बिमा समितिको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत: वीरेन्द्रनगरमा बिमा समितिको प्रदेशस्तरीय कार्यालयको स्थापना गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बिहीवार बिमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका हुन् । समितिले गएको असार १ गतेदेखि नै कार्यालय सञ्चालनमा ल्याएको थियो । उक्त कार्यालयको औपचारिक शुभारम्भ भने भएको थिएन् । प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बिमा कम्पनीहरू दूरदराजसम्म विस्तार गरेर सबैको पहुँचमा पु¥याउनुपर्ने बताए । क्षति न्यूनीकरण गर्न बिमाको सुरुवात भएको भन्दै उनले सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको जनाए । प्रदेश कार्यालयलाई धेरै अधिकार दिएकोले अब कर्णाली प्रदेशमा पनि बिमा समितिले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको मन्त्री शर्माको भनाइ थियो ।

समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जसमध्ये कर्णाली प्रदेशमा औपचारिक रूपमा पहिलो उद्घाटन गरिएको हो । प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिमहरू दिनेछ । त्यस्तै, सर्भेयरको लाइसेन्स नवीकरण पनि प्रादेशिक कार्यालयबाटै हुने बताइएको छ । बिमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनीहरूको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजीकरण गर्न पाउनेछ । समितिको प्रादेशिक कार्यालयले यस क्षेत्रभित्र रहेका बिमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरूले के–के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरिवेक्षण पनि गर्नेछ । समितिको कार्यालय उद्घाटन कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   १७ भाद्र २०७९, शुक्रबार ०५:०३