डाक्टर पढाउन छात्रवृत्ति ऐन

सुर्खेत: लेकवेशी नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष आवासीय सुविधासहितको एमबिबिएस छात्रवृत्ति उपलब्ध गराउन ऐन जारी गरेको हो । नगरपालिकाको खर्चमा चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका लागि अध्ययन छात्रवृत्ति दिने निर्णय भएको छ । सोहीअनुसार छात्रवृत्ति अध्ययनसम्बन्धी ऐन जारी गरिएको नगर प्रमुख उमेशकुमार पौडेलले बताए । नगरको ११औँ सभाले नगरपालिकाको आय–स्रोत तथा बजेटबाट हरेक वर्ष एक जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने गरी ऐन जारी गरेको हो । उक्त ऐनमा एक वर्षमा एक जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, छात्रवृित्त पाउन आवेदन दिनुपर्ने, छात्रवृत्ति पाउने विद्यार्थीले कबुलियत गर्नुपर्ने जनाइएको छ । त्यस्तै, ऐनमा छात्रवृत्ति व्यस्थापन समिति र छात्रवृत्ति कोषसम्बन्धी व्यवस्थाहरू गरिएको छ । एमबिबिएसको प्रवेश परीक्षामा उर्तीण नतिजाको एकीकृत योग्यताक्रमको सूचिमा माथिल्लो स्थानमा एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति उपलब्ध गराउने ऐनमा उल्लेख छ ।

नगर प्रमुखको संयोजकत्वमा एमबिबिएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । उक्त समितिले छात्रवृत्ति प्रक्रियालाई व्यवस्थित गराउन र आवश्यक समन्वय तथा व्यवस्थापनको काम गर्ने छ । विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन नगरपालिकामा छुट्टै एमबिबिएस अध्ययन छात्रवृत्ति कोषसमेत स्थापना गरिने भएको छ । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले डाक्टर पढिसके पछि नगरपालिका भित्र पाँच वर्षसम्म सेवा गर्नुपर्ने छ । नगरले जारी गरेको ऐनमा भनिएको छ, ‘एमबिबिएस अध्ययन छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले अध्ययन सम्पन्न भए पछि कम्तीमा पाँच वर्षसम्म नगरपालिकामै सेवा गर्ने गरी अध्ययनमा जानु अघि नगरपालिका समक्ष कबुल गर्नुपर्नेछ ।’ नगर प्रमुख पौडेलले यो वर्षको छात्रवृत्तिका लागि अबको केही दिनमै सूचना प्रकाशित हुने जनाए ।

प्रकाशित मितिः   १४ भाद्र २०७९, मंगलवार ०५:०२