बजेट माग गरेको छ । ‘हामीसँग भएको बजेट प्रतियोगिताको तयारी गर्न अपुग छ,’ परिषद्का एक सदस्यले भने, ‘प्रदेश सरकारसँग माग गरेका छौँ ।’

यस्तै, प्रतियोगिताको तयारीका लागि प्रदेशका विभिन्न जिल्लाहरूमा खेल अभ्यासहरू हुनेछन् । महिला भलिबल र पुरुष भलिबलका खेल कालीकोट जिल्ला खेलकुद विकास समितिमा हुनेछ । त्यसका लागि १० वटै जिल्लाका खेलाडी कालीकोट जानेछन् । खेल तयारीका लागि परिषद्ले खेलाडीको खाना तथा आवास सुविधा व्यहोर्ने छ भने अन्य व्यवस्थापन खर्च सम्बन्धित जिल्लाका स्थानीय तहहरूले जुटाउने छन् । अधिकांश खेलका अभ्यासहरू भने सुुर्खेतमै हुने परिषद्ले जनाएको छ । पदक जित्न सक्ने खालका खेलाडिलाई मात्रै बन्द प्रशिक्षण राख्नेगरी तयारी गरिएको बताइएको छ । यसपछिको दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदैछ । राष्ट्रिय खेलकुदको झण्डा पोखराबाट सिधै कर्णाली ल्याइनेछ । सोही प्रतियोगिालाई लक्षित गरी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रियस्तरको रगंशालाको निर्माणसमेत भइरहेको छ । एक अर्ब ५९ करोड लगानीमा अन्तराष्ट्रिय मापदण्डको रगंशाला बनिरहेको हो । निर्माण कम्पनीसँगको समझौताअनुसार २०८१ जेठ ११ सम्म रगंशाला निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नु पर्नेछ ।

प्रकाशित मितिः   १९ भाद्र २०७९, आईतवार ०५:०२