निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले भाग लिने

सुर्खेत: आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन देशभर ६८ दलले निवेदन दिएका छन् । आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा सो संख्यामा दलले निवेदन दिएका हुन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा यसअघि ७६ दल दर्ता भएका थिए । तीमध्ये सात दल समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका छन् । यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई भदौ १५ मा आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी पनि गरेको छ । प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ कर्णालीमा ४९, प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन् । त्यस्तै, वागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मितिः   १४ भाद्र २०७९, मंगलवार ०५:०२