जैविक मलमा अनुदान दिन माग

सुर्खेत: जैविक मल खरिदमा अनुदानको व्यवस्था गर्न माग गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा कर्णाली वायो इनर्जी एण्ड अर्गानिक फर्टीलाइजर कम्पनीले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको अर्गानिक मल तथा मूल्यश्रृंखला प्रर्वद्धनका लागि समन्वय गोष्ठीका सहभागीहरूले यस्तो माग गरेका हुन् ।

रासायनिक मल खरिदमा अनुदान व्यवस्था गरेजस्तै जैविक मल प्रयोगकर्ता किसानलाइ पनि अनुदान तथा प्रोत्साहनकोे व्यवस्था गर्नु पर्ने माग गरिएको हो । कार्यक्रममा सहभागी एग्रोभेट व्यवसायी ओमदत्त भारतीले प्रदेश सरकारले किसानलाई जैविक मल प्रयोग तथा खरिदमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । रासायनिक मल जस्तै प्राङ्गारिक मलमा समेत अनुदानको व्यवस्था गर्न उनले माग गरे । कर्णाली प्रदेशलाई आर्गनिक प्रदेश बनाउनका लागि जैविक तथा प्राङ्गारिक मल उत्पादन तथा खरिद कर्तालाई सहयोग गर्नु पर्ने र व्यावसायिक पशुपालन बढाउन प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा भारतीको जोड थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायतले रासायनिक मल भन्दा प्राङ्गारिक मल महँगो हुने भएकाले किसानलाई अनुदान दिएर भएपनि प्राङ्गारिक मल प्रयोेग बढाए मात्र प्रदेशलाई अर्गानिक बनाउन सकिने बताए । कर्णालीलाई अर्गानिक प्रदेश बनाउन रैथाने बाली प्रर्वद्धनमा सहयोग गरिने समेत उनको भनाई थियो ।

कर्णालीमा अर्गानिक मल उत्पादनका लागि हेल्भेटास नेपाल इन इलम परियोजनाले सहयोग गरिरहेको छ । इनोभेटिभ आइडिया भएका युवाहरूलाई व्यवसाय स्थापना तथा उनीहरूको व्यवसाय प्रर्वद्धनका लागी सहयोग गर्ने गरिएको परियोजनाका टेकबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मितिः   १७ भाद्र २०७९, शुक्रबार ०५:०२