केरुङ नाका बन्द गरेर हुम्लाबाट पर्यटक भित्र्याउँदै चीन

सुर्खेत: चीनले विगत तीन सातादेखि नेपालका दुई मुख्य व्यापारिक नाका केरुङ र तातोपानीमा पूर्ण प्रतिबन्ध लगाएको छ । तिब्बतमा कोरोना महामारी बढेको भन्दै नेपालसँगको व्यापारिक नाका ठप्प पारेको चीनले तिब्बतमै पर्ने कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकहरूलाई भने हुम्लाको सीमा नाका हुँदै भिœयाइरहेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाको बाटो हुँदै कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकहरू दैनिक गइरहेको जानकारी दिएकी छन् । उनले हुम्ला हुँदै पछिल्लो साता चार सय १० जना पर्यटकहरू मानसरोवर दर्शन गर्नका लागि गएको जानकारी दिइन् । उनले भनिन्, ‘यहाँ चिनियाँ पक्षले त्यस्तो कुनै अवरोध गरेको छैन । सामान्य स्वास्थ्य प्रोटोकल अपनाएर हुम्ला हुँदै आएका पर्यटकहरूलाई सजिलै जान दिइरहेको छ ।’

नेपालगञ्जबाट हवाई मार्ग हुँदै आउने पर्यटकहरूलाई सिमकोट विमानस्थलमा थर्मल गन प्रयोग गरेर ज्वरो परीक्षण गर्ने, मास्क अनिवार्य गर्ने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई आउन दिइएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन् । उनले थपिन्, ‘हामीले यहाँ विमानस्थलमा आउने पर्यटकका लागि कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएका छौं । यहाँबाट कैलाश मानसरोवर जाने यात्रुहरूका लागि पनि सीमा नाकामा चिनियाँ पक्षले आधारभूत हेल्थ प्रोटोकल पूरा गरेर सहजताका साथ जान दिइरहेको छ ।’ उताबाट फर्किने यात्रुहरूलाई पनि आउन दिइएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन् ।

हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरू तिब्बत प्रवेश गर्ने गरेका छन् । हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो । उक्त नाकाबाट नेपाली व्यापारीहरूका सामान भने ल्याउन नदिइएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए । उनले भने, ‘विगत दुई वर्ष कोरोना महामारी नियन्त्रण गर्ने भन्दै हिल्सा नाका लगभग ठप्पजस्तै थियो । बीचमा केही समय खुकुलो पारिएको भए पनि हुम्लाको हिल्सा नाकाबाट सामान निर्यातमा चीनले रोक लगाएको छ । तर, पर्यटकहरूको आवतजावत भने भइरहेको छ ।’

हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरू तिब्बत प्रवेश गर्ने गरेका छन् । हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो । उक्त नाकाबाट नेपाली व्यापारीहरूका सामान भने ल्याउन नदिइएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए । सन् २०२१ मा कोरोना महामारी नियन्त्रण गर्ने भन्दै हिल्सा नाका बन्द गरिए पनि पर्यटक लिमि लाप्चा हुँदै तिब्बत प्रवेश गरेका थिए । यस वर्ष पनि अधिकांश पर्यटक लिमि लाप्चा हुँदै मानसरोवर दर्शन गर्न तिब्बत प्रस्थान गरिरहेको नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताए। उनले भने, ‘सामान निर्यातमा रोक लगाएको तिब्बत प्रशासनले पर्यटकलाई भने धमाधम जान दिइरहेको छ । उनीहरूलाई त्यस्तो कुनै अवरोध छैन ।’

हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीन प्रस्थान गर्ने अधिकांश पर्यटक भारतका रहेको र त्यसपछि एसियाका अन्य मुलुक र युरोपका छन् । उनले भनिन्, ‘६४ जनाले कैलाश मानसरोवरको यात्रा गरेर फर्किसकेका छन् । ६५ जना गएकोमा एक जना बिरामी भएर आधा बाटोबाट नै फर्किएका छन् । पछिल्लो एक सातामा चार सय १० जना पर्यटक गएका छन् भने थप ६५ जना पर्यटक मानसरोवर जानका लागि सिमकोट आइपुगेका छन् ।’ यसरी चीनले नेपालमा निर्यात ठप्प पारेको भए पनि पर्यटक भने भिœयाइरहेको छ । चीनले दोहोरो मापदण्ड अपनाएको भन्दै नेपालका व्यापारीहरू आक्रोशित बनेका छन् । नेपाल हिमालय सीमापार वाणिज्य महासंघका महासचिव भरत कार्कीले चीनले तिब्बतमा कोरोना महामारी भएको भन्दै नेपाली व्यापारीका सामान सीमामा पुगेर जाँचपास भएका पनि रोकेर राखेको बताए । तर, हुम्लाबाट धमाधम सहजै विभिन्न मुलुकबाट आएका पर्यटकहरूलाई भिœयाइरहेको छ। यसबाट चीनको उद्देश्य कोरोना महामारी रोक्ने भन्दा पनि अरु नै केही हो कि भनेर आशंका गर्नुपर्ने देखियो ।’

प्रकाशित मितिः   १९ भाद्र २०७९, आईतवार ०५:०१